होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, मंसिर ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’
समाचार

‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’

  • नागरिक रैबार
‘मैले पढ्नु छ, किनकि म छोरी हुँ’

काठमाडौँ — चर्चित भारतीय अधिकारकर्मी कमला भासिनको शनिबार निधन भएको छ । उनी ७५ वर्षकी थिइन् । भारतमा मात्रै नभएर नेपालसहित दक्षिण एसियाभर उनी महिला आन्दोलनकी प्रतीक थिइन् ।

भासिनको निधनको पुष्टि अभियन्ता कविता श्रीवास्तवले गरेकी छन् । ‘हाम्री साथी कमला भासिनको आज (शनिबार) बिहान ३ बजे निधन भएको छ,’ श्रीवास्तवले लेखेकी छन्, ‘उनको निधनले भारत र दक्षिण एसियाको महिला आन्दोलनमा धक्का पुगेको छ । कठिन परिस्थितिका बाबजुद पनि उनले जीवनलाई उत्सवमय बनाइन् ।’ राजस्थानमा जन्मिएकी भासिनलाई केही महिनाअघि मात्रै क्यान्सर भएको पत्ता लागेको थियो ।

महिलावादी आन्दोलनका लागि चर्चित नेटवर्क ‘संगत’ मार्फत उनले अभियान चलाएकी थिइन् । त्यस्तै ‘क्यों कि मैं लड्की हूँ, मुझे पढ्ना है (किनकि म छोरी हुँ, मैले पढ्नु छ)’ उनको चर्चित कविता हो । भारतको हरेकजसो आन्दोलनमा घन्किने ‘आजादी’ (स्वतन्त्रता) को नारालाई भासिनले नै चर्चित बनाएकी हुन् ।

विज्ञापन

सन् १९९१ मा कोलकातास्थित जावेदपुर विश्वविद्यालयमा भासिनसहितको महिला समूहले ड्रम बजाएर पुरुष सत्ताबाट स्वतन्त्रता माग्दै नारा लगाएका थिए । त्यसले धेरैलाई आकर्षित गरेको थियो । त्यसपछि भारतमा हुने समानताको आन्दोलनमा त्यो नारा लाग्न थाल्यो । सन् २०१७ मा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थी नेता कन्हैया कुमारले पनि त्यही नारा लगाएका थिए । भासिनले नारा, गीत र आफ्नो अकाट्य तर्कका आधारमा दक्षिण एसियामा नारीवादी आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याएकी थिइन् । उनको सरल भाषा र सहज स्वभावले आममानिसलाई आकर्षित गर्ने गरेको थियो । उनले गाउँलेदेखि सहरी महिलालाई एक सूत्रमा बाँध्दै त्यसलाई संगठित गरेकी थिइन् ।

भासिन पुरुष सत्ताको स्थानमा महिला सत्ता नभई उनले दुवै पक्षको समानताको विषयलाई उठाउने गर्थिन्, समाजमा महिला र पुरुष भनी छुट्याउने संस्कार गलत भएको बताउँथिन् ।

महिलालाई विभिन्न प्रलोभनमा पारेर दमन गरिएको उनको तर्क थियो । ‘मध्यम वर्गीय महिलालाई श्रीमान् या घरपरिवारले सम्पत्ति, पैसा, गहना दिएर चुप लगाएको छ । यदि ती परिवारमा श्रीमान्बाट महिला प्रताडित नै भएकी छन् भने पनि आवाज उठाउन हिच्किचाउँछन्,’ उनी बारम्बार भन्ने गर्थिन्, ‘उनीहरूलाई लाग्छ कि खानलाउन र यत्रो गरगहना पुर्‍याइदिएकै छन्, फेरि आफ्नै मान्छेको विरुद्ध के उजुरबाजुर र कचहरी गर्नु ।’

महिला आन्दोलनकी प्रेरणा बनेकी भासिनले आजादीको नारा महिला मुक्तिका लागि मात्रै लगाइनन् । उनले मजदुर, दलित, आदिवासीसहितका शोषित समाजमा रहेको तह र तप्काको मुक्तिका लागि नारा लगाएकी थिइन् ।

महिला स्वतन्त्र नभएसम्म पुरुष पनि स्वतन्त्र हुन नसक्ने उनको धारणा थियो ।

सामाजिक वैज्ञानिकका रूपमा उनी विकास, शिक्षा, लैंगिक समानता र आमसञ्चारका क्षेत्रमा ३५ वर्षभन्दा बढी सक्रिय थिइन् । सन् १९७२ को राजस्थानको ग्रामीण भेगबाट उनले आफ्नो अभियान चलाएकी थिइन् ।

सन् १९७६ देखि २००१ सम्म राष्ट्रसंघीय नियोग खाद्य तथा कृषि संगठन (एफएओ) मा उनले काम गरेकी थिइन् । सन् २००२ मा उनले राष्ट्रसंघको जागिर छाडेर ‘संगत’ मार्फत विभिन्न अभियान चलाएकी थिइन् । भारतमा जस्तै पाकिस्तानमा पनि भासिन उत्तिकै चर्चित थिइन् । उनी भारतको नारीवादी आन्दोलनमा करिब आधा शताब्दीदेखि सक्रिय रहेकी थिइन् ।

नेपालमा पनि अधिकारकर्मीहरूको भासिनसँग राम्रो सम्बन्ध रहेको थियो । उनीहरूले भासिनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार