केही वर्ष अघिसम्म एसईई सकिएपछि विद्यार्थीहरु उच्च मावि कहाँ र के विषय पढ्ने भन्ने हुन्थ्यो । प्लस टुलाई विद्यार्थीहरुको करियरको प्रवेश विन्दुको रुपमा मानिन्थ्यो । त्यहि अनुसार ११ कक्षा देखि नै उनीहरु संकाय अनुसार विषय लिएर पढ्थे ।
तर नेपाल सरकारले कक्षा ११ र १२ लाई पनि माध्यामिक तह बनाएपछि गत वर्षदेखि नयाँ पाठ्यक्रम लागु गरेको छ । पाठ्यक्रम अहिले अनिवार्य विषयहरुमा नेपाली, अंग्रेजी, गणित, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अरु सबै विषयहरु ऐच्छिक प्रथम, ऐच्छिक द्वितीय र ऐच्छिक तृतीय विषय छनौट गरेर पढ्न सक्ने छन् ।
अब विद्यार्थीले कसरी पढाई रोज्न सक्नेछन् भनेर शिक्षाविद् डा.विद्यानाथ कोईरालासँग नुनुता राईले कुराकानी गरेकी छिन् ।विद्यार्थीले संकाय रोजेर जान पाउने अवस्था छैन अब कसरी पढ्दा ठिक होला ?
हो । तर शिक्षा मन्त्रालयले भने जस्तो अहिले पनि साहुजीहरुले मानेका छन् जस्तो मलाई लागेको छैन । पुरानै शैली अर्थात संकाय अनुसार नै पढाईरहेका छन् जस्तो लागेको छ ।
अब विद्यार्थीले जे पढ्दा पनि खास्सै फरक पर्छ जस्तो लाग्दैन । एक त जागिरको कटौती भयो । अर्को कोरोनाको कुरा भयो । त्यसले गर्दा जागिरसँग पढाईको सोझो सम्बन्ध हुन्छ भन्ने हिजोको संकथन अब काम नलाग्ने भयो । त्यसले गर्दा विद्यार्थीले आफुले इच्छाएको विषय पढ्दा हुन्छ । त्यसैले अब जे पढे पनि फरक पर्ने देखिएन ।
फेरि पनि ऐच्छिक विषय रोज्नको लागि सुझाव त दिन सकिन्छ होला नि ?
विद्यालयले दिएको अंकलाई आधार मानेर उनीहरुको क्षमता यकिनन गर्ने सक्ने अवस्था छैन । कतिपय विद्यालयले अभिभावकको दबाबमा, कतिपय विद्यालयले विद्यार्थीको दबाबमा र कतिपय विद्यालयले आफ्नै रहरमा अंक दिएको पाईन्छ । त्यस कारण त्यहाँ विश्वसनीयताको प्रश्न आयो । त्यसैले तपाईंको यत्ति अंक आएको छ त्यसको आधारमा तपाईं यो विषय पढ्नुहोस् भन्न सकिने अवस्था छैन ।
त्यसो भए अब विद्यार्थीले आफुलाई रहर लागेको विषय छनौट गर्नुप¥यो ?
हो । अब विद्यार्थी आफैले रहर लागेको विषय पढ्नुपर्छ । त्यो रहर लागेको विषय अनुसार विद्यार्थीले रोज्न पाउने अवसर छ । किनभने अहिलेको पाठ्यक्रम अनुसार विद्यार्थीले चाहेको विषय पढ्न पाउँछ । दुई वटा मानविकीको दुई वटा व्यवस्थापनको र दुई वटा विज्ञानको विषय पढ्न चाहान्छु कत्ति क्रेडिट आवर लिनुपर्छ त्यत्ति क्रडिट आवर लिन्छु भन्न पाउँछ । त्यो पाईने भनेपछि विद्यार्थीलाई जे पढे पनि भयो । कुनै विद्यार्थीले अनिवार्य बाहेकको अरु जुन विषय पढ्छु भने पनि पायो । त्यसैले रहर लागेको विषय पढ्नुपर्छ ।
अहिलेको पाठ्यक्रम ठिक छ ?
विद्यार्थीले आफुले चाहेको विषय पढ्न पाउनु राम्रो हो । त्यसले दिने रिजल्ट पनि राम्रो आउँछ । एउटा चाँही के समस्या आउन सक्छ भने मेडिकल क्षेत्रमा जान नसक्ने समस्या रहन्छ ।
त्यसको लागि विश्वविद्यालयले तिमी मेडिकल क्षेत्रमा जान चाहन्छौ भने विज्ञानको यो विषय पढ्नैपर्छ अथवा यो विषयमा यत्ति क्रेडिट आवर दिनै पर्छ भन्न सक्छन् ।
भनेपछि अहिलेको माध्यामिक शिक्षाले जागिरसँग जोड्दैन ?
अहिले पनि धेरै वटा विद्यालयहरुले संकायको साईनबोर्ड फालेका छैनन् । त्यसकारण उनीहरुले मानविकी, व्यवस्थापन भनेर संकाय अनुसार नै पढाईरहेका छन् । त्यो स्थितिमा रहर लाग्ने विषय पढ भन्ने हो ।
त्यसैले त्यहाँ जागिर छैन जागिरका निम्ति सीप सिक्ने किसिमको पढ भन्ने हो । सीप कता सिक्ने भन्दा एउटा तरिका अनलाईन, युट्युवबाट पनि सिक्न सक्ने अवस्था छ । अन्र्तराष्ट्रिय जगतका सीपमुलक कोर्षहरु अहिले अनलाईनमा छ । सीटीइभीटीका पनि कतिपय कोर्षहरु अनलाईनमा गएको छ ।
त्यसैले गरिखानलाई सीप अनलाईनमा सिक्ने, पढि खानलाई जे रहर लाग्छ त्यहि पढ्ने । यो क्याम्पस, त्यो क्याम्पस दौडा दौड गरेर भन्दा पनि आफुलाई पायक पर्ने विद्यालयमा जाने ।
के चाँहि भन्न सकिन्छ भने आफ्नो पहुँचमा प्रविधिमा छ भने प्रविधियुक्त स्कुल खोजेर पढ्न सकिन्छ । पहुँचमा छैन भने किन महँगोमा जाने भन्ने हो । अहिलेको सुझाव यहि हो ।
फेसबुक प्रतिक्रियाहरु