होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माधवको त्यो एमाले, ओलीको यो एमाले
समाचार

माधवको त्यो एमाले, ओलीको यो एमाले

  • नागरिक रैबार
माधवको त्यो एमाले, ओलीको यो एमाले
फायल तस्वीर

नेपालमा ३० वर्ष लामो पञ्चायत ढलेको थियो। २०१७ सालमा राजा महेन्द्रले खोसेको प्रजातन्त्र २०४६ मा बहाली भएको थियो। तत्कालीन एमालेको आंशिक असहमतिका बिच पनि दलहरूको सहमतिमा २०४७ मा राजाले नेपाल अधिराज्यको संविधान जारी गरेका थिए। २०४६ सालको आन्दोलन राजनीतिक क्रान्ति त थिएन। तर, वाक् स्वतन्त्रता र बुर्जुवा प्रजातान्त्रिक अधिकारका दृष्टिले त्यो महत्वपूर्ण परिवर्तन थियो। यसले क्रान्तिका लागि अगाडि बढ्नसक्ने ढोका खोलिदिएको थियो।

तर, नेपालले राजनीतिक परिवर्तनमा अग्रगामी बाटो लिइरहेका बेला विश्व कम्युनिस्ट आन्दोलन भने निरन्तर ओरालो लाग्यो। जब सन् १९९१ मा सोभियत संघ ढल्यो, समाजवादी सत्ता प्रतिक्रान्तिमा बदलियो, तब पूर्वी यूरोपका समाजवादी सत्ताहरू एकपछि अर्को ढल्न थाले। कम्युनिस्ट क्याम्पमा भागाभागको स्थिति देखा पर्‍यो। त्यही परिस्थितिमा नेपालमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको कार्यक्रम अघि सारे। दार्शनिक दृष्टिले जबज मार्क्सवादी विचार थिएन। तर, वामपन्थी जनमतको रक्षाका निम्ति त्यसले सकारात्मक भूमिका नै खेल्यो।

२०४९ को पाँचौं महाधिवेशनमा मदन भण्डारीको कार्यक्रम पारित भयो। तर, महाधिवेशन लगत्तै भएको शंकास्पद दुर्घटनामा भण्डारीको मृत्यु भएपछि एमालेको नेतृत्व माधव नेपालको काँधमा आयो। यद्यपि, पार्टी महासचिव मनमोहन अधिकारी नै थिए। २०५२ मा नेकपा (माओवादी) ले दीर्घकालीन जनयुद्धको बाटो लिएपछि कम्युनिस्ट आन्दोलनमा दुई धार प्रष्ट रूपमा मुखरित भयो। एउटा धारा सशस्त्र क्रान्ति र अर्को धारा सामाजिक सुधारको पक्षमा देखियो।

विज्ञापन

२०४७ सालमा माले र मार्क्सवादीबिच एकता भई बनेको एमाले संस्थागत भइसकेको थिएन। भण्डारीको मृत्युपछि एमाले संस्थागत गर्ने मुख्य जिम्मेवारी माधव नेपालको काँधमा आइलाग्यो। उनकै नेतृत्वमा एमाले अञ्चल, जिल्ला, इलाका हुँदै गाविस र टोलटोलसम्म पुग्यो। मध्यमवर्गको सबैभन्दा ठूलो हिस्सा एमालेमा संगठित हुने परिस्थिति बन्यो, जो सामाजिक जीवनमा सबैभन्दा स्थापित थिए, मर्यादित मानिन्थे। त्यही जगमा उभिएर एमालेले संगठन बिस्तार, सुदृढीकरण र अभिलेखीकरणमा राम्रो प्रगति गर्‍यो।

एमालेको संगठन टोलटोलसम्म पुग्यो। आफ्नो गाउँ आफै बनाउँ र सामाजिक सुरक्षा कार्यक्रमले एमालेको लोकप्रियता बढ्यो। राज्यमा एकछत्र हैकम जमाएको कांग्रेसका लागि एमाले फलामको च्यूरा भएर उभियो। शिक्षक, कर्मचारी, प्राध्यापक, अधिकारकर्मी लगायत समाजको प्रतिष्ठित वर्गमा एमालेप्रति आकर्षण बढ्दै गयो, जो जनतासँग अविछिन्न रूपमा जोडिएका थिए। एमालेले सामाजिक सुधारकै बाटो भए पनि आफूलाई सुदृढीकरण गर्दै लग्यो।

माओवादी जनयुद्धमा थियो। एमाले र माओवादबिच सैद्धान्तिक विश्लेषण र बुझाइमा निकै ठूलो अन्तर थियो। माओवादी आन्दोलनको अलग्गै छवि, वीरताको इतिहास र निष्ठाको पहाड थियो। यता सामाजिक छविका दृष्टिले एमालेका नेता–कार्यकर्ता कांग्रेसभन्दा अनुशासित र मर्यादित थिए। उनीहरू वैचारिक बहसमा सहभागी हुन्थे र आफ्नो विचारको वकालत गर्थे। चौतरी, चियापसल, मेलापात, सार्वजनिक स्थलहरूमा कम्युनिस्ट र कांग्रेस व्यवहारले नै छुट्टिन्थ्यो। कांग्रेसहरू हैकमी स्वाभावका थिए। उनीहरूमा एक खालको अहंकार र शासकीय डकार आउँथ्यो, जुन आजकल ओलीमा देखिन्छ। मान्छेहरू उनीहरूको व्यवहार हेरेर नै कम्युनिस्ट र कांग्रेस छुट्टाउन सक्थे।

२०५४ को निर्वाचनमा ६५ प्रतिशत स्थानीय निकाय एमालेले जितेको थियो। मुस्किलले ३० प्रतिशत मात्र कांग्रेसका जनप्रतिनिधि थिए। तर, देशभरिको चित्र हेर्दा एमालेका कार्यकर्ताहरू सदाचारी देखिन्थे। सीमित जनप्रतिनिधि मात्रै भ्रष्टाचारको अभियोगमा मुछिन्थे, जबकि कांग्रेसबाट जितेका अधिकांश जनप्रतिनिधि आलोचित थिए। समग्रमा राजनीतिक कार्यदिशाका हिसाबले सुधारवादी बाटो हिँडेको अभियोग लागे पनि आत्मानुशासन र सुशासनका क्षेत्रमा एमाले सही बाटोमा थियो।

२०६४ को निर्वाचनमा एमालेको पराजयपछि माधव नेपालले नैतिकताका आधारमा पार्टी महासचिवबाट राजीनामा दिए। जतिबेला उनले झलनाथ खनाललाई पार्टी नेतृत्व बुझाए, त्यतिञ्जेलसम्म एमालेमा वैचारिक, अनुशासित, जिम्मेवारी र सुशासनलाई आदर्श मान्नेहरूको विशाल पंक्ति थियो। खनालको अवधिमा पार्टीको चरित्रमा फेरबदल आए पनि उनी पनि खास विवादमा आएनन्। तर, जब एमालेमा प्रभावशाली भनिने नेता केपी शर्मा ओलीको प्रभाव बिस्तार हुँदै गयो, एमाले अनुमान नै गर्न नसकिने अँध्यारो सुरूङभित्र धकेलियो।

ओलीले आफ्नो शक्ति बिस्तारका लागि युथफोर्स गठन गरे, यो शक्ति त्यही थियो, जो यसअघि कांग्रेस र राप्रपाको पछाडि लागेर राज्यको साधन स्रोत दोहन गर्थ्यो, समाजमा आंतक मच्चाउँथ्यो। मानिसहरू उनीहरूलाई सचेत युवा होइन, देशको सुशासन, विकास र असल संस्कृतिका लागि विषवृक्ष ठान्थे। तर, ओलीले पार्टीसत्ताको शक्ति हत्याउन त्यस्तै विषवृक्षमा मलजल गरिरहे।

२०७१ को नवौं महाधिवेशनबाट ओली पार्टी अध्यक्षमा आए। त्यसपछि एमाले अघिल्लो पुस्ताले कहिल्यै नसोचेको ठाउँमा आइपुग्यो। पार्टीमा दशकौं योगदान गरेका, विचारका दृष्टिले खारिएका, संगठनका दृष्टिले जनतासँग नङ–मासुको सम्बन्ध भएका, जनताको आँखामा सदाचारी ठानिने नेताहरू किनारामा धकेलिए। कानमा ठूलठूला मुन्द्रा लगाएका मानिसलाई नै आतंकित पार्ने चुल्ठेमुन्द्रेहरू एकाएक पार्टी नेतृत्वमा आए। उनीहरूका दृष्टिमा राजनीति समाजसेवा थिएन, सबैभन्दा फस्टाउँदो व्यापार थियो। जब उनीहरू नेतृत्वमा आए, एमालेको सदाचारको इतिहास गल्र्याम्मै ढल्यो, सुशासन सर्मायो। एमाले भन्ने पार्टी सबैभन्दा भ्रष्ट पार्टीमा सूचिकृत हुँदै गयो।

माधव नेपालको नेतृत्वकाल थियो, जतिबेला कांग्रेसका नेता–कार्यकर्ता भ्रष्टाचारमा मुछिन्थे, एमालेले विज्ञप्ति निकालेर आलोचना गर्थ्यो। सडकमा न्यायको आवाज उठाउँथ्यो, जब पार्टीमा ओलीको शासनकाल सुरू भयो, ठीक उल्टो भयो। सबैभन्दा भ्रष्टाचारी एमालेकै नेता हुन थाले। राज्यका सबै साधन स्रोतमा आँखा लाग्न थाल्यो। ठेक्कापट्टा विधि–प्रक्रियाबाट होइन, दादागिरीबाट कब्जा गर्न थालियो। परिस्थिति यस्तो बन्दै गयो, सबैभन्दा ठूलो तस्कर, सबैभन्दा ठूलो ठेकेदार, सबैभन्दा भ्रष्ट छवि नबनाइकन त्यो सच्चा एमाले हुनै नसक्ने भयो। ईश्वर पोखरेल, गोकुल बाँस्कोटा, महेश बस्नेतदेखि एमालेको तल्लो तहसम्मका नेता–कार्यकर्ताको छवि हेर्दा उनीहरू राप्रपाभन्दा पनि गएगुज्रेका हुँदै गएको देखिन्छ।

२०४६ सालको आन्दोलनपछि चिया पसलमा कांग्रेस र कम्युनिस्ट प्रष्टै छुट्टिन्थ्यो। कांग्रेसहरू अहंकारी थिए, उनीहरू रवाफ देखाउँथे। कम्युनिस्टहरू विद्रोही तर जनमैत्री थिए। जनताप्रति उनीहरू विनम्र देखिन्थे। हेर्दाहेर्दै त्यस्तो पार्टीलाई ओलीले उल्टाइदिए। अहिले चियापसलमा भेट्दा कांग्रेस बरू हिजोको कम्युनिस्टजस्ता र एमाले हिजोका कांग्रेस र पञ्चजस्ता भएका छन्। माधव नेपाल र केपी ओलीले नेतृत्व गर्दा एमालेमा आएको खास परिवर्तन यही हो, जसका कारण आज माधव नेपाल कुशासनको बहुमतले पेलिएर किनारामा पुगेका छन्। सम्भवतः यही परिस्थिति निरन्तर विद्यमान रहे ओलीकै कार्यकालमा एमाले प्रजा परिषद बन्न सक्छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै