होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !
राजनीति

खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !

  • नागरिक रैबार
खोटाङका स्थानीय किसान सिन्कौली बेचेरै लखपति !
फाेटाे पालिका खबरबाट

साउन ६ खोटाङ- खोटाङका स्थानीय किसान सिन्कौली (तेजपात) को खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँघरमा सुगन्धित मसलाका रूपमा प्रयोग हुने सिन्कौली (तेजपात) को पात तथा बोक्रा राम्रो मूल्यामा बिक्री हुने हुँदा किसान यो खेतीमा आकर्षित भएका हुन् ।

सिन्कौलीको बजारभाउबारे जाने-बुझेका किसानले हाल डिभिजन वन कार्यालय, सामुदायीक वन उपभोक्ता महासंघ एवं विभिन्न कृषि फार्मसँगको सहकार्यमा सिन्कौलीको बेर्ना लगेर खाली जग्गामा रोप्न थालेका छन् ।

उदयपुरको बेलटार, गाईघाटलगायतका बजारमा पुर्‍याउँदा पात प्रतिकिलो ६० र बोक्रा प्रतिकिलो डेढ सय रुपैयाँका दरले बिक्री हुने भएकाले स्थानीय सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेको सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले बताए ।

विज्ञापन

कम लगानीमै आयआर्जनको माध्यमका रूपमा उपयोग गर्न सकिने भएकाले किसान सिन्कौली खेतीतर्फ आकर्षित हुन थालेका हुन् । सदावहार हरियाली रहने सिन्कौली खेती वातावरणीय हिसाबले पनि उत्तिकै फाइदाजनक मानिन्छ ।

‘जिल्लामा सिन्कौलीको राम्रो सम्भावना छ । सिन्कौलीको बजार पनि राम्रो छ । यो खेतीतर्फ प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन जरुरी छ,’ अध्यक्ष राईले भने, ‘सिन्कौली खेतीबाट आयआर्जन पनि हुन्छ । पर्यावरणका हिसाबले पनि उत्तिकै फाइदाजनक छ ।’ जिल्लामा सामुदायिक वन र व्यक्तिगत जग्गामा सिन्कौली खेती लगाएर आयआर्जन गर्न सकिने सम्भावना छ ।

खोटाङका अधिकांश स्थान सिन्कौली खेतीका लागि उपयुक्त भए पनि हालसम्म व्यावसायिक खेती हुन सकेको छैन । गाउँघरमा फाट्टफुट्ट मात्रामा लगाइएका सिन्कौलीको पात चिया, पुलाउ, मासुको परिकारलाई सुगन्धित र स्वादिष्ट बनाउन मसलाका रूपमा उपयोग गर्ने गरिएको छ ।

वासनादार मसलाका रूपमा प्रयोग गरिने सिन्कौलीको पालुवा गाईवस्तुलाई घाँस तथा रुखलाई दाउरा र काठका रूपमा प्रयोग गरिन्छ । बढी मात्रामा सिन्कौली हुर्काएका किसानले भने पात टिपेर सुकाएर उदयपुरको बेलटारसम्म पुर्‍याएर बिक्री गर्दै आएका छन् । रोपेको ५-६ वर्षदेखि सिन्कोलीको पात टिप्न सकिन्छ ।

सिन्कौलीको पात र बोक्राबाट मसला, औषधीजन्य तेलसमेत उत्पादन हुने बताइन्छ । सिन्कौलीको पात र बोक्राबाट निकालिएको तेल पाचन शक्ति बढाउन, रोकिएको पिसाब खुलाउनदेखि मुटुसम्बन्धी रोगको उपचारमा समेत उपयोग हुने अध्ययनमा भेटिएको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष राईले बताए । सिन्कौलीको बासनादार तेल ससेज, अचार, केकलगायत परिकारमा समेत प्रयोग गरिन्छ ।

सडक बनेपछि सिन्कौली निकासी बढ्यो 

सडक विस्तार भएपछि खोटाङको बराहपोखरी गाउँपालिकामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको छ । छिमेकी उदयपुर जोड्ने धाप्लाङ-धर्तुङ सडक बनेपछि बराहपोखरी गाउँपालिकाको मौवाबोटे, सुन्तले, फाक्टाङ, पोवासेरालगायत वडामा उत्पादित सिन्कौलीले बजार पाउन थालेको हो ।

खेर गइरहेका सिन्कौली अहिले गाडीमार्फत बाहिरिने गरेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जराले बताए । ‘पहिला धेरैजसो सिन्कौली घाँसका रूपमा प्रयोग हुन्थ्यो । थोरै मात्रामा सहर लगेर बिक्री गरिन्थ्यो,’ अध्यक्ष बञ्जराले भने, ‘सडक बनेपछि अधिकांश सिन्कौली सहर पुग्न थालेको छ ।’

मौवाबोटेका कतिपय ठाउँमा सिन्कौलीको जंगल नै देख्न सकिन्छ । गाईभैंसी र बाख्रालाई घाँस खुवाउन प्रयोग हुँदै आएको सिन्कौलीको सुकेको पात हाल गाउँमै प्रतिकेजी ३५-४० रुपैयाँमा बिक्री हुने गरेको छ । सुन्तले र फाक्टाङबाट बोरामा प्याक गरिएका सिन्कौली पात उदयपुरको गाईघाट हुँदै निकासी हुने गरेको छ । फाक्टाङ, सुन्तलेमा प्याक गरिएको सिन्कौलीलाई खोटाङ र उदयपुरको सुनकोसीस्थित धाप्लाङघाट पुर्‍याइन्छ । धाप्लाङबाट भरियामार्फत नदी तारिएको सिन्कौलीलाई पुनः ट्रयाक्टरमार्फत अन्यत्र लगिने गरेको छ । भरपर्दो सडक अभावमा कतिपय किसानले अहिले पनि पिठ्युँमा बोकेर सिन्कौलीलाई उदयपुरको बेलटार पुर्‍याउने गरेका छन् । उदयपुरको गाईघाट, बेलटार, मुर्कुची पु¥याएपछि सिन्कौली प्रतिकिलो ५० देखि ६० रुपैयाँसम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन् ।

गाउँघरमा सिन्कौलीले मूल्या पाउन थालेपछि किसानको आम्दानीको स्रोत बन्न थालेको छ । सुन्तले र फाक्टाङका सडक आसपासमा हाल बोराका बोरा सिन्कौली निर्यातका लागि तयारी अवस्थामा राखिएको छ । सडक विस्तारअघि मोवाबोटे, सुन्तले, फाक्टाङ, पौवासेरामा उत्पादित सिन्कौली डोकोमै बोकेर २ दिन हिँडेर सहर पु¥याउने गरिन्थ्यो । पिठ्युँमा बोकेर सहर पु¥याइएको सिन्कौली नुन र मट्टीतेल साट्न उपयोग गरिन्थ्यो ।

तर, गाउँसम्म सडक खुलेपछि खेर गइरहेको सिन्कौली ठेकेदारमार्फत नगदमै बिक्री हुन थालेको किसान बताउँछन् । सो क्षेत्रमा सिनामोल अमला र सिनामोल टोलमाला प्रजातिका सिन्कौलीको बगान छ । सिनामोल अमला जातको तेजपातलाई विश्वकै उत्कृष्ट तेजपात मानिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि