दमदम, कोलकाता — ४० वर्षपछि भारतीय जेलबाट छुटेका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) आइतबार बिहानै स्वदेश आइपुगेका छन् ।
कोलकातास्थित नेपाली महावाणिज्य दूतावास र विश्व सेवा विस्तार संस्थाको पहलमा उनलाई नेपाल पठाइएको हो । झापामा पत्रकार सम्मेलन गरेर दुर्गालाई परिवारको जिम्मा लगाइने विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतले जनाए । पत्रकार सम्मेलनपछि उनलाई इलाम माई नगरपालिका-१० स्थित घर पुर्याइनेछ । ‘उनी आमासँग भेट्न आतुर छन्,’ भाइ प्रकाशचन्द्रले भने, ´जतिसक्दो चाँडो घर पुर्याउनेछौं ।’
भारत पश्चिम बंगालको दमदम करेक्सनल सेन्टर (सेन्ट्रल जेल) मा रहेका उनी कोलकाता उच्च अदालतको आदेशबमोजिम शनिबार छुटेका हुन् । शारीरिक र मानसिक रुपमा कमजोर उनलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुगेका थिए । अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार अपराह्न अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले उनलाई छाडेको हो ।
कोलकाता उच्च अदालतका मुख्य न्यायाधीशद्वय थोट्टाथिल बी नायर राधाकृष्णन् र न्यायाधीश अनिरुद्र रोयले गत बुधबार साँझ दुर्गाप्रसादलाई छाड्न आदेश दिएका थिए । शुक्रबार भाइ प्रकाशचन्द्र अदालत पुगेर सबै कानुनी प्रक्रिया पूरा गरेपछि शनिबार उनलाई छाडिएको हो ।
अदालतले उनको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ । क्षतिपूर्तिका सन्दर्भमा भने अदालत मौन छ । दुर्गाप्रसादका पक्षमा बहस गरेका वकिल हिरक सिन्हाका अनुसार हरेक ६/६ महिनामा उनको मानसिक अवस्थाबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासलाई जानकारी गराउनुपर्नेछ । त्यसपछि महावाणिज्य दूतावासले अदालतलाई जानकारी गराउनेछ । अदालतको आदेशपछि भाइ प्रकाशचन्द्र सहयोगी संस्था विश्व सेवा विस्तारका प्रतिनिधि इन्द्र बस्नेतसहित कोलकाता पुगेका थिए ।
फेसबुक प्रतिक्रियाहरु