



धनगढी : दसैँको टीका लगाइसकेका सुदूरपश्चिमका किसानलाई अहिले धान भित्र्याउन भ्याइनभ्याई छ। खेतमा धान पाकेका कारण पानी परे नोक्सानी हुने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याई भएको हो। सुदूरपश्चिम प्रदेशमा यो वर्ष धानको उत्पादन राम्रो हुने अनुमान गरिएको छ। यो वर्ष मनसुन अनुकुल हुनुका साथै उन्नत बीउका कारण धान उत्पादन बढ्ने अनुमान कृषि विज्ञले गरेका हुन्।
ठीक समयमा भएको वर्षा तथा खेतीपातीको समयमै मल पाउदा कैलाली र कञ्चनपुरसहित ७ पहाडी जिल्लामा पनि धानको उत्पादन गत वर्षभन्दा ५ देखि ७ प्रतिशत बढी हुने कृषि ज्ञान केन्द्र केलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए। ‘यो वर्ष कैलाली जिल्लामा धानको उत्पादन गत वर्षभन्दा बढ्ने हाम्रो अनुमान छ,’ उनले भने, ‘कैलालीमा पोहोरभन्दा यो वर्ष ५ देखि ७ प्रतिशत धान उत्पादन बढ्ने हाम्रो अनुमान छ।
कैलालीपछि बढी धान उत्पादन हुने कञ्चनपुरमा पनि यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएको छ। कञ्चनपुरमा गत वर्षभन्दा १० देखि १५ प्रतिशत धान बढी फल्ने कृषि ज्ञान केन्द्र, कञ्चनपुर प्रमुख डाक्टर दीलबहादुर विष्टको दाबी छ। ‘कञ्चनपुरमा पनि यो वर्ष धान उत्पादन विगतका वर्षभन्दा बढ्ने हाम्रो हनुमान छ।’ उनले भने, ‘ सबै कुरा अनुकुल भएकोले यो वर्ष १० देखि १५ प्रतिशत उत्पादन बढ्न सक्छ।’
सुदूरपश्चिम प्रदेशमा धान उत्पादन झनै बढी हुनुपर्ने कृषि अधिकारीले बताउने गरेका छन्। परम्परागत कृषि प्रणाली तथा धान खेती गर्दा गर्नुपर्ने गोडमेल नगर्ने कारणले उत्पादनमा बढोत्तरी हुन नसकेको बताइएको छ। त्यसैमा समयमा मल र बीउ नपाउनु र सिचाइ सुविधा नहुनु पनि समस्या हो। तर यो वर्ष बैशाख, जेठदेखि धान भित्र्याउँदासम्म परेको पानीका कारण धानको उत्पादन बढ्ने कृषि विकास निर्देशनालय दीपायलका निर्देशक यज्ञराज जोशीको भनाई छ।
‘सुदूरपश्चिममा यो वर्ष धानको उत्पादन बढ्ने अनुमान गरेका छौँ,’ उनले भने, ‘यो वर्ष मनसुन अनुकुल भएको कारण र कुनै रोग व्याधी नलागेको कारण धान अरु वर्षभन्दा बढी फल्छ भन्ने प्रारम्भिक अनुमान गरेका छौँ।’ सुदूरपश्चिम प्रदेशमा कूल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा बर्खे धान खेती हुने गरेको कृषि विकास निर्देशनालयको तथ्याङक छ।
सबैभन्दा बढी तराइको जिल्ला कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धान खेती हुने गरेको छ। यस्तै पहाडी क्षेत्रका डोटी, डडेल्धुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र अछाम जिल्लामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धान खेती हुने गरेको छ। सुदूरपश्चिममा बर्खे धानको वार्षिक उत्पादन पाँच लाख ८६ हजार ३५३ मेट्रिक टन छ। दिनेशखबरबाट





फेसबुक प्रतिक्रियाहरु