५ फागुन चितवन। आज नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिन भित्रमै प्रतिनिधिसभा पुनस्र्थापनाको फैसला आउने बताएका छन्। चितवनमा पत्रकारसँग बोल्दै प्रचण्डले अदालतमा चलिरहेको मुद्दाले देशलाई निकास दिने विश्वास गरे। संविधानसम्मत ढंगले अदालतबाट प्रतिनिधिसभा पुनस्र्थापना हुने प्रचण्डले दावी गरे। असंवैधानिक कदमबाट भएको चुनाव अवैधानिक हुने भएकाले त्यस्तो चुनावले समस्या समाधान नगर्ने प्रचण्डले बताए। यही अवस्थामा निर्वाचन भए देश अराजकताको भूमरीमा पर्ने भन्दै प्रचण्डले देशमा दक्षिणपन्थी र वामपन्थी अतिवादी फैलन थाल्ने र देश भूमरीमा पर्ने बताए।
पत्रकारहरुको जिज्ञासामा संसद पुर्नस्थापना भयो भने त्यसपछिको प्रधानमन्त्री तपाई नै हो भन्ने प्रश्नमा अध्यक्ष दाहालले मैले आमसभामै सार्वजनिक रुपमै भनिसकेको छु कि मलाई प्रधानमन्त्री हुने लोभ नै छैन, यो भ्रम कसैलाई नपरोस् भन्दै प्रचण्डले आन्दोलनको नेतृृत्व प्रधानमन्त्री बन्न गरेको हो भने त्यो गलत रहेको औल्याए।
आन्दोलन लोकतन्त्र र संविधान बचाउनका लागि रहेको बताउँदै उनले अहिले हासिल यो उपलब्धी धेरै ठूलो संघर्षबाट आएको दोहोर्याए। अन्य दलसंग संयुक्त आन्दोलनको सम्भावना कति छ भन्ने प्रश्नमा अध्यक्ष दाहालले प्रतिपक्ष दल काँग्रेसका सभापति शेरबहादुर, रामचन्द्रसँगै र जसपाका केही नेताहरुसँगै पनि कुराकानी भइरहेको बताउँदै ढिलोचाँडो संयुक्त आन्दोलन हुने विश्वास व्यक्त गरे।
अलोकतान्त्रिक र असंवैधानिक कदममार्फत् चुनाव नै भए त्यो पनि असंवैधानिक, अवैधानिक हुने तर्क राख्दै उनले भने, ‘अहिलेको अवस्था त संविधान ‘डिरेल’ हुने हो कि भन्ने खतरा पैदा भएको छ, त्यसलाई ट्रयाकमा ल्याउन नै यो आन्दोलन, संघर्ष भइरहेको छ। अहिलेको कदम नसच्चिए अब हुने चुनावबाट आउने प्रधानमन्त्रीले जतिबेला पनि संसद विघटन गर्न सक्छ, र त्यो नजिर बन्ने पनि भएकाले यो दुष्प्रयासलाई कदापि सफल हुन दिनु हुँदैन।
सर्वोच्च अदालतबाट पुर्नस्थापना नभए के हुन्छ भन्ने सञ्चारकर्मीले बारम्बार गरेको प्रश्नमा अध्यक्ष दाहालले देश अराजकताको भूमरिमा पर्ने, देशमा अतिवाद फैलिने, दक्षिणपन्थी अतिवाद, वामपन्थी अतिवाद फैलिने खतरा रहेको बताए। अर्को प्रश्नमा उनले निर्वाचन आयोगले आफैले ४४१ जनाको केन्द्रीय कमिटि रहेको फैसला गरिसकेकाले यसको बहुमतलाई मान्यता दिनैपर्छ भन्दै आफ्नो अडान दोहोर्याएका छन्।
माडीलाई मणि बनाउने कुरा आफूहरुले गरेकै हो बताउँदै उनले माडीमा विकास जति हुनुपर्ने हो, त्यति नभएकोमा प्रधानमन्त्री ओली नै दोषी रहेको बताए। उनले भने, ‘‘माडीमा विकास नभएको पनि होइन, माडीमा अहिले सडक, पुलपुलेसाका काम धमाधम भइरहेको छ, विकासको लहर पनि चलेको छ।’
माडीको कृषि क्षेत्रमा विविधिकरण गर्न युवाहरुमा पनि जागरण बढेको बताउँदै उनले प्रधानमन्त्री ओलीजीको विकास विरोधी, निषेधात्मक, प्रतिक्रान्तिकारी सोचका बाबजुद पनि माडीमा भएको विकासले आफू सन्तुष्ट रहेको बताए। उनले विगतमा कृषि र भूमि मन्त्रालय एउटै रहेको उल्लेख गर्दै त्यही समयमा सुकुम्बासी र भूमिसम्बन्धी समस्या समाधानका लागि आफूले पहल गरिरहेकै बेला प्रचण्डले अब कृषि र भूमिमा क्रान्ति ल्याउने भो भन्दै तत्कालिन मेरो र सबैभन्दा इमान्दार मन्त्रीलाई हटाएर दुईवटा मन्त्रालय बनाएको बताए। आफू कृषि सम्बन्धी नै अध्ययन गरेको र त्यसमा पनि यो विषयमा आफ्नो चासो रहेकोले प्रचण्डले यो क्षेत्रमा क्रान्ति गर्ने भयो भन्दै ओलीले नयाँ भूमि ऐन ल्याउन नदिएको आरोप पनि लगाए।
फेसबुक प्रतिक्रियाहरु