भोग्नु र देख्नुमा आकाश–पातालको फरक हुन्छ । यस बावजुद पनि अर्को पुस्ताबाट छुवाछुत हट्छ भन्ने कथ्य बलियो बन्दै गइरहेको थियो । तर, पछिल्ला केही घटनाक्रमले नेपाली समाजको सामाजिक चेतना छर्लङ्ग पारिदिएको छ । रूपा सुनार प्रकरण ठीकसँग सेलाएकै थिएन, फेरि चितवनमा भीमबहादुर विश्वकर्माको कुटपिटबाट हत्या भएको विषयलाई लिएर दलित समुदाय आन्दोलित बन्नुपरेको छ ।
खासमा हामी केही दलितलाई पनि नयाँ पुस्ताबाट आशा थियो, उनीहरूले जातीय छुवाछुत हटाउन सहयोग गर्लान् भन्नेमा । तर, नयाँ पुस्ता पनि भन्न थालेको छ, ‘समाज बिस्तारै बदलिन्छ, संस्कृतिको जगेर्ना गर्नुपर्छ, म मेरो बाउआमालाई मनाउन सक्दिनँ, कोटा दिएकै छ !’ यसबाट प्रस्ट भयो, अर्को पुस्ताले पनि छुवाछुत जस्ताको तस्तै बोकेको छ । हाम्रो नयाँ पुस्ता यस्तै चेतनामा बग्दै–बग्दै गइरहने हो भने पुस्तौं–पुस्तासम्मै समाज जहाँको त्यहीँ रहने अवस्था देखियो । मलाई/हामीलाई ‘नयाँ पुस्ता’ सँग डर छ ।
पुरानो पुस्तासँग कुनै आशा छैन । नयाँ पुस्तासँगको आशाको बत्ती पनि निभ्न लाग्दै छ । तर, छुवाछुतका घटनामा हामी प्रतिरोध गरी नै रहन्छौं । एक दलितले प्रत्येक दिन डरमर्दो विभेद भोगिरहेको हुन्छ । के हामीले विभेदैपिच्छे मुद्दा हाल्दै हिँडेका छौं त ? तर, जबजब अपमानले हद नाघ्छ, व्यक्तिको मानमर्दन गर्ने स्तरमा विभेद गरिन्छ, हामी चुप लाग्न पनि सक्दैनौं । कत्ति विभेद र छुवाछुत त हामीले त्यसै पचाउँदै आइरहेका छौं । सहनुको पनि सीमा नाघेपछि हामी विस्फोट हुन्छौं नै ! विभेदैपिच्छे मुद्दामामिला गर्ने हो भने प्रत्येक दिन हजारौं मुद्दा चलिरहेका हुन्थे । दलितका लागि समाज नै विपक्षी छ । दलितलाई त न्याय खोजीको मार्गमा हिँड्दा पनि यहाँ अवरोध मात्रै तेर्सिन्छ । संसारका सारा ज्ञान, उपलब्धिसँग जोडेर आफूलाई हेरिरहेको नयाँ युवा पुस्ता ढोंगरहित छैन ।
मैले अनुभव गरेको छु– आजको युवाले पनि भित्र गहिरो रूपमा विभेद बोकेर हिँडेको छ । त्यसले हामीलाई आतङ्कित, त्रसित र आक्रोशित बनाएको छ । युवा पुस्ताले भनिरहेको छ, ‘म बदलिन सक्छु, तर घर बदल्न जबर्जस्ती गर्दिनँ ।’ डर छ– संसारतर्फ लम्किरहेको यो पुस्ताले छुवाछुत र विभेद पनि संसारभर फैलाउने भयो ! पुस्तान्तरणसँगै विभेद पनि पुस्तान्तरण हुने अवस्थामा छ । एउटा व्यक्ति, समाज र राष्ट्रलाई मात्र होइन, मानव सभ्यतालाई नै लज्जित बनाउने विषय हो यो ।
घरबाहिर त जो पनि क्रान्तिकारी बन्न सक्छ । साँच्चिकै समाज बदल्न त ऊ घरभित्रै पस्नुपर्छ । अन्यथा दलितमाथिको ओठे–भक्तिमा मानवीय समानताभन्दा दया प्रतिविम्बित हुन्छ । दलितका लागि यो अर्को अपमान हो । दलितले दया होइन, मानवीय समानता खोजेका हुन् ।
घरभित्रै हुने अमानवीय छुवाछुत हटाउन नसक्नेले दुनियाँ बदल्छु भन्नु मुर्ख्याइँ हो । हामीलाई घरभित्रै क्रान्ति गर्ने युवा चाहिएको छ । रूढिग्रस्त चेतना बोकेको युवाले सामाजिक क्रान्ति गर्न सक्दैनन् । समाज बदल्छु भन्ने युवा नै सबैभन्दा पहिले बदलिन जरुरी छ । जसले घरका अघिल्लो पुस्तालाई छुवाछुत ठीक होइन, छुवाछुत गरे कानुन लाग्छ भनेर बुझाउन सक्दैन, उसले समाज परिवर्तन गर्छु भन्नु गम्भीर ठट्टा हो ।
समाज विवेकशील होला, कुरीति हट्ला भनेर हामीले लामो समय कुर्यौं, तर समाजले यसको निर्मूलमा कुनै चासो देखाएन । फलत हामीले औपचारिक कानुनको सहारा लियौं । अब हाम्रासामु कानुन नै विभेद र छुवाछुतविरुद्धको एक मात्रै हतियार बनेको छ ।
म गैरदलितलाई भन्छु– एकपटक तपाईंहरू नयाँ ठाउँमा घुम्न जाँदा, पाहुना जाँदा प्रस्ट दलित बुझाउने थर जोडेर आफ्नो परिचय दिनोस् । र, त्यसपछिका प्रतिक्रिया अनुभव गर्नुस् । यो सानो प्रयास मात्रैले पनि तपाईंलाई दलित हुनुको तनाव र दलितमाथि अपमान कति गहिरो हुँदोरैछ भन्ने बोध गराउँछ ।
एउटा लोककथाको सम्झनु सान्दर्भीक हुन्छ– एउटा राजालाई बगैंचामा जाँदा खुट्टामा काँडा बिझेछ । उनले दरबार फर्केर भारदार र मन्त्री, पण्डितहरूको बैठक बोलाएछन् । बगैंचा जाँदा काँडा बिझेको कुराले दरबारमा खैलाबैला भयो । बगैंचा जाँदा कसरी राजालाई काँडाबाट जोगाउने भन्ने विषयमा सोच्ने भनेर त्यस दिनको बैठक उठेछ ।
एक मन्त्रीले राजा जहाँजहाँ जान्छन्, त्यहाँत्यहाँ गलैंचा बिछ्याउन सुझाव दिएछन् । राजाले त्यस प्रस्तावलाई स्विकारे । तर, व्यावहारिक रूपमा त्यो निकै झन्झटिलो भएछ । सबै ठाउँमा गलैंचा बिछ्याउन सम्भव पनि त हुँदैन ।
एक पण्डितले राजा जाने बगैंचामा काँडा नभएको फूल मात्रै रोप्न भनेछन् । त्यो पनि गरिएछ । तर, त्यसरी त राजालाई मन पर्ने फूल नै नहुने भयो । र, बगैंचा नै नहुने भयो । एउटा भारदारले राजाले जहाँजहाँ टेक्छन्, त्यहाँत्यहाँ हात थाप्नुपर्ने सुझाव दिएछन् । त्यो पनि व्यावहारिक भएनछ ।
राजा समस्यामा परेको, तर समाधान ननिस्केको विषय देशैभर फैलिएछ । त्यसपछि एउटा सार्कीले छालाको जुत्ता राजालाई उपहार दिँदै भनेछ, ‘जहाँजहाँ जानुहुन्छ त्यहाँत्यहाँ यो जुत्ता लगाएर जानुस् महाराज, काँडाले केही गर्दैन ।’
हो रै’छ, छालाको जुत्ताले काम गर्यो । र, काँडा बिझेन । राजाले सार्कीलाई दरबारमा बोलाएर प्रशंसा गरेछन् । तर, भारदार, मन्त्री र पण्डितहरू शंका र तनाव भयो, ‘हामीजस्ता विद्वान्ले गर्न नसकेको कुरा कसरी यसले सक्यो ? पक्कै यसले षड्यन्त्र गरेको हुनुपर्छ !’ ‘विद्वान्’ हरूको शंकाले काम गर्यो । त्यस सार्कीलाई सजाय दिई राज्यबाटै लखेटियो !
आज पनि हामी दलित त्यही सार्कीको नियति भोगिरहेका छौं ।
फेसबुक प्रतिक्रियाहरु