होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, मंसिर १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जोगिएलान् ‘नयाँ एमाले’ का चुनावी क्षेत्र ?
समाचार

जोगिएलान् ‘नयाँ एमाले’ का चुनावी क्षेत्र ?

पाँच दलले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्ने चर्चा भइरहेका बेला माओवादी छाडेर एमाले बनेका चारै जनालाई जित निकाल्न सजिलो छैन

  • नागरिक रैबार
जोगिएलान् ‘नयाँ एमाले’ का चुनावी क्षेत्र ?

अर्घाखाँची/रौतहट/धनगढी — प्रतिनिधिसभाका रिक्त स्थानमा उपनिर्वाचनको चर्चासँगै चुनावी जोडघटाउ सुरु हुन थालेको छ । माओवादी केन्द्रबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट–३ का प्रभु साह, कैलाली–३ का गौरीशंकर चौधरी र कैलाली–४ का लेखराज भट्टको क्षेत्र रिक्त भएका हुन् ।

२०७४ को आमनिर्वाचनमा उनीहरू एमाले र माओवादीको गठबन्धनबाट निर्वाचित भएका थिए । एमालेबाट फेरि पनि यी चारै जना उम्मेदवार बन्ने सम्भावना छ । तर, पाँच दलले गठबन्धन बनाएर प्रतिस्पर्धा गर्ने चर्चा भइरहेका बेला चारै जनालाई जित निकाल्न सजिलो भने छैन ।

अर्घाखाँचीमा रायमाझीलाई चुनौती

विज्ञापन

अर्घाखाँचीमा २०६४ सालको पहिलो संविधानसभा निर्वाचनयता तीनपटक लगातार निर्वाचित भएर उपप्रधानमन्त्रीसम्म बनेका टोपबहादुर रायमाझीलाई उपनिर्वाचनमा चुनौती देखिएको छ । दुईपटक आफ्नै बलमा र २०७४ मा एमाले–माओवादी ‘वाम गठनबन्धन’ मा राष्ट्रिय जनमोर्चाको समेत मत पाएर उनी निर्वाचित भएका थिए । २०७४ मा रायमाझीले कांग्रेस उम्मेदवार रामबहादुर बीसीलाई करिब १८ हजार मतान्तरले हराएका थिए । रायमाझी २०७० सालमा माओवादीका शीर्ष नेताले मतगणनास्थल बहिष्कार गर्दा पनि पार्टी केन्द्रको निर्णयलाई अस्वीकार गर्दै गणनास्थलमै बसेर निर्वाचित भएका थिए ।

एमालेको जिल्ला नेतृत्वले उपचुनावमा रायमाझी नै उम्मेदवार हुने बताएको छ । रायमाझी भने उपनिर्वाचन हुनेमै विश्वस्त छैनन् । ‘उपनिर्वाचन हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘निर्वाचन भइहाल्यो र पार्टीले टिकट दियो भने म उठ्ने हो ।’ अरू दलको गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुराले एमालेलाई अर्थ नराख्ने उनले बताए । जिल्लामा धेरै विकास योजना भित्र्याएकाले उनी जनस्तरमा भिजेका नेता मानिन्छन् । एमालेमा लागेका रायमाझीसँग माओवादीको पूरै पंक्ति छैन । उनीसँगै नेता चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पद त्यागेर एमाले रोजेका छन् । रायमाझीसित ३० प्रतिशत माओवादी कार्यकर्ता एमालेमा लागेको अनुमान छ । विभाजनपछि एकीकृत समाजवादीमा प्रभाव पार्ने नेताजति एमालेमै बसेका छन् । रायमाझीका लागि चुनाव जित्ने बलियो आधार एमालेको संगठन, आफूसित आएको पूर्वमाओवादी समूह र व्यक्तिगत प्रभाव हो । तर, केन्द्रमा भएको गठबन्धन उपनिर्वाचनमा पनि कायम रहेमा रायमाझीलाई जित्न सहज छैन ।

‘अहिले रायमाझीको विकल्प छैन,’ एमाले जिल्ला अध्यक्ष एवं प्रदेशसभा सदस्य चेतनारायण आचार्यले भने, ‘अरू सबैको गठबन्धन भए पनि हामी एक्लै भिड्छौं र सानदार तरिकाले चुनाव जित्छौं ।’ २०७४ को निर्वाचनमा वाम गठबन्धनका साझा उम्मेदवार रायमाझीले ५० हजार ८ सय ३७ र कांग्रेसका रामबहादुर बीसीले ३२ हजार ५ सय ४४ मत ल्याएका थिए । समानुपातिकमा एमाले नै पहिलो दल बनेको थियो । एमालेले ३० हजार ४ सय १७, कांग्रेसले २८ हजार ३ सय ६९, माओवादी १४ हजार ९ सय ६२ र राजमोले ४ हजार ७ सय ७१ मत पाएका थिए ।

कांग्रेस र एमालेको हाराहारी संगठन भएकाले त्यसमा राजमो, माओवादी र एकीकृत समाजवादीको मत थपिँदा गठबन्धन कायम रहेमा रायमाझीलाई जित्न कठिन हुन सक्छ । गठबन्धनभित्र भागबन्डा गर्दा अर्घाखाँची कुन दललाई पर्ने र को उम्मेदवार हुने भन्ने अनिश्चित छ । कांग्रेस ठूलो दल भएकाले कांग्रेसले नै उम्मेदवार पाउँछ भन्ने ढुक्क छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूनिकट पूर्वसांसद डिलाराम आचार्यलाई उम्मेदवार बनाउन जोडबल गर्न सक्ने अनुमान पनि छ । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका जिल्ला नेता केन्द्रमा गठबन्धन नभए चुनावी तालमेल गरेर भए पनि रायमाझीलाई हराउने कसरतमा छन् । कांग्रेस सभापति विष्णुप्रसाद खनालले उपनिर्वाचनमा पार्टीले अघि सारेमा आफू चुनाव लड्ने बताए । ‘गठबन्धन भएमा मत बढ्छ, नभए पनि कांग्रेसले एक्लै लडेर जित्छ,’ उनले भने, ‘कांग्रेसप्रतिको जनलहर र विश्वास छ । कांग्रेसलाई अब चुनाव जित्न कसैले रोक्न सक्दैन ।’

साहलाई विरासत जोगाउने चिन्ता

तत्कालीन माओवादी द्वन्द्वकालमा मातृका यादवसँगै मधेसमा संगठन विस्तार गर्न खटिएका प्रभावशाली नेतामा गनिने प्रभु साह अहिले पदविहीन छन् । २०७४ मा माओवादीबाट रौतहट–३ बाट विजयी उनी एमाले प्रवेश गरेपछि सांसद पद गुमेको हो । २०६४ देखि नै माओवादीबाट चुनाव जित्दै आएका साह मधेसमा बलिया नेताका रूपमा गनिन्छन् । उनले छिटो उपचुनाव गर्न माग गर्दै आएका छन् । ‘प्रत्यक्ष निर्वाचित सांसद वा प्रदेश सांसदको पद रिक्त भएमा बढीमा ६ महिनाभित्र चुनाव गराउनैपर्ने संवैधानिक व्यवस्थाको सरकारले खिल्ली उडाउँदै आएको छ,’ उनले भने, ‘दुई दिनका लागि भए पनि उपचुनाव गर्नैपर्छ ।’ उनी पछिल्लो समय गृह जिल्लामा भेटघाट कार्यक्रममा व्यस्त छन् । साहले २०६४ र २०७० को संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमका नेता किशोरी यादवलाई हराएका थिए । उनले २०७४ मा कांग्रेस नेता सुनीलकुमार यादवलाई पाराजित गरेका थिए ।

एकताका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने साह तत्कालीन केपी ओली सरकारको पालामा मन्त्री बनेका थिए । नेकपा विघटनसँगै उनी एमालेमा लागेका हुन् । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईको विश्वासपात्र मानिने साह भट्टराई माओवादीबाट अलग भएपछि तटस्थ बसेका थिए । पछि दाहालनिकट भएर मन्त्री पनि बने । माओवादीले विस्तार गरेको मधेसी राष्ट्रिय मुक्ति मोर्चाको तत्कालीन महासचिव भएपछि साहले माओवादी नेतृत्वसँग सम्बन्ध बलियो बनाएका थिए । रौतहटमा प्रभाव बलियो बनाउने अभियानमा लागेका उनी तत्कालीन नेकपाको प्रदेश २ अध्यक्षसमेत थिए ।

साहकी श्रीमती रीनादेवी मौलापुर नगरपालिकाकी मेयर छिन् । साहले श्रीमतीलाई मेयरको टिकट दिएको भन्दै नगरपालिकाका विद्यार्थी नेता धीरज पटेलले पार्टी त्यागेका थिए । माओवादी त्यागेपछि साह अहिले कमजोर भएको टिप्पणी गर्न थालिएको छ । यद्यपि उनी आफूलाई अहिले पनि बलियो ठान्छन् । कांग्रेस नेता यादव साहले माओवादी त्यागेपछि कमजोर भएको टिप्पणी गर्छन् । ‘अबको निर्वाचनमा साहले जित्ने कुनै सम्भावना छैन,’ उनी भन्छन्, ‘जनताले साहलाई चिनिसकेका छन् । दल बदलु भएपछि जनताको विश्वास गुमेको छ ।’

कैलालीमा वामपन्थीलाई सकस

कैलालीमा प्रतिनिधिसभा सदस्यका दुईवटा निर्वाचन क्षेत्र रिक्त छन् । २०७४ को निर्वाचनमा कैलाली–४ बाट माओवादी केन्द्रका उम्मेदवार लेखराज भट्ट र कैलाली–३ बाट निर्वाचित माओवादी केन्द्रकै उम्मेदवार गौरीशंकर चौधरीले एमाले प्रवेश गरेपछि उनीहरू दुवै पदमुक्त भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका भट्टले कांग्रेस उम्मेदवार सुनील भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले पराजित गरेका थिए । भट्टले ३१ हजार ३ सय ५९ मत पाएका थिए भने भण्डारीले २० हजार ९६० मत पाएका थिए । गौरीशंकर चौधरीले कांग्रेस उम्मेदवार रामजनम चौधरीलाई पराजित गरेका थिए । गौरीशंकरले २४ हजार ८ सय ७९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका रामजनम चौधरीले २० हजार ४ सय ९४ मत प्राप्त गरेका थिए । लेखराज प्रतिनिधिसभामा भिडेका बेला प्रदेशसभा क र ख मा नेकपा एमालेका दीर्घ सोडारी र कृष्णप्रसाद सुवेदी विजयी भएका थिए । त्यसबेला उनीहरू तीनै जनाको संयुक्त प्रतिस्पर्धा भएकाले कांग्रेस कमजोर भएको थियो ।

भट्टको निर्वाचन क्षेत्रबाट प्रदेशसभामा सोडारी १६ हजार १५ सय ५ मतसहित विजयी भएका हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका यज्ञराज चौधरीले ११ हजार ४ सय २५ मत पाए । यस्तै प्रदेशसभा ख मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी हुँदा उनका प्रतिद्वन्द्वी कांग्रेसका हीरादत्त भट्टले ११ हजार ८ सय ३ मत प्राप्त गरेका थिए । अहिले भट्टले माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गर्दा तत्कालीन विजयी उम्मेदवारहरूमध्ये सुवेदीमात्र एमालेमा छन् । सोडारी एकीकृत समाजवादीमा छन् । स्थानीय कार्यकर्ताले अब विगतजस्तो लेखराज भट्टको निर्वाचन क्षेत्रमा एमालेलाई सहज नहुने आकलन गरेका छन् ।

यस्तै माओवादी केन्द्र परित्याग गरेपछि रिक्त भएको गौरीशंकर चौधरीको क्षेत्र कैलाली–३ मा पनि पहिलाको जस्तो अवस्था छैन । त्यसबेला गौरीशंकर चौधरीसहित प्रदेशसभाका दुवै सिटमा वामपन्थी उम्मेदवार विजयी भएका थिए तर प्रदेशसभा सांसद वीरभान चौधरी र अमरबहादुर साउद अलग पार्टीमा छन् । वीरभान साविकको माओवादी केन्द्रमा छन् भने साउद एकीकृत समाजवादीमा छन् । कैलाली–३ को प्रदेशसभा ख मा एमालेका साउदले त्यसबेला ११ हजार ८ सय ७७ मत र कांग्रेसका लक्ष्मणबहादुर शाहीले ७ हजार ४ सय ९२ मत पाएका थिए । त्यस्तै प्रदेशसभा क मा माओवादी केन्द्रका चौधरीले नेपाली कांग्रेसका पुरनप्रसाद चौधरीलाई पराजित गरेका हुन् । वीरभानले १५ हजार ८ सय ७३ मत प्राप्त गर्दा पुरनले १२ हजार २ सय ६१ मत पाएका थिए ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार