कात्तिक २१ अर्थात् नोभेम्बर ७ तारिख रुसमा अक्टोबर क्रान्ति सम्पन्न भएको दिन । यसलाई कम्युनिष्ट क्रान्ति, रसियन क्रान्ति र बोल्शेभिक क्रान्ति आदि नामले पुकारिन्छ । तर जसरी अक्टोबर क्रान्तिको चर्चा हुन्छ, यससँग अभिन्न रुपले जोडिएको प्राभ्दा पत्रिकाको बारेमा कमै चर्चा हुने गरेको छ ।
रसियाको पुरानो कम्युनिष्ट पत्रिका लिन प्रिय पाठकहरू सदा झैं बिहान उठेर गए । तर त्यस दिनको आश्चर्यचकित पार्ने समाचार यही थियो कि त्यो पत्रिका आएन । प्राभ्दा (प्राब्दा) जसलाई लेनिन र बोल्शेभिक कमरेडहरूले स्थापना गरेका थिए । त्यस दिनदेखि बन्द भएको थियो ।
प्रतिस्पर्धी बजारमा घट्दो कम्युनिष्ट पाठक भएपछि प्राभ्दा बन्द हुन बाध्य भएको थियो । प्राभ्दाको कुनै बेला १ करोड १० लाखसम्म पनि पाठक थिए रसियामा । बन्द हुने बेलामा जम्मा दुई लाख पाठक थिए । विविध आर्थिक र व्यवस्थापकीय समस्याले गर्दा प्राभ्दा निरन्तर आन्तरिक समस्यामा परेपछि सरकारी सहजीकरणमा प्राभ्दा बन्द भएको थियो ।
अन्त्यतिर प्राभ्दाको यतिसम्म आलोचना भयो कि ‘प्राभ्दाभित्र अनुशासन छैन, सम्पादक र पत्रकार रक्सी मात्र खान्छन्, प्राभ्दा आफूलाई प्रतिपक्षीय पत्रिका भन्छ तर सरकारी पत्रिकाले जति पनि आलोचना गर्दैन’ आदि ।
यस लेखमा प्राभ्दाको सुरुवातदेखि अक्टोबर क्रान्तिसम्मको इतिहासलाई लिइएको छ । अक्टोबर क्रान्तिको दोस्रो दिन प्राभ्दामै लेनिनले लेखेका थिए- ‘हामीले सत्ता कब्जा गर्यौं, क्रान्तिको विरोधी र दुश्मनलाई सजाय दिइनेछ, सर्वहाराको अधिनायकत्व स्थापना गरिनेछ ।’ सोभियत भित्र के भइरहेछ भन्ने थाहा पाउन रसियनहरूले प्राभ्दा कुर्नै पर्थ्यो । लेनिनपछि प्राभ्दा स्टालिनको हातमा गयो । स्टालिनले प्राभ्दालाई अलि कालो टोनमा बदलेका थिए । स्टालिनको पालामा पत्रिकाको माथि नै लेखिएको हुन्थ्यो- ‘जनताका शत्रुहरूलाई मृत्युदण्ड दिइनुपर्छ ।’
स्टालिनपछि ख्रुस्चेवले आफ्ना सुधारका योजना प्राभ्दा मार्फत नै प्रकाशित गरे । ख्रुस्चेवले स्टालिनको शेषपछि उनलाई खुइलाउन पनि प्राभ्दा प्रयोग गरे । सोभियतकालीन अन्तिम नेता मिखाइल गोर्वाचोभको सत्ता ढल्ने दिनसम्म पनि प्राभ्दाले पेरेस्त्रोइका अर्थात् पुनर्जागरणको वकालत गर्दथ्यो ।
पश्चिमा मिडियाको नजरमा प्राभ्दा सोभियतकालीन सबैभन्दा ठूलो प्रोपोगान्डा फैलाउने अस्त्र थियो । बोरिस यल्तसिनबाट गोर्वाचोभले कसरी सत्ता हत्याए भन्ने घटनाक्रमलाई प्राभ्दाले सिलसिलेवार छापेको थियो । प्राभ्दाको तीन इतिहास छ । प्रथम- यसको स्थापना । दोस्रो- बोल्शेभिकहरूले सत्ता लिइसकेपछि सन् १९१२-१९१४ सम्म र तेस्रो- अक्टोबर क्रान्तिको सफलतापछि सन् १९९७-१९९२ सम्म । तर यहाँ अक्टोबर क्रान्तिसम्मको इतिहास मात्र उल्लेख गर्नेछु ।
सन् १९०३ मा एक धनाढ्य रेल्वे इन्जिनियर भी.ए कोजेभ्निकोभले प्राभ्दा स्थापना गरेका थिए । प्राभ्दाको अर्थ सत्य भन्ने बढी चर्चित भए पनि यसको अर्थ न्याय शब्दसँग बढी नजिक भएर राखिएको थियो । सुरुवातमा प्राभ्दाको कुनै राजनीतिक झुकाव थिएन । कोजेभ्निकोभले प्राभ्दालाई कला, साहित्य, जीवन र साना समाचारलाई नै केन्द्रित गरेका थिए । प्राभ्दाको दुई नियमित लेखक पछि गएर रसियन सोसल डेमोक्रेटिक लेवर पार्टीको सक्रिय सदस्य बने । उनीहरू पार्टी भित्र पनि बोल्शेभिक समूहसँग नजिक भए ।
प्रकाशक कोजेभ्निकोभ र सम्पादक मण्डलसँग असहमति बढ्दै गयो । प्रकाशकले सम्पादकलाई पत्रिका छोडेर जान भने । प्रकाशकले पत्रिकाको जिम्मा लिन मेन्शेभिकहरूलाई भने । तर मेन्शेभिकहरूसँग पनि प्रकाशकको राम्रो हुन सकेन । यति हुँदाहुँदै पनि र.सो.डे.ले.पा. बाट टुक्रिएर गएको युक्रेनियन पोलिटिकल पार्टीले प्राभ्दा लिएर गयो ।
प्राभ्दा रसियन क्रान्तिमा संचारको एउटा महत्वपूर्ण हिस्सा बन्न पुग्यो । रसियन क्रान्तिको सफलतापछि कम्युनिष्ट शासन ढल्नु अघिसम्म प्राभ्दाको भूमिका उल्लेखनीय रह्यो । खासगरी लेनिनको व्यक्तित्व निर्माणमा प्राभ्दा र प्राभ्दाको निर्माणमा लेनिन परिपूरक रहे । प्राभ्दालाई संसारभरका कम्युनिष्टले श्रद्धापूर्वक हेर्थे
त्यसपछि सन् १९०८ मा भियनाबाट ल्योन त्रोत्स्कीलाई सम्पादक लिएर प्राभ्दा प्रकाशित हुन थाल्यो । विस्तारै प्राभ्दामा बोल्शेभिक समर्थकको स्पेस बढ्दै गयो । सन् १९१० मा र.सो.डे.ले.पा.को केन्द्रीय कमिटीले प्राभ्दालाई आफ्नो पार्टीको मुखपत्र बनाउन सिफारिश गर्यो । १० जनवरी १९१२ मा र.सो.डे.ले.पा.को प्रागमा भएको छैटौं अधिवेशनले मेन्शेभिकहरूलाई पार्टीबाट निष्कासित गर्यो ।
बोल्शेभिक नेता लेनिनले प्राभ्दालाई पार्टीको मुखपत्र बनाउने घोषणा गरे । त्यसपछि प्राभ्दा भियनाबाट सेन्ट पिटर्सवर्ग सर्यो । लेनिनको नेतृत्वमा ५ मे, १९१२ मा वैधानिक रूपमा राजनीतिक पत्रिकाको रूपमा प्रकाशित भयो । रसियन सोसल डेमोक्रेटिक लेबर पार्टीको केन्द्रीय कमिटीका मान्छे, मजदूर, म्याक्सिम गोर्की जस्ता मान्छेहरूको निरन्तर आर्थिक सहयोगमा प्राभ्दा चलिरह्यो । ५ मेमा प्रकाशित प्राभ्दालाई २ कोपल पर्थ्यो भने त्यसमा चार पेज थियो । उक्त संस्करणमा केही आर्थिक समाचार, केही मजदूर हड्ताल र आन्दोलनका समाचार र दुईवटा सर्वहारा कविता प्रकाशित थिए । एम. इ. इगोरोभ सेन्ट पिटर्सवर्गबाट प्रकाशित भएको प्राभ्दाको सम्पादक थिए भने निकोलाय पोलेताराव प्रकाशक । प्रकाशकमा त्यतिबेलाको संसद डुमाको सदस्यहरूलाई राखिएको थियो किनभने डुमामा सदस्यहरूले कानूनी उन्मुक्ति पाउँथे ।
सम्पादन मण्डल पनि ४२ जनाको थियो । पत्रिकालाई जोगाउन र खासगरी जरिमाना तिर्न पर्यो भने मान्छे बरु जेल जाने हेतुले सम्पादन मण्डल ठूलो राखिएको थियो । प्राभ्दा सुरुवातमा ४० हजारदेखि ६० हजारसम्म निस्किन्थ्यो ।
सन् १९९२-१९९४ सम्म प्राभ्दा सक्रियतापूर्वक प्रकाशित हुने मौका पायो । तर यसबाट जार शासन सन्तुष्ट थिएन । यसबीचमा पनि प्राभ्दाले ८ पटक नाम बदल्यो । लेनिनले धेरै लेखहरू प्राभ्दामा लेखे । लेनिनले के. तुलिन, एन लेनिन, पेत्रोव इत्यादि उपनाममा लेख लेख्थे । बोल्शेभिकहरूको क्रान्तिको तयारी बढ्दै जाँदा पत्रिका झन् झन् बढी प्रोपोगान्डाले भरिन थाल्यो । सन् १९९४ जुलाईमा यसलाई सेन्सरसिप लगाई पत्रिका बन्द गरियो ।
सन् १९१७ को फेब्रुअरी क्रान्तिको सफलतापछि प्राभ्दा फेरि प्रकाशित हुन थाल्यो । फेब्रुअरी क्रान्तिपछि निकोलाई बुकारिन र मारिया इल्यिच उल्यानोभ (लेनिनकी बहिनी) प्राभ्दाको सम्पादक भए ।
अक्टोबर क्रान्ति अघि लेनिनका दुई लेख प्राभ्दामा चर्चित भए । पहिलो मार्च २१ र २२, १९१७ लेटर फ्रम अ फार (टाढाबाट चिठी) र दोस्रो अप्रिलमा, वर्तमान क्रान्तिका लागि सर्वहाराको कार्यभार (अप्रिल थेसिसका रूपमा चर्चित) । १९१७ को अक्टोबर क्रान्ति सफल भएपछि पनि प्राभ्दा निरन्तर १९९२ सम्म प्रकाशित भई नै रह्यो ।
यसरी प्राभ्दा रसियन क्रान्तिमा संचारको एउटा महत्वपूर्ण हिस्सा बन्न पुग्यो । रसियन क्रान्तिको सफलतापछि कम्युनिष्ट शासन ढल्नु अघिसम्म प्राभ्दाको भूमिका उल्लेखनीय रह्यो । खासगरी लेनिनको व्यक्तित्व निर्माणमा प्राभ्दा र प्राभ्दाको निर्माणमा लेनिन परिपूरक रहे । प्राभ्दालाई संसारभरका कम्युनिष्टले श्रद्धापूर्वक हेर्थे । रसियन क्रान्तिका अध्येता, समर्थक र चर्चा रहेसम्म प्राभ्दालाई बिर्सन मिल्ने छैन ।
फेसबुक प्रतिक्रियाहरु