काठमाडौँ — प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूसँग आगामी महाधिवेशनमा सभापतिमा जितको सुनिश्चितता खोजेका छन् । बूढानीलकण्ठस्थित निजी निवासमा आफूनिकट नेताहरूसँग यतिबेला देउवाले छलफल गरिरहेका छन् ।
देउवाले नेताहरूसँग मुलुकको राजनीतिक अवस्था, पार्टीको आन्तरिक शक्ति संघर्ष र जिल्ला तथा प्रदेश अधिवेशनको नतिजा बारे ब्रिफिङ गरेका थिए । सभापति देउवाले नेताहरूलाई कुन पदमा उठ्न चाहनुहुन्छ भनेरसमेत सोधेका थिए । देउवाको भनाइ उद्धृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘तपाईंको आकांक्षा के हो ? सभापति कसरी जितिन्छ ?’ देउवाले नेताहरूलाई ‘तपाईंलाई उम्मेदवार बनाउँदा सभापति कसरी जितिन्छ ?’ भनेर सोधेका थिए ।
उम्मेदवारको टुंगो लगाउन सभापतिका आकांक्षीहरूले आ–आफ्नो टिमभित्र छलफल थालेका छन् । सभापतिका आकांक्षीमध्ये देउवा सबैभन्दा बलिया उम्मेदवारको रुपमा देखिएकाछन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला सभापतिका आकांक्षी छन् । पौडेल समूहबाट तीनमध्ये को सभापतिको प्रतिस्पर्धी बन्ने भन्ने टुंगिएको छैन ।
त्यसैका लागि पौडेल समूहका नेता निरन्तर छलफलमा छन् । शशांक कोइरालाले दाबी छाडे पनि अरुबीच सहमति हुन सकेको छैन । बुधबार साँझसम्म पौडेल समूहले साझा उम्मेदवार तय गर्ने दाबी गरेको छ । चाक्सीबारीस्थित सिंह निवासमा दिउँसो ३ बजे बस्ने बैठकले केही टुंगो लगाउने अपेक्षा गरिएको छ ।
फेसबुक प्रतिक्रियाहरु