सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा बैठकमा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समर्थन जनाएका छन् ।
विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै दुवै दलका प्रतिनिधिले प्रस्तावको पक्षमा मतदान गर्ने संसदीय दलको निर्णय रहेको भन्दै सोही अनुसार भूमिका निर्वाह गर्ने बताए ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एमाले सचेतक दुर्गा कामीले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्ने जानकारी दिइन् । कोरोना महामारी नियन्त्रण र बजेटतिर केन्द्रित हुनुपर्ने टड्कारो समय रहेको भन्दै उनले यी उद्देश्य पूरा गर्नका लागि राजनीतिक स्थिरता आवश्यक रहेको प्रस्ट पारिन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभामा धारणा राख्दै सांसद अक्कलबहादुर रावलले राष्ट्रिय राजनीतिमा विभिन्न उतारचढावबीच सुदूरपश्चिम प्रदेशले राजनीतिक स्थिरताका लागि प्रस्ट सन्देश दिन आवश्यक रहेको बताए ।
उनले भने, ‘हामी फोहोरी खेलमा छै्रनौं, स्थिरता दिन संकल्पित छौं भन्ने सन्देश दिन यो विश्वासको मतले सबैलाई सबक दिने छ ।’ उनले आफ्नो पार्टी विश्वासको मतसम्बन्धी प्रस्तावको समर्थनमा रहेको बताए ।
काँग्रेसका गोविन्दराज बोहराले नेपाली काँग्रेसले इतिहासका विभिन्न खण्डमा सुझबुझपूर्ण निर्णय गर्दै आएको बताए । लोकतन्त्रवादी शक्तिहरु एक ठाउँमा उभिन आवश्यक रहेको उनको भनाइ छ ।
यद्यपि विश्वासको मतसम्बन्धी प्रस्तावकाबारे पार्टीले कस्तो भूमिका निर्वाह गर्छ भन्नेबारे उनले बैठकमा केही खुलाएनन् । उनले प्रदेश सरकारलाई भ्रष्टाचार नियन्त्रणमा अग्रसर हुन सुझाव दिए । अन्यथा आगामी दिनमा आफूहरुले सोही अनुसारको भूमिका निर्वाह गर्ने उनको चेतावनी थियो ।
फेसबुक प्रतिक्रियाहरु