सुर्खेत, मुगु — कालीकोटको पलाँता–६ का नवराज बुढाले ३५ वर्षअघि १८ दिन हिँडेर कैलालीको चिसापानी हाट पुगी वर्षभरि पुग्ने नुन खरिद गरेका थिए । अहिले पनि उनी ढिकेनुन ल्याउन खिनबाट झन्डै ५ घण्टा हिँडेर थिर्पुको बाख्रेबजार पुग्छन् । पलाँतामा साल्ट ट्रेडिङ कर्पोरेसनले डिपो राखेको छ ।
‘गाउँको डिपोमा कहिल्यै नुन पाइँदैन,’ उनले भने, ‘आएको नुन पनि २/४ दिनमै सकिन्छ, फेरि सधैं खाली ।’ कुनै बेला एकैपल्ट वर्षभरि पुग्ने नुन किन्ने उनी अहिले ३ महिना पुग्ने करिब ५ नम्बर (२५ किलो) नुन बाख्रेबजारबाट किनेर ल्याउँछन् ।
मान्ममा ९ रुपैयाँमा आयोडिनयुक्त नुनको प्याकेट पाइन्छ । तर गाउँको डिपोमा सधैं नपाइँदा स्थानीय प्रतिकिलो २५ रुपैयाँमा नुन किनेर प्रयोग गर्न बाध्य छन् । ‘हामीले त सधैं नुनका लागि दुःख भोग्नुपर्ने भयो,’ पताला–९ का आसमान बुढाले भने, ‘गाउँमा आयो नुन पाइए सस्तो पनि हुन्थ्यो, कुपोषणको समस्या पनि हल हुन्थ्यो ।’ अहिले पनि खिनबाट नुन लिन आउनेको भीड बाख्रेबजारमा दिनहुँजसो हुन्छ । उनीहरू सबेरै गाउँबाट आएर २/३ महिना पुग्ने नुन लिएर फर्कन्छन् ।
कर्णालीका हिमाली जिल्लाका बासिन्दाले नुनको जोहोका लागि ठूलो सास्ती भोग्दै आएका छन् । अहिले हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा नुनको अभाव छ । दुई साताअघि खाद्यान्न माग्दै काठमाडौं पुगेका वडाध्यक्ष पाल्जोर तामाङले गाउँमा चामल पुगे पनि अझै नुन अभाव भएको बताए । ‘हामी सरसापटी गरेर नुन खान बाध्य छौं,’ उनले भने, ‘अहिले गाउँमा हिमपात भएको छ, एक महिना त मुस्किलले पुग्ला, त्यसपछि समस्या हुने देखियो ।’ गत वर्ष यही समयमा ६ सय क्विन्टल नुन यल्बाङ डिपोमा गएको थियो । लिमीका स्थानीयले पोहरसालै खरिद गरेको नुन अहिले पनि प्रयोग गरिरहेका हुन् ।
हुम्लीले कसरी थेग्छन् अचाक्ली महँगी ?
साल्ट ट्रेडिङले हुम्ला सदरमुकाम सिमकोटसहित यलबाङ, सर्केगाड र श्रीनगरमा नुनको बिक्री डिपो राखेको छ । सदरमुकामलगायत अरू २ डिपोमा पर्याप्त भए पनि यो वर्ष यलबाङमा नुन जान सकेको छैन । जसका कारण लिमीका १ सय ५१ घरधुरीमा नुनको अभाव भएको हो । कोरोना महामारीअघि नाम्खा गाउँपालिकाको केन्द्र यालबाङमा चीनको बाटो हुँदै नुन ढुवानी हुन्थ्यो । ‘अघिल्लो चैतदेखि कोरोना महामारी देखाउँदै चीनले हिल्सा नाका बन्द गर्यो,’ ट्रेडिङको नेपालगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख मनोज चौधरीले भने, ‘सदरमुकामबाट त्यहाँसम्म सडक सुविधा नहुँदा नुन पठाउन सकिएको छैन ।’
यो वर्ष नाका खुल्ने आशा भएकाले नेपालगन्जबाट नुन नपठाइएको उनले जानकारी दिए । साल्ट ट्रेडिङले २०६२ देखि चीनको ताक्लाकोटबाट नुन खरिद गरी हिल्सामा ल्याएर प्याकिङ गरी नाम्खा गाउँपालिकाका बासिन्दालाई बिक्री गर्दै आइरहेको थियो । तर नाका बन्द भएपछि चीनबाट नुन ल्याउन समस्या भएको हो । यो वर्ष सिमकोटमा २३ सय क्विन्टल, यलबाङमा ६ सय तथा सर्केगाड र श्रीनगरमा १/१ हजार क्विन्टल कोटा तोकिएको छ । सदरमुकाम र सर्केगाडमा भने नुन पर्याप्त रहेको प्रमुख चौधरीले बताए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जिल्लाभरि नुन पर्याप्त भएको दाबी गरे । ‘लिमीमा नुनको समस्या भएकोबारे केही जानकारी छैन,’ उनले भने, ‘सदरमुकाममा ९ रुपैयाँ किलो नुन फालाफाल छ, समस्या भएको जानकारी आएको भए खाद्यान्न लैजाने हेलिकोप्टरमै नुन जति पनि पठाइन्थ्यो ।’
साल्ट ट्रेडिङको नेपालगन्जस्थित कार्यालयका अनुसार उपल्लो डोल्पाको तिन्जेमा पनि नुन ढुवानी नभएको लामो समय भयो । छार्काताङसोङ, सेफोक्सुन्डो र डोल्पोबुद्ध गाउँपालिकाका लागि तिन्जेमा डिपो कार्यालय खोलिएको छ । तर चीनले सीमा नाका बन्द गरेपछि २ वर्षदेखि त्यहाँ नुन जान नसकेको हो । डिपोमा नुन नभएपछि स्थानीय पसलको ढिके नुन महँगोमा खरिद गरेर प्रयोग गर्न बाध्य भएको सर्वसाधारण बताउँछन् । ‘जति पटक नुनका लागि डिपोमा गए पनि सधैं छैन भन्ने जवाफ आउँछ,’ डोल्पोबुद्धका पेमा गुरुङले बताए, ‘यहाँ न ढुवानी अनुदानको चामल पाइन्छ न नुन ।’ उनले गाउँमा सधैं चामल र नुनको अभाव हुने गरेकाले विकासको अनुभूति गर्न नसकिएको गुनासो गरे ।
नुन लिन ५ दिन पैदल
मुगुको मुगुमकार्मारोङ गाउँपालिकामा नुन डिपो नहुँदा स्थानीयवासी एक किलो नुन लिन ५ दिन पैदल हिँड्न बाध्य छन् । ५ वर्षयता चिनियाँ नाकाबाट ढिके नुनको आयात हुन छाडेपछि उनीहरूलाई नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता भएको हो ।
मुगुमकार्मारोङको चितै, डोल्फु, कार्ती, किम्री, मुगुलगायत १७ वटा गाउँका बासिन्दा २ दिन हिँडेर सदरमुकाम पुग्छन् । ‘बाटोमा मात्रै ४ दिन लाग्छ,’ मुगुगाउँका उर्गिन तामाङले भने, ‘एक दिन नुन निकाल्न गमगढीमा बस्नुपर्छ ।’ उनले गाउँमा सडक सुविधा नहुँदा चामल र नुन पिठ्युँमा बोकेरै ल्याउनुपर्ने बाध्यता भएको बताए ।
छायानाथ रारा नगरपालिका तथा सोरु र खत्याड गाउँपालिकामा नुन बिक्री गर्न डिपो भए पनि सबैभन्दा दुर्गम मुगुमकार्मारोङमा नहुँदा स्थानीय बासिन्दा वर्षौंदेखि सास्ती भोग्न बाध्य छन् । ‘सधैं सदरमुकाम आउन पाइँदैन,’ तामाङले भने, ‘त्यसैले परिवारका सबै सदस्य एकैपल्ट आई वर्षभरि पुग्ने नुन लिएर जान बाध्य छौं ।’ नुन लिन गमगढी आउँदा होटलमा बास खर्चसहित प्रतिव्यक्ति ५ देखि ७ हजार रुपैयाँसम्म खर्च हुने गरेको उनले गुनासो गरे । एक महिनाअघि पाँच जनाको परिवारसहित सदरमुकाम आएका उनले एकैपल्ट ३ क्विन्टल नुन खरिद गरे ।
सदरमुकामस्थित साल्ट ट्रेडिङ कर्पोरेसनमा पनि लाइन लागेर नुन लिनुपर्ने बाध्यता छ । नुन डिपो नहुँदा स्थानीयले ठूलो सास्ती भोग्नुपरेको मुगुमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए । ‘पहिले तिब्बतबाट ढिके नुन ल्याएर जीविका चलाउँथे,’ उनले भने, ‘चीनले कोरोनाका कारण नाका बन्द गर्यो, अब नुन ल्याउन गमगढी नआई सुखै छैन ।’ गमगढीस्थित शाखा कार्यालयका लागि वार्षिक १ हजार ५ सय क्विन्टल नुनको कोटा तोकिएको साल्ट ट्रेडिङ कर्पोरेसनका प्रमुख खगेन्द्र कार्कीले बताए । उनका अनुसार सोरु र खत्याडमा पनि १५/१५ सय क्विन्टल नुन गइरहेको छ ।
ढिके नुन नै किलोको ७५ रुपैयाँ
मुगुमकार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीका बासिन्दा एक किलो ढिके नुन ७५ रुपैयाँमा किनेर उपभोग गर्न बाध्य छन् । गाउँमा आयोडिनयुक्त नुन जाँदैन । महँगो ढुवानी भाडा तिरेर खच्चडमा बोकाएको नुन मूल्य तिरेर उपभोग गर्न बाध्य छन । गमगढीबाट मुगुमकार्मारोङका डोल्फु, चितै र मुगुगाउँ पुग्न खच्चडलाई ३ दिन लाग्ने गरेको छ ।
सरकारी अनुदानमा वितरण गरिने भानु नुनको मूल्य ९ रुपैयाँ किलो भए पनि स्थानीयले २० रुपैयाँ प्रतिकिलो भाडा तिर्नुपर्ने बाध्यता छ । त्यसमा व्यापारीले झन्डै दोब्बर नाफा खान्छन् । ‘ढुवानी भाडा महँगो हुँदा नुन किन्न पनि समस्या छ,’ डोल्फुका टासीछेवाङ तामाङले भने, ‘त्यही पनि हिउँदमा भारी हिमपातले ढुवानी ठप्प भएपछि वर्षभरिका लागि एकैपल्ट खरिद गर्नुपर्ने बाध्यता छ ।’
फेसबुक प्रतिक्रियाहरु