संस्कृति मानिसको अंग हो । संस्कृति बिना मानिस, मानिस नै रहँदैन । तर धर्मबिना मानिस, मानिस हुन र रहन सक्छ । यो चाडपर्वहरुको बहस चल्ने समय हो । त्यसकारण संस्कृतिको बारेमा केही बोल्नु पर्ने सन्दर्भ छ । म दशैँ वा कुनै पनि समुदायले मान्दै आएका चाडहरुको विपक्षमा छैन ।
बरु धार्मिक रुढिवादी र अन्धतामा आधारित सबै चाडको विपक्षमा छु । यस्ता रुढीवादको आधारमा बनाइएका चाडहरुलाई परिमार्जन गरिनु पर्दछ । त्यस्ता रुढीवादमा आधारित चाडहरुलाई जनताबाट अलग गर्नुपर्छ । तर सांस्कृतिकरुपमा मनाइने पर्वहरु भने फरक हुन् । तिनलाई संरक्षण गर्नुपर्दछ । तर धार्मिक अन्धता र रुढीवादमा आधारित चाडलाई भने अबको पुस्तलाई कसरी सिकाउन सकिन्छ र ? दुर्गामाता आएर हाम्रो लागि राम्रो गर्दिन्छिन् भने अब सिकाउन सकिन्छ ? सकिन्न । हातमा कम्प्युटर नलिइकन जसको प्रगति नै छैन, सहज तरिकाले जीवन बाँच्न नसकेर अरबमा गएर, इस्लाम देशहरुमा गएर जो काम गर्न बाध्य छ भने त्यसलाई अब हामी दुर्गामाताले हाम्रो हित गर्छिन् भनेर सिकाउन सक्छौं त ? सक्दैनौं ।
यसो भन्दा मैले कुनै खास धर्मको मात्रै कुरा गरेको होइन । मैले गरेको संस्कृतिको कुरा हो । किन कि संस्कृति बिना मानिस नै हुँदैन र संस्कृति मानिसको अभिन्न अंग हो । तर धर्मबिना चाहिँ मानिस रहन सक्छ । यहाँ हिन्दू धर्मको बढी कुरा गरिन्छ तर एउटा धर्मको मात्रै कुरा गर्नु हुँदैन । बरु सबै धर्मभित्रका खराबीहरुको कुरा गर्नुपर्छ । संसारमा अहिले भएका सबै धर्म नभएपनि मानिस रहन्छ र यसको जीवन चल्छ र विकास पनि हुन्छ । यसो हुँदा आजको समाजमा रहेका धर्महरु कति वर्ष पुराना हुन् त भनेर बुझ्न पनि आवश्यक पर्दछ ।
चार हजार वर्ष भन्दा अघि आजका हिन्दूहरु हिन्दू थिएनन् । दुई हजार वर्ष अगाडी आजका इसाईहरु इसाई थिएनन् । पन्ध्र सय वर्षअघि इस्लामहरु इस्लाम थिएनन् भने २६ सय वर्षअघि बौद्धहरु बौद्ध थिएनन् । उनीहरु सबै त्यतिबेला अर्कै थिए । त्यसकारण आजका जति पनि धर्महरु देखिएका छन् । ती सबै निश्चित समयमा विकास भएका हुन् । तर संस्कृति चाहिँ मानिसले बनाएको हो । मानिसले बनाएका सबै चीजहरु संस्कृति हुन् । किन कि मानिसले केही न केही त सिर्जना गरिहाल्छ । यसरी सिर्जना गरेपछि त्यो चीज संस्कृति बन्दछ । त्यसकारण संस्कृति मानिसको अनिवार्य अंग हो तर धर्म मानिसका लागि जरुरी चीज होइन । यसैगरि दशैँ वा उभौली पर्वका सन्दर्भमा वा क्रिस्मसका सन्दर्भमा नै किन नहोस्, मैले ४ वटा कुरा भन्दै आएको छु ।
एक) धार्मिक अन्धता र रुढीमा आधारित पर्वहरु मनाउन छोड्नु पर्छ ।
दुई) पर्वहरुमा रहेका धार्मिक पक्षलाई जनताबाट अलग्याउनु पर्दछ । तर खानपिन गर्न सकिन्छ, पिङ खेल्न सकिन्छ, चंगा उडाउन सकिन्छ, यो संस्कृत हो तर धार्मिक रुढी भने छोड्नु पर्छ ।
तेस्रो) चाडहरुलाई सकेसम्म किफायत गर्नुपर्छ । किन कि मानिसहरुलाई बजारले लुटिरहेको छ । पोहरसाल भन्दा यसपटक कम खर्च गर्दै जानु पर्दछ ।
चौथो) हाम्रै दिन र युगमा जन्मिएका महान दिनहरुलाई सांस्कृतिक पर्वको रुप दिन थालौं ।
हामीले हामीलाई थाहै नभएको दुर्गाचण्डी, थाहै नभएको मोहम्मद, थाहै नभएको इसामसिहको बारेमा चाहिँ चाड बनाएर मनाउने तर हजारौं मानिसको बलिदान गरेर ल्याएका ती परिवर्तनका दिनहरुलाई हामीले सांस्कृतिक रुप किन नदिने ? सहिद दिवसहरुलाई हामीले सांस्कृतिक दिवसको रुपमा किन नमनाउने ? खानपिन गर्ने, नतागोता बोलाउने, परिवारसित बस्ने, यस्तो रुप किन नदिने ? दिनु पर्दछ । हाम्रै परिवार र हाम्रै आफन्तले बलदिान गरे, ती दिनहरलाई संस्कतिको किन नदिने ? दिनु पर्दछ । ती दिनहरुलाई हामी किन सम्झिन नसक्ने ? त्यसकारण पुरानो संस्कृतिको विकल्प पनि छ ।
त्यसकारण कुनै पनि खास धर्मको विरोधको कुरा होइन बरु सम्पूर्ण धार्मिक रुढीहरुको परिवर्तनको बहस हो । त्यसकारण दशैँलाई धार्मिहरुपमा होइन मनाउने नै हो भने सांस्कृतिकरुपमा मनाउनुस् । त्यति पनि सकिन्न भने किफायती तरिकाले मनाउन्स् । बरु सबै मिलेर हाम्रो राष्ट्रिय बनाउने बारेमा बहस गरौं । दशैँ वा अरु पर्व राष्ट्रिय पर्व हुन सक्दैन । किन कि राष्ट्रिय पर्व हुनका लागि त्यो पर्व सबै हुनपर्दछ, तर नेपालमा त्यस्तो अवस्था छैन । दशैँ सबैको पर्व होइन ।
दशैँमा विदा दिने कुरा पनि दमन गर्नका लागि हो । किन कि रम्जान एक महिना मनाइन्छ । के त्यसका लागि एक महिना विदा दिन्छन् त मुस्लिमलाई ? दिने गरिएको छैन । नेपालमा जनै पूर्णीमा पनि विदा दिन्छन् । जनै पूर्णीमा विदा नै दिनु पर्ने के सन्दर्भ जोडएको छ र ? त्यसमा वैज्ञानिक पक्ष छैन । जनै लाउनेले घरमै बसेर लगाइहाल्छ । नलाउनेले लाउँदैन । फेरि नेपालमा जनै लाउने भन्दा नलाउने मानिस धेरै छन् । अनि विदा दिनै पर्दछ त ? पर्दैन । फेरि जनै महिलालाई लाउन नदिने र उत्पीडन गर्ने चीज हो । दलित र जनजातिहरुलाई पनि लाउन नदिने र उत्पीडन गर्ने चीज हो ।
त्यसकारण जनै पूर्णीमामा सबैलाई विदा नै दिनुपर्ने कारण केही पनि छैन । त्यस्तै घटस्थापनाको दिन किन विदा चाहिएको हो मानिसलाई ? त्यो दिन कोही नातेदार पनि बोलाउने चलन पनि छैन । भोज खाने चलनपनि छैन । बरु यो त हिन्दू शाषकहरुले गैह्रहिन्दूमाथी गरेको बलजफ्ती हो ।
त्यसकारण नै यस्ता कुराको आलोचना गर्दै आइएको हो । फेरि सबै हिन्दू जनताले यस्तो गरेको भने होइन । बरु हिन्दू समाजबाट जन्मिएका शाषकहरुले यस्तो बनाएको हो । त्यत्रो विशाल जनसंख्या भएको देश भारतमा हिन्दू शाषकहरुले शासन गरिरहेका छन् त्यसकारण त्यसको असर नेपालमा पनि पर्नु स्वभाविकै हो । यसैकारण केही मानिसहरु हिन्दू राज्य चाहियो भनेर उफ्रिन्छन् । जुन कुरा असम्भव छ । त्यसकारण नेपाल धर्मनिरपेक्ष नै ठिक छ ।
जहाँ धार्मिक स्वतन्त्रता हुन्छ । धर्म मान्न पनि पाउँछ र नमान्न पनि पाउँछ । त्यसकारण धर्म निरपेक्षतावादीहरु कुनैपनि धर्मको आडमा शासन गर्न खोज्नेका विरुद्ध दृढतापूर्वक लड्नु पर्ने हुन्छ । यसका लागि जस्तोसुकै आन्दोलन गर्न परेपनि हामी र सबै जनता तयार रहनु पर्छ ।
(प्राइम टिभीलाई दिएको अन्तवार्ताको आधारमा तयार पारिएको ।)
फेसबुक प्रतिक्रियाहरु