धनगढी : नेकपा एमाले छाड्दै १४ जना सुदूरपश्चिम प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेका छन्। उनीहरुले धनगढीस्थित प्रदेश निर्वाचन कार्यालयमै पुगेर सनाखत गरिसकेका छन्। निर्वाचन आयोगले दल रोज्नका लागि दिएको समयसीमाको आज अन्तिम दिन हो। तर एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने सांसदको संख्या बढ्ने सम्भावना भने कम छ।
१४ जना सांसदले एकीकृत समाजवादी रोजेसंगै अब दलको नेताबारे चर्चा हुन थालेको छ। संसदीय दलको नेतामा सबैभन्दा बढी चर्चा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको छ। ‘माधवकुमार नेपाल नेतृत्वमा नयाँ दल गठन भएपछि सोडारीको सक्रियता झनै बढेको छ,’ एकीकृत समाजवादी रोजेको एक सांसदले भने, ‘१४ जना सांसद पुगाएर प्रदेश सभामा ठूलो दल बनाउन पनि सबैभन्दा बढी भूमीका सोडारीले नै खेलेका छन्। त्यसैले दलको नेतामा सोडारीकै सम्भावना बलियो छ।’
यता मन्त्री सोडारीले भने संसदीय दलको नेता चयनका विषयमा अहिले छलफल नभएको बताए। ‘प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले सनाखत गर्ने आज अन्तिम दिन हो, हामी त्यसैमा व्यस्त छौँ,’ उनले भने, ‘एक÷दुई दिनपछि मात्रै दलको नेता चुन्ने, प्रमुख सचेतक, सचेतक लगायतका पदाधिकारी चुन्ने काम अगाडि बढ्छ।’
संसदीय दलको नेतामा एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङको पनि चर्चा छ। तर तामाङले भने संसदीय दलको नेता चयनबारे अहिले नै छलफल नभएको बताए। एकीकृत समाजवादीकी केन्द्रीय सदस्यसमेत रहेकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्ण जोशीले संसदीय दलको नेता सहमतिमै चयन गरिने बताइन्।
यी हुन् एमाले छाड्ने १४ सांसद
१) दीर्घबहादुर सोडारी
२) पूर्णा जोशी
३) लालबहादुर खड्का
४) चुनकुमारी चौधरी
५) मनाकुमारी साउँद
६) माया भट्ट
७) दुर्गाकुमारी कामी
८) प्रकाश रावल
९) तारा लामा तामाङ
१०) अमरबहादुर साउद
११) बलबहदुर सोडारी
१२) सुशिला बुढाथोकी
१३) कुलविर चौधरी
१४) माया तामाङ बोहरा
दिनेश खबरभाट साभार
फेसबुक प्रतिक्रियाहरु