नागरिक रैबार/बाजुरा २२ भदौ । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले राजीनामा दिने तयारी गरेका छन् ।
दल विभाजनपछि पनि नेकपा एमालेमै रहने निधो गरेका एमाले संसदीय दलका नेता समेत रहेका मन्त्री शाहले राजीनामा तयारी गरेको बताईएको छ ।
मन्त्री शाहको सचिवालयले पनि राजीनामा दिनेबारे छलफल भइरहेको जनाएको छ । ‘एकीकृत समाजवादीको पक्षमा सनाखत गर्ने कुनै सम्भावना नै छैन,’ शाहका स्वकिय सचिव जंगबहादुर विकले भने, ‘ढिलो चाँडो हुने भनेको राजीनामा नै हो ।’
त्यस्तै प्रदेश सरकारकी राज्यमन्त्री गहतराजले राजीनामा दिने तयारी गरेकी छन् । विगतमा मन्त्री शाह र गहतराज दुबै माधव नेपालको समूहमा थिए । तर दल विभाजन भएपछि भने उनीहरुले माधव नेतृत्वको नवगठित एकीकृत समाजवादीलाई साथ नदिने भन्दै एमालेमै रहने निधो गरेका थिए ।
बाजुराको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट प्रदेश सभामा निर्वाचित शाहले करिव ३ वर्ष आन्तरिक मामिला तथा कानुनमन्त्री र ५ महिना आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेका थिए ।
सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारमा नेकपा एमाले पनि सहभागी छ। एमालेका सभामुखबाहेक २४ जना प्रदेश सांसदमध्ये १४ जनाले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। त्यसैले अब सुदूरपश्चिममा माओवादी केन्द्र र एकीकृत समाजवादीको सयुक्त सरकार हुने देखिएको छ।
फेसबुक प्रतिक्रियाहरु