होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गृहजिल्लामै देउवालाई चुनौती दिइरहेका कर्ण मल्ल, किन टुट्यो आत्मीयता ?
समाचार

गृहजिल्लामै देउवालाई चुनौती दिइरहेका कर्ण मल्ल, किन टुट्यो आत्मीयता ?

  • नागरिक रैबार
गृहजिल्लामै देउवालाई चुनौती दिइरहेका कर्ण मल्ल, किन टुट्यो आत्मीयता ?

धनगढी : काँग्रेसको जिल्ला अधिवेशन नजिकीसंगै सुदूरपश्चिममा सबैभन्दा बढी चुनावी रौनक सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ। डडेल्धुरामा देउवा र वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था छ।

 

देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् भने मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्। गृहजिल्लामै देउवालाई पटकपटक चुनौती दिइरहेका मल्ल देउवाको इच्छा विपरित चुनाव लडेर जिल्ला सभापति भएका थिए। मल्लले यो पटक पनि देउवालाई टक्कर दिने कसरत गरिरहेका छन्। तर देउवा पक्ष पनि चुनावमा साम, दाम, दण्ड, भेदको नीति अपनाउने तयारीमा छ।

विज्ञापन

 

केन्द्रिय सभापतिको गृहजिल्लामै काँग्रेसभित्र विवाद बढुनुको कारण के हो ? भन्ने प्रश्नमा मल्लले भने, ‘उहाँलाई डडेल्धुरावासीले ६ पटक विजयी गराइसकेका छन्। चार पटक त प्रधानमन्त्री नै हुनुभएको छ। तर पनि उहाँले अभिभावकको भूमिका खेल्न सक्नुभएन्। उहाँकै कारणले काँग्रेसमा विवाद बढेको हो।’

 

 

गृहजिल्लामा काँग्रेसलाई एकजुट बनाउनको सट्टा केही सिमित व्यक्तिलाई निवासमा बोलाएर गुटको राजनीति गर्न सभापति देउवा व्यस्त रहेको तर्क मल्लले गरे। ‘पछिल्लो अधिवेशनमा सभापति ज्यू नै मलाई पराजित गर्न खुलेरै लाग्नुभएको थियो। तर पनि म विजयी भए,’ उनले भने, ‘तर मैले महाधिवेशनमा उहाँलाई खुलेरै सहयोग गरेको हुँ।’ पहिलोपटक सभापति हुँदा र दोस्रोपटक सभापति हुन खोज्दा आफ्नाविरुद्ध कुनै चिज बाँकी नराखेर देउवा नै लागेको आरोप मल्लको छ।

 

केन्द्रिय सभापतिको लागि देउवाले फेरि आफैँलाई अगाडि सारेका छन्, गृहजिल्लाबाट कस्तो सहयोग पाउँछन् ? भन्ने प्रश्नमा मल्लले भने, ‘ विगतमा उहाँले असहयोग गर्दा पनि मैले सहयोग गरेकै थिए। अब गृहजिल्लाका कार्यकर्तालाई उहाँले जस्तो व्यवहार गर्नुभएको छ। सोहीअनुसारको सहयोग पाउनुहुन्छ।’

यता देउवाले जिल्ला सभापतिमा अघि सारेका भीमबहादुर साउँदले पनि दौडधुप सुरु गरेका छन्। ‘२०४९ सालमा जोगबुढाको गाउँ बिकास समिति अध्यक्ष, ०५४ मा जिल्ला विकास समिति सदस्य हुँदै अहिले पर्शुराम नगरपालिकाको मेयर भएर काम गर्दै आएको छु, उनले भने, ‘०४८ देखि हालसम्म महाधिवेशन प्रतिनिधि भएर पार्टीमा सक्रिय छु। सबै साथीहरुको साथ सहयोगले जिल्ला सभापतिका लागि दाबी पेश गरेको हुँ।

किन टुट्यो आत्मीयता ?
बहुदल आएपछि देउवा डडेल्धुरा पुग्दा मल्ल नेविसंघको जिल्ला उपाध्यक्ष थिए। कार्यक्रममा देउवासंगै घुम्ने अवसर पाए मल्लले। पञ्चायती व्यवस्थाविरुद्ध र जनताको पक्षमा गीत पनि गाए मल्लले। गीत गाइसकेपछि देउवाले मल्ललाई ‘तिम्रो घर कहाँ हो ?’ भनेर साधे। देउवको स्थायी घर तत्कालिन असिग्राम गाविस थियो भने मल्लको गणेशपुर।

परिचय दिएपछि देउवाले सुदूरपश्चिमभरि घुम्ने टोलीमा मल्ललाई पनि राखे। त्यसपछि देउवाको नजिकका पात्र भए कर्ण मल्ल। ०४८ मा देउवा गृहमन्त्री हुँदा मल्ल काठमाडौंमा कलेज पढ्थे। देउवा दोस्रोपटक प्रधानमन्त्री हुँदा मल्लले निजी सचिव भएर काम गरे। आर्थिक र प्रशासनिक अख्तियारीनामा लिएर उनले देउवाको प्रमुख स्वकीयसचिव भएर काम गरे। स्वकीय सचिवालय मिलाउने, राजनीतिक भेटघाट गराउनेदेखि आर्थिक अख्तियारीअनुसार काम गर्ने अधिकार उनलाई नै दिइएको थियो। काँग्रेस विभाजित हुँदा पनि मल्ल देउवासंगै थिए।

मल्लकै अनुसार सो समयमा परिवारवाद, नातावाद, कृपावाद भइरहेको छ भन्दै विधि, विधान र पद्धति आवाज उठाउनेमा देउवा अगाडि थिए। सो समयमा देउवा र उनकी पत्नी आरजुबाट एकदमै माया पाएका व्यक्ति हुन मल्ल। डडेल्धुरा जिल्लाबाट आरजुलाई महासमिति सदस्य बनाउँन खोज्दा आफूले विरोध गरेको र सोही कारणले ‘पार्टीको हितविपरीत काम गरिएको भन्दै पार्टी सदस्यबाट दुई वर्षका लागि निकालिएको’ दाबी मल्लको छ।

तर देउवा निकट कार्यकर्ताको धारण भने फरक छ। देउवाको प्रमुख स्वकीयसचिव हुँदा मल्लले देउवाको नाममा आर्थिक हिनामिना गरेपछि मल्ललाई पार्टीबाट निकालिएको उनीहरुको धारणा छ।

‘देउवाले नेतृत्व गरेको सरकारलाई तत्कालीन राजा ज्ञानेन्द्रले २०५९ सालमा “असक्षम“ को आरोप लगाई विघटन गरेका थिए,’ काँग्रेस डडेल्धुरका एक नेताले भने, ‘सो समयमा देउवालाई सरकारबाट हटाउन सक्रिय भएका काँगे्रस नेताको पक्षमा मल्ल लागेको पनि आरोप थियो।’ तर मल्लले भने ०७१ सालदेखि देउवाले जिल्लामै गुटको राजनीति गरेको आरोप लगाउँदै आएका छन्। सोही समयदेखि मल्ल र देउवाको आन्तमीयता टुटेको बताउँछन् केही कार्यकर्ता।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार