



राष्ट्रियसभा सदस्य कोमल वलीले अहिलेको नेपाली काँग्रेस र तिनका नेताहरु वीपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले वीपी कोइरालाले हिमालयसम्म सुरक्षा छातामा राख्ने भारतको प्रस्तावलाई ठाडै अस्वीकार गरेको र चीनले एकजना नेपाली नागरिक मारेको घटनाको तत्काल विरोध जनाएको स्मरण गराइन् । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक नदीमा बेपत्ता भएको अवस्थामा मौन रहने काँग्रेसले वीपीको नाम लिने नैतिकता गुमाएको उनको भनाइ थियो ।उनले मानवता, छिमेकीको परिभाषा के हो भनेर पनि प्रश्न गरिन् । भारतीय सुरक्षाकर्मीले तुइन काट्दा नेपाली नागरिक महाकाली नदीमा खसालेको घटनामा सरकार मौन रहेको र झारा टार्नेगरी छानबिन समिति गठन गरेको आरोप पनि उनले लगाइन् ।


वीपी कोइरालाकै प्रसङ्ग निकाल्दै उनले प्रश्न गरिन्, ‘वीपीले त्यतिबेला छानबिनको रिपोर्ट पर्खेको भए के हुन्थ्यो ?’ देशलाई पर्दा, जनतालाई पर्दा औँलो ठड्याउन नसक्नेले देशको सुरक्षा गर्न नसक्ने उनको भनाइ थियो ।ओली सरकारले काम गर्न सकेन भनेर सबै पार्टी मिलेर डंका पिटेको तर अहिले सरकारले न मन्त्रिमण्डल विस्तार हुन सकेको, न त मन्त्रीहरुको भूमिका प्रभावकारी देखिएको आरोप लगाइन् । उनले प्रश्न गरिन्, ‘ओली सरकारलाई औँला ठड्याउनेहरु अहिले के मा व्यस्त हुनुहुन्छ ?’
उनले यौटै पानी जहाजमा यात्रा गर्नेहरुलाई विना विभेद जनताले विश्वास गरेको तर तिनीहरुले आफै सवार जहाजमा प्वाल पारेर जहाज नै डुबाइदिएको भन्दै उनले त्यस्ता प्रवृत्ति भएकाहरुले अर्को जहाज पनि डुबाउँदैनन् भन्ने के ग्यारेन्टी छ भनेर प्रश्नसमेत गरिन् ।



फेसबुक प्रतिक्रियाहरु