बाकु — युरो २०२० मा डेनमार्कको अद्वितीय यात्रा कायम छ । यसलाई ‘परीको कथा’ भन्न सुहाउँछ । चेक गणतन्त्रलाई हराएर डेनमार्क सेमिफाइनल पुगेको छ । प्रतियोगिताको पहिलो खेलमै हृदयघातका कारण आफ्ना प्रमुख खेलाडी क्रिस्टियन एरिक्सनलाई गुमाएको डेनमार्कले त्यसयताका खेलमा आफूलाई अझ बलियो साबित गरेको छ, कम्तीमा मानसिक पक्षमा ।
युरो २०२० को क्वार्टरफाइनलमा चेक गणतन्त्रलाई जितेपछि डेनमार्क टोली । डेनमार्कले अन्तिम १६ मा वेल्सलाई पन्छाएको थियो भने अन्तिम आठमा चेकले तेर्साएको कडा चुनौती पार गरेको थियो । बुधबार डेनमार्कले वेम्बलीमा इंग्ल्यान्डको सामना गर्नेछ । त्यो खेलको नतिजा कस्तो होला त ? हामी यसबारे अनुमानमात्र गर्न सक्छौं । कम्तीमा यत्ति भन्न सक्छौं, डेनमार्क फेरि एक अर्को ‘परीको कथा’ बुनिरहेको छ ।
लगभग तीन दशक भइसकेको छ । जतिबेला डेनमार्कले युरो १९९२ जितेको थियो, त्यो पनि अचम्मै तरिकाले । डेनमार्क प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएको थिएन, तर युगोस्लाभियालाई प्रतियोगिताबाट हटाइएपछि डेनमार्कले खेल्न अवसर पाएको थियो । त्यतिबेला डेनमार्कले खेलेरमात्र होइन, उपाधि नै जितेर देखाइदियो ।
सायद यस्तै कथा दोहोरिन सक्छ । फिनल्यान्डविरुद्धको डेनमार्कको पहिलो खेल ४१ मिनेटमात्र के पुरानो भएको थियो, एरिक्सन मैदानमै ढले । यो खेल जारी राख्न डेनमार्कलाई सजिलो थिएन, तर बाध्यता थियो । उसले खेल मात्र गुमाएन, यसपछाडि दोस्रो खेलमा बेल्जियमसँग पराजित रह्यो ।
लगतै रुसलाई प्रभावशाली ढंगले हराएर टिम नकआउट चरण पुगेको थियो, त्यो पनि भाग्यले साथ दिएपछि । आखिरमा यसअघि युरोमा कुनै पनि टिमले सुरुआती दुई खेल गुमाएर दोस्रो चरण पुगेको कसैलाई थाहा थिएन । अहिले यही टिम सेमिफाइनल पुगेको छ । यहाँतिर प्रशिक्षक कास्पर हिजुलमन्ड भन्छन्, ‘हामी प्रत्येकपल्ट एरिक्सनका लागि खेलिरहेका छौं ।’
फेसबुक प्रतिक्रियाहरु