२२ वैशाख, काठमाडौँ । कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञाको आदेश जारी गरिएको जिल्लाको संख्या ५२ पुगेको छ ।
कोरोना संक्रमण बढ्दै गएपछि ४० जिल्लाका जिल्ला प्रशासन कार्यालयले पूर्ण र १२ जिल्लाकाले निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञाको आदेश जारी गरेका हुन् ।
बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, बर्दिया, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा जिल्लामा जिल्लाभर लागू हुने गरी निषेधाज्ञाको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै झापा, गुल्मी, प्युठान, बाजुरा, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोल्पा, डोटी, नवलपरासी पूर्व, रोल्पा, मुगु, बारा, सिराहा र नवलपरासी पश्चिममा पनि जिल्लाभर निषेधाज्ञा छ ।
मन्त्रालयका अनुसार तनहुँ, म्याग्दी, ताप्लेजुङ, रामेछाप, स्याङ्जा, कालीकोट, मकवानपुर, गोरखा, काभ्रेपलाञ्चोक, मोरङ, दार्चुला र बागलुङमा निश्चित क्षेत्र तोकेर निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
बुधबार बिहानदेखि महोत्तरी, रोल्पा, मुगुमा पूर्ण निषेधाज्ञा जारी गरिएको छ भने तनहुँ र म्याग्दीमा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ ।
म्याग्दीको बेनी नगरपालिका क्षेत्रभित्र वैशाख २२ गते राति १२ बजेदेखि आउँदो वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरिएको छ । बुधबारदेखि नै तनहुँको ऋषिङ गाउँपालिकाको वडा नम्बर २, ३, ४,५, ६,७ र ८ वडामा आंशिक रुपमा निषेधाज्ञा लागू गरेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय बारा र सिराहाले वैशाख २३ गतेदेखि विहान ६ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा लागू हुने जनाएको छ । यस्तै रोल्पामा पनि बुधबारदेखि लागू हुनेगरी पूर्ण निषेधाज्ञा लागू गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु