अरुलाई बदल्न जति असहज वा असंभव हुन्छ, आफुलाई बदल्न उत्तिनै सहज हुन्छ । अरुलाई राम्रो बनाएर संसार राम्रो देखिने होइन । आफु राम्रो भएपछि संसार राम्रो देखिने हो । अर्थात बस्तुलाई आफ्नो रुची अनुरुपको रंगमा बदल्ने होइन, बरु आफ्नो हेराई बदल्ने हो ।
हामी अक्सर गुनासो गर्छौं, ‘फलानोले यसो ग¥यो, उसो ग¥यो ।’ अर्काको व्यवहार र विचारबाट हामी कहिले खुसी त कहिले दुखी भइरहेका हुन्छौं ।
धेरैजसो त हामी अरुबाट बढी अपेक्षा राख्छौं । अरुलाई आफु अनुकुल बनाउने प्रयास गर्छौं । अरुले के गर्छ, के भन्छ, के सोच्छ, त्यसमा सरोकार राख्छौं । हो, यही कुराले हामीलाई दुखी तुल्याउँछ । निरास तुल्याउँछ । किनभने संसारमा कुनैपनि व्यक्ति हामीले सोचेजस्तो हुन सक्दैन ।
हामी आफुलाई जसरी सोच्छौं, उसले पनि उसको जीवनलाई त्यसैगरी सोचेको हुन्छ । उसको निम्ती हामी अनुकुल हुन सक्दैनौ भने अरुबाट हामीले किन त्यस्तो अपेक्षा राख्ने ?
अब हामी आफैलाई बदलेर हेरौं । सबै कुरा राम्रो देखिनेछ । सबै राम्रो लाग्ने छ ।
हामी के कुरामा जोड दिन्छौं भने, मेरो सबै समस्याहरु सल्टाउन पाइयोस् । मेरो समस्या सबैले बुझे हुन्थ्यो । मेरो समस्या समाधानका लागि सबैले सहयोग गरे हुन्थ्यो ।
अब यही कुरा हामी अर्काको आँखाबाट हेरौं । फालनोको समस्या मैले बुझिदिनुपर्छ । फलानोको समस्या समाधानका लागि मैले पहल गरिदिनुपर्छ । हो, यो ढंगले हामी कहिल्यै सोच्छौं ।
हामी सधै आफुलाई केन्द्रमा राखेर सोच्छौं । त्यही कारण अरुबाट हामी केही न केही अपेक्षा गरिरहेका हुन्छौं । तर, अरुको पनि आफ्नै समस्या हुन्छन्, आफ्नै अप्ठ्यारा हुन्छन् । उनीहरुलाई आफ्नै समस्याले घेराबन्दीमा पारेको हुन्छ । त्यस्तो अवस्थामा हामी आफ्नो मात्र कुरालाई महत्व दिएर सोच्नु बेकार हुन्छ ।
हाम्रो नराम्रो बानी भनेको, अरुलाई दोष दिने हो । आफ्नो काम ठिक ढंगले सम्पन्न भएन, आफुले सोचेजस्तो सबैकुरा ठिकठाक भएन भने हामी अरुलाई दोष दिन्छौं । अरुप्रति नकारात्मक धारणा बनाउँछौं ।
तर, हामी आफ्नो लागि हामी आफै दोषी हुन्छौं ।
संसारका सबै मानिसको व्यवहार, बुझाई, हेराई एकनास हुँदैन । मैले जुन कुरालाई राम्रो देखें, त्यो कुरालाई उसले पनि त्यही दृष्टिले हेर्नुपर्छ भन्ने छैन । मैले कुनैपनि कुरालाई जसरी बुझें, त्यो कुरालाई उसले पनि त्यसरी नै बुझ्नुपर्छ भन्ने छैन । तर, हामी के चाहन्छौं भने, मैले जे देखें, जसरी बुझें त्यही अनुरुप अरुले पनि बुझ्नुपर्छ । यो गलत धारणा हो ।
मानिसको सोंच, सोच्ने तह, धरातल अलग हुन्छ । हामीले त्यसलाई बदल्न सक्दैनौं ।
आफुलाई बदल्ने एउटै कडी भनेको आफु सकारात्मक रहने हो । सबैप्रति समान दृष्टिकोण र धारणा राख्ने हो ।
संसारमा कोही पनि कहिले पनि पूर्ण हुन सक्दैन । तर, अपूर्ण हुँदैमा निरास हुनुपर्ने केही छैन । अपूर्ण हुँदैमा सबै कुरा तहसनहस हुने पनि होइन । जे, जति उपलब्ध छ, त्यसैमा रमाउनुपर्छ । जे छ, त्यसमै सन्तुष्ट गर्नुपर्छ ।
सबै कुराप्रति सकारात्मक दृष्टि र सोंच राख्नुपर्छ । यसले हामीलाई कहिल्यै दुखी हुन दिनेछैन ।
फेसबुक प्रतिक्रियाहरु