राजविराज : कोरोनाको लक्षण देखिएकी १८ साताकी एक गर्भवती महिलाको मंगलबार बिहान मृत्यु भएको छ। अत्यधिक ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याले ग्रसित सप्तरीको कञ्चनरुप-११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवतीको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार गर्भवतीलाई होम क्वारेन्टाइनमा सुरक्षित बस्न पठाइएको थियो ।
अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला मृत्यु भएको परिवारका सदस्यले बताए । उनलाई १० दिनदेखि ज्वरो आइरहेको थियो ।
गर्भवती महिलालाई १ सय२ डिग्री ज्वरो आएपछि परिवारका सदस्यले गत बिहीबार राजविराज ल्याएर उपचार गराएका थिए । डा. विनिता यादवको क्लिनिकमा उपचार गराएकी उनलाई पाँच दिनपछि पुन परीक्षणका लागि बोलाइएको थियो ।
चिकित्सकले पिसाबको संक्रमण (यूटीआई) को औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । वैशाख २८ गते उनको घरबाट नन्दको विवाह समेत भएको छ ।
कोरोना संक्रमणसित मिल्ने लक्षणहरु देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बर महतोले बताए ।
महतोले मृतकको स्वाब संकलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्नु उपयुक्त हुने बताए । शव व्यवस्थापन निर्देशिका अनुसार दाह संस्कार गर्न वा स्वाब परीक्षणको पीसीआर रिपोर्टको प्रतिक्षा गर्न घरपरिवारसँग सल्लाह गरिने उनले बताए ।
गर्भवतीले वैशाख २५ गते प्राथमिक स्वास्थ्य केन्द्रमा खोप समेत लगाएकी थिइन् । विवाह दर्ता र नागरिकता समेत नबनाएकी मृतकको साढे पाँच वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । अन्नपूर्णपोष्टबाट
फेसबुक प्रतिक्रियाहरु