युवाजति रोजगारीका लागि भारत तथा अन्य देश जाँदा डडेल्धुराका धेरै गाउँ सुनसान छन् । दसैँ-तिहारबाहेक अन्य समयमा गाउँघरमा वृृद्धवृृद्धा, महिला र बालबालिका मात्रै देखिन्छन् । एसईई दिएर यहाँका धेरै युवा रोजगारीको खोजीमा भारत जान्छन् । उनीहरू दसैँ-तिहारको समयमा मात्रै घर फर्किने गर्छन् ।
जिल्लाको अजयमेरु गाउँपालिका-३ गुनपालका भानबहादुर मल्ल पनि लामो समय भारतमा बिताएर अहिले घरमै छन् । भारत रहँदा उनले विभिन्न सीप सिके । अहिले त्यही सीप प्रयोग गरेर घरमै रमाइरहेका छन् ।
मल्ल २०६१ सालमा रोजगारीका लागि भारत छिरेका थिए । परिवार पाल्न भारत पसेका उनी १५ वर्ष बसेपछि घर फर्किएका हुन् । गत वर्ष घर आएका उनी भारतमा रहँदा मोटरसाइकलको कम्पनीमा काम गर्थे । मोटरसाइकलसँगै उनले त्यहाँ ‘गव्य धुप’ बनाउन पनि सिके ।
भारतमा हुँदा विभिन्न साधुसन्तुको संगत गरेका मल्लले पञ्चगव्य (गाईको गोबर, गौँत, घ्यू, दही, दूध) र विभिन्न जडीबुटीकाे प्रयाेगसम्बन्धी ज्ञानसमेत हासिल गरेका छन् ।
हरियाणाको गूडगाउँमा कार्यस्थल बनाएका उनी भारतीय ‘गौ क्रान्ति’ मन्चको सदस्यसमेत भए । विदेशमा सिकेको सीप उनी आजभोलि गाउँघरमै उपयोग गर्दै छन् ।
अहिले मल्ल बिहानदेखि साँझसम्म गव्य धुप बनाउनमै व्यस्त हुन्छन् । भारतीय कम्पनीमा काम गर्दा उनको आम्दानी राम्रै थियो । त्यहाँ रहँदा उनले मासिक ३२ हजार नेपाली कमाउँथे । कमाइ ठीकै भए पनि उनलाई त्यहाँ काम गर्ने मन भने पटक्कै थिएन ।
मालिकले हेप्ने, होच्याउने गर्दा उनलाई असह्य पीडा हुन्थ्यो । मल्लले भारत गएको ६/७ वर्षमा ‘गव्य धुप’ बनाउन सिकिसकेका थिए । बिदामा घर आएको बेला उनी घरका लागि धुप बनाउँथे । आफूले बनाएको धुप गाउँका अन्य साथीभाईलाई समेत दिन्थे । गत वर्ष उनले आफूले बनाएको धुप अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेशप्रसाद भट्टलाई पनि दिए ।
मल्लले बनाएको धुप गाउँपालिका अध्यक्ष भट्टलाई मनपर्याे । सीप स्वदेशमै उपयोग गर्नुपर्छ भनेर अध्यक्ष भट्टले उनलाई अगाडि बढ्न प्रोत्साहन गरे । उनको प्रोत्साहनले गर्दा अहिले मल्ल घरमै धुप बनाउन ब्यस्त छन् ।
‘गव्य धुप’ गाईको गोबर, घ्यू, गौत, जौँ, तिल, तुलसी, गुग्गल, तितेपाती, जटामाशी, धुपजडी, नरपाते धुप, देबद्ध्यार, कपुर, बोझो, सिम्मे र काउलो तथा विभिन्न जडीबुडीबाट बनाइन्छ । गाईपालन गरेर व्यावसायिक रूपमा गव्य धुप बनाउन थालेको मल्ल बताउँछन् ।
‘यो धुप विभिन्न धार्मिक कार्यक्रममा समेत प्रयोग गर्न सकिन्छ । पवित्र रूपमा लिइने ‘गव्य धुप’ मठमन्दिर, पितृ कार्य, विवाह, व्रत, पूजा कोठा, जन्मदिन तथा विभिन्न शुभ कार्यमा अति उत्तम छ’, उनले भने ।
धुप बनाउने उपकरण नहुँदा समस्या
घरेलु तथा गाउँपालिकामा उनले उद्योगसमेत दर्ता गरिसकेका छन् । आफूले बनाएको धुपको बजारबाट राम्रो प्रतिक्रिया पाएको उनले सुनाए ।
‘बजारबाट राम्रो प्रतिक्रिया पाइरहेको छु । तर, मसँग धुप बनाउने कुनै उपकरण छैनन् । गव्य धुपमा प्रयोग हुने सबै जडीबुटीको धुलो बनाई हातले नै धुप बनाउन थालेको छु’, मल्लले भने, ‘अहिले हामी परिवारका सदस्य मात्रै धुप बनाउँदैछौँ । बजारमा माग बढिरहेको छ । अब मेसिन ल्याएर थुप्रैलाई रोजगारी दिने उद्देश्य छ ।’
कोरोनाका कारण भारतबाट मेसिन ल्याउन समस्या भइरहेकाले उद्योगलाई विस्तार गर्न समस्या भइरहेको उनको भनाइ छ ।
‘धुप बनाउनका लागि आवश्यक पर्ने कतिपय सामग्री उच्च हिमाली भेगमा मात्रै पाइन्छ । उताबाट मगाउनुपर्ने भएकोले कोरोनाका कारण समस्या भएको छ । अहिले हिमालतिर बस्ने साथीहरूले सहयोग गर्दै आएका छन्’, उनले भने ।
‘गाउँपालिकाले प्रोत्साहन गर्छ’
अहिले डडेल्धुराका स्थानीय तहले युवा लक्षित कार्यक्रम ल्याइरहेका छन् । विदेशमा सिकेको सीप आफ्नै ठाउँमा प्रयोग गरिरहेका मल्ललाई अजयमेरु गाउँपालिकाले सहयोग गर्ने भएको छ ।
‘हामीहरू बेरोजगार युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याउँदै छौँ । विदेश गएका युवा आफैँ आएर गाउँठाउँमा काम गरिरहेको खबर सुन्नु हाम्रा लागि खुसीको खबर हो’, गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले भने, ‘गाउँपालिकामा स्थापना भएका साना उद्योगलाई हामी प्रोत्साहन गर्छौं ।’
मल्लले गाउँमै राम्रो कामको सुरुवात गरेको बताउँदै अध्यक्ष भट्टले बजार व्यवस्थापनमा सहयोग गरिरहेको बताए । उनले मल्ललाई उद्योग विस्तारका लागि समेत सामग्री सहयोग गर्ने बताए ।
अहिले दिनहुँ युवा विदेश जाने क्रम चलिरहेको छ । तर, मल्ल भने युवालाई विदेश नजान आग्रह गर्दन् । विदेश गए पनि सीप सिकेर आफ्नै ठाउँमा काम गर्नुपर्ने उनको सुझाव छ । आफू पनि बेरोजगार भएर विदेश गएको बताउँदै मल्लले विदेश जानुभन्दा आफ्नै ठाउँमा काम गर्न आग्रह गरे ।
‘पैसाको पछि लाग्नुभन्दा आफ्नै ठाउँमा केही गरेर देखाउँछु भनेर काम गर्नुपर्छ । बिरानो देशमा आपतविपद्मा समेत कोही सहयोग गर्दैनन् । ज्यानको पनि जोखिम हुन्छ’, उनले भने, ‘ज्यान जोखिममा राखेर काम गर्नुभन्दा आफ्नै ठाउँमा धेरथाेर कमाउँदा सन्तुष्ट हुन जरुरी छ । अर्काको भूमिमा गएर रगत, पसिना बगाउनुभन्दा आफ्नै भूमिमा रगत पसिना बगाउनु उचित हुन्छ ।’
फेसबुक प्रतिक्रियाहरु