मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ ।
सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो ।
तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ ।
सरकारले लकडाउन गरेको बेला स्थानीयहरुलाई अत्यावश्यक कामहरु बाहेक अन्य क्रियाकलाहरु नगर्न निर्देशन दिएको भएपनि बाजुराको बुढीगंगा नगरपालिकामा भने राष्ट्रिय दादुरा–रुवेला खोप विरुद्धको अभियान चलाइएको छ ।
सरकारले कोरोनाको जोखिम बढीरहेका बेला २५ जना भन्दा बढीलाई एकै ठाउँमा भेला गराउन निशेध गरेको छ । तर बुढीगंगा नगरापलिका ७ स्थित झाली बर्थिङ्ग सेन्टरमा ८९ जना बालवालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप लगाईएको पाईएको छ ।
हिजो सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दास्रो चरणको राष्ट्रिय दादुरा रुवेला खोप अभियान चैत्र मसान्तसम्मका लागि स्थगित गरेको जनाएको थियो ।
स्वास्थ्य कार्यालय बाजुराले बाजुराका ९ वटै स्थानीय तहमा जन्मेको ९ महिना देखी ५ बर्ष सम्मका वर्ष १८ हजार २ सय ६ जना बालवालिकालाई खोप लगाउने तयारी गरेको थियो ।
सरकारले कोरोना भाईरसको संक्रमण हुन नदिन मंगलबारबाट देशैभरका जिल्लामा लकडाउन गरेपछि बाजुराका ९ वटा स्थानीय तहमा संचालन भईरहेको दादुरा रुवेला खोप अभियान समेत प्रभावित भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामा चैत्र १ देखि सूरु भएको खोप अभियान जिल्लाका ५ वटा स्थानीय तहमा यस अघि नै सकिएको थियो । त्यसैगरी चैत्र ९ देखि स्वामीकार्तिक गाउँपालिका र बुढीगंगा नगरपालिकामा खोप अभियान चलिरहेकोे स्वास्थ्य कार्यालय बाजुराले बताएको छ ।
लकडाउनकै कारण बाजुराका ९ वटा स्थानीय तहमा मध्ये हिमाली गाउँपालिका र बुढीनन्दा नगरपालिकामा खोप अभियान चैत्र महिनाको लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु