होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, भदौ २८, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • नक्सा पारित गरेपछिको दायित्व
देश/प्रदेश

नक्सा पारित गरेपछिको दायित्व

  • नागरिक रैबार
नक्सा पारित गरेपछिको दायित्व
मन्त्रिपरिषद्वारा पारित भई सोमबार जारी लिम्पियाधुरासमेत समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेको विषय आफैंमा सकारात्मक छ । तर यही नै पूर्ण उपलब्धि होइन ।

अहिले मानचित्र मात्र आएको हो, अतिक्रमित भूमि होइन । अहिलेको निर्णयलाई त्यसका निम्ति गरिएको प्रयत्नको प्रस्थानविन्दु भने मान्न सकिन्छ ।

भारतले छ महिनाअघि नेपाली भूभागसमेत आफ्नो सीमाभित्र पारी नयाँ नक्सा जारी गरेको सन्दर्भमा नेपालले पनि आफ्नो पूर्ण र शुद्ध नक्सा निकाल्नुको महत्त्व छ । राजनीतिक र प्राविधिक दृष्टिकोणले मात्र होइन, भावनात्मक हिसाबले पनि यसको माने हुन्छ । मुलुकभित्र यसलाई लागू गर्न तत्कालै संविधानमा निशाना छाप बदल्न संविधान संशोधनको प्रस्ताव संसद्मा लगेर पारित गर्नुपर्छ ।

विज्ञापन

सरकारी कागजात र शैक्षिक संस्थाका पाठ्यक्रममा यही नक्सा समावेश गरिनुपर्छ । आन्तरिक आत्मविश्वासका लागि यो काम अर्थपूर्ण भए पनि मूल मुद्दा भने अतिक्रमित भूमिबाट भारतलाई फिर्ता पठाउनु नै हुनुपर्छ । त्यसका लागि गर्नुपर्ने काम भनेको फेरि पनि प्रभावकारी गृहकार्य र परिणाम आउने कूटनीतिक पहल नै हो ।

भारतले अहिलेसम्म यस मामिलालाई यथावस्थामै राखिरहन चाहेको र तद्नुरूप नै उदासीनता देखाइरहेको पृष्ठभूमिमा अब मुलुकको राजनीतिक नेतृत्वले नै निर्णायक अगुवाइ लिन आवश्यक छ ।

दशकौंदेखि भारतको नियन्त्रणमा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत उक्त भूभागसम्बन्धी विवादको खास चरण बल्ल सुरु भएको देखिन्छ । पहिले कति कारणले हो, पञ्चायतकालका शासकहरूले यस मुद्दालाई उठाउँदै उठाएनन् । २०४६ पछि प्रजातान्त्रिक कालमा दुई देशबीचको कूटनीतिमा यो विषयले प्रवेश पाए पनि खास मुद्दा बन्न सकिरहेको थिएन ।

नेपालले यसलाई निरन्तर रूपमा उठाइरहन नसक्नुको परिणाम नै उक्त भूभागमा भारतको मनलागी बढेको हो । पाँच वर्षअघि लिपुलेकलाई नयाँदिल्ली र बेइजिङले द्विपक्षीय व्यापारिक नाका बनाउन सुटुक्क सहमति गरेका थिए भने अहिले भारतले त्यही भूभाग भएर चीनतर्फ जाने मोटरमार्गको उद्घाटन गरेको छ । नेपालको कूटनीतिक अक्षमता र यहाँको राजनीतिक नेतृत्वको अनिच्छा वा लाचारीपनकै कारण भारतले यसरी निर्धक्क, अनवरत ढंगबाट नेपाली भूभाग कब्जा गर्न सकेको हो । पछिल्लो समय विकसित घटनाक्रम र मुलुकभित्र नागरिकस्तरको निरन्तर खबरदारीले गर्दा अब यो मुद्दा एक कदम अघि बढेको देखिन्छ ।

प्रमाणका आधारमा आफ्नो हात तल भएकाले हुन सक्छ, भारतले लिम्पियाधुरा-कालापानी मामिलामा अहिलेसम्म ठोस वार्ताका लागि रुचि देखाएको छैन । विश्वशक्ति बन्ने आकांक्षा बोकेको क्षेत्रीय शक्तिले छिमेकीको सीमा जबर्जस्ती मिचिरहनु र त्यो विवादलाई वार्ताबाट हल गर्न नचाहनुले उसको अन्तर्राष्ट्रिय छवि पनि राम्रो बन्दैन ।

सन् २०१४ मै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका दौरान दुई मुलुकबीचको सीमा समस्यालाई परराष्ट्र सचिवस्तरीय संयन्त्रले वार्ता गरेर समाधान गर्ने सहमति भए पनि त्यसमा कुनै प्रगति भएको छैन । पछिल्लोपटक दिल्लीले नयाँ राजनीतिक नक्सा जारी गरेपश्चात् नेपालले दुईपटक सचिवस्तरीय वार्ताको मिति प्रस्ताव गरे पनि उसले प्रत्युत्तर दिएको छैन । आफैंले सिर्जेको द्विदेशीय विवादका विषयमा भारत यसरी वार्ताबाट भागिरहन पाउँदैन ।

भारत वार्ताबाट पन्छिन खोजे, नेपालसामु यो विषयलाई अन्तर्राष्ट्रिकरण गरेर लैजाने ढोका सदैव खुला छ । यद्यपि सुरुमै त्यो विकल्पतर्फ नगई द्विपक्षीय वार्ताबाटै समस्या हल गर्न चाहेको नेपालको सकारात्मक भावलाई भारतीय नेतृत्वले ग्रहण गर्नुपर्छ । भारतको सरकार मात्र होइन, त्यहाँका अरू राजनीतिक शक्ति र नागरिकस्तरले पनि यसतर्फ ध्यान दिनुपर्छ, नेपाली पक्षले पनि उनीहरूसित आवश्यक पैरवी गर्न जरुरी छ । देशको भूगोल, जनसंख्या र सामरिक-आर्थिक शक्ति सानो-ठूलो जे भए पनि स्वाधीनता र सार्वभौमिकता सानो-ठूलो हुँदैन, विश्वकै सबभन्दा ठूलो लोकतन्त्रले यो तथ्यलाई हृदयंगम गरी छिमेकी मुलुकसित सारभूत वार्ताका निम्ति इच्छा देखाउनैपर्छ ।

अहिले सडक खनिएको विषयमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर उक्त क्षेत्रमा काम अघि नबढाउन भारत सरकारसित आग्रह गरे पनि दिल्लीले जवाफी विज्ञप्ति निकाली आफ्नै भूमिमा बाटो बनाएको दाबी गरेको छ । त्यहाँको राजनीतिक परम्पराविपरीत भारतीय सेना प्रमुख मनोज मुकुन्द नरावणेले नेपालले अरू कसैको इसारामा पिथौरागढ-लिपुपेक सडक निर्माणको विरोध गरेको गम्भीर आरोप लगाएका छन् । यस्तो अभिव्यक्ति आपत्तिजनक छ तर यसकै भरमा द्विदेशीय सम्बन्ध र संवादमा कुनै असर पर्नु हुँदैन । पछिल्लो समय भारतले कोभिड-१९ को संक्रमण सकिएपछि वार्ता गर्न सकिने जवाफ दिएको छ । भौतिक वार्ता यो संक्रमणको एक खाले किनारा लागेपछि गर्न सकिए पनि तयारीस्वरूप भर्चुअल संवाद थाल्न ढिलाइ गर्नुपर्ने कारण छैन । त्यसमा केही बाधक हुन सक्छ भने त्यो दुवै देशको राजनीतिक इच्छाशक्ति मात्रै हो । समस्याको मारमा नेपाल परेकाले यसको खास पहल काठमाडौंले नै गर्नुपर्छ र दिल्लीले नसुनेझैं गर्नु हुँदैन ।

नेपालले भारतसँगका सबै सीमा विवाद र वर्तमान समस्या सुल्झाउने विषयलाई द्विपक्षीय कूटनीतिको प्राथमिक कार्यसूचीमा राखी वार्ता अगाडि बढाउनुपर्छ । तयारीका लागि परराष्ट्र मन्त्रालय तहको छलफल आवश्यक पर्ला तर विषयको गाम्भीर्यको हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीले नै यसमा पहल लिनुपर्छ । प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री मोदीसँगै यस विषयमा संवाद गरी उक्त क्षेत्रमा भारतीय गतिविधि रोक्ने एवम् अन्ततः भूमि नै फिर्ता ल्याउने गरी निर्णायक वार्ताका लागि पहल गर्नुपर्छ । र, उचित नतिजाका निम्ति दह्रो ढंगले आफ्ना आधार-प्रमाणहरू राख्दै वार्ताको टेबलमा बस्नुपर्छ ।

सन् १८१६ को सुगौली सन्धिलगायत उपलब्ध अधिकांश ऐतिहासिक आधार, प्रमाण एवं दस्ताबेजहरूका अनुसार महाकाली नदीवारिको कालापानी क्षेत्र नेपाली भूभाग हो भन्नेमा कुनै द्विविधा छैन । नेपाल र भारतबीचको पश्चिमी सीमा महाकालीले छुट्याउँछ, जुन नदीको उद्गमविन्दु लिम्पियाधुरा हो । तर भारतले अतिक्रमण गरेका कारण उक्त क्षेत्रबाट उसलाई हटाउन हामीले प्रमाण पुर्‍याउनुपर्ने आवश्यकता छ ।

सुगौली सन्धि, तत्कालीन समयमा नेपालीले नै गरेको जनगणना, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रका बासिन्दालाई भारत सरकारले नेपालमा तिरोभरान गर्नू भनेका हस्तलिखित पत्र र त्यहाँका नागरिकले सन् १९७३ मा मालपोतमा तिरो तिरेको रसिदको प्रमाणहरू उक्त भूभाग नेपालको भएका प्रमाण हुन् । यी सबैको व्यवस्थित संग्रह गरिनुपर्छ ।

यस्ता अरू आधार र प्रमाणहरू हाम्रो राष्ट्रिय प्रणालीमा कति छन्, जुटाइनुपर्छ । राष्ट्र संघलगायत बेलायतजस्ता मुलुकका संग्रहालय तथा पुस्तकालयमा कति छन्, खोजिनुपर्छ । र, तीसम्बन्धी तर्क तथा प्रस्तुतिका लागि सरकारी तहमा भएका जनशक्तिलाई प्रशस्त तयारी गर्न लगाइनुपर्छ । सरकारी प्रणालीबाहिर भएका विज्ञहरूको पनि आवश्यक सहयोग लिइनुपर्छ । राष्ट्रिय स्वार्थको यस विषयलाई सबैले व्यक्तिगत, संस्थागत र दलगत अहम्भन्दा माथि राख्नुपर्छ । सरकार खुला दिलले सबैको सहयोग लिन तयार रहनुपर्छ, अरूले त्यहीअनुसार सघाउनुपर्छ ।

पछिल्लो समय भारतीय रक्षामन्त्री राजनाथ सिंहले उक्त भूभागमा चीन जोड्ने सडक उद्घाटन गरेपछि यो विषयमा जटिलता थपिएको छ । त्यसैले यससम्बन्धी समस्या समाधानका लागि चीनसित पनि पत्राचार गर्न आवश्यक भैसकेको छ । त्यस्तो पत्राचार नेपाली भूमिबाट भारतलाई हटाउन गुहार्ने उद्देश्यले होइन कि, उक्त क्षेत्रमा भइरहेका भारतीय गतिविधि र योजनामा चीन पनि जोडिन आइपुग्नु हुँदैन भन्ने अर्थमा हुनुपर्छ ।

यसै पनि, पाँच वर्षअघि भारत र चीनले लिपुलेकलाई द्विपक्षीय व्यापारिक नाका बनाउने सम्झौता गरेपश्चात् उक्त क्षेत्रमा त्रिदेशीय सीमाविन्दु पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ । त्यसैले यसका लागि नेपालले चीनसित पनि सार्थक संवाद गर्नुपर्छ । र, उक्त विन्दु तीन देशबीचको परम्परागत, व्यापारिक एवं धार्मिक नाकाका रूपमा विकास गर्न पनि सकिन्छ कि भन्नेबारे त्रिदेशीय संवाद गर्नेतर्फ पनि सोच्नुपर्छ ।

यसैबीच यो मामिलालाई लिएर मुलुकभित्र दुई कोणबाट छुट्टाछुट्टै अतिवादी दृष्टिकोण पनि सुनिन थालेका छन् । छिटपुट रूपमा सुनिएका भए पनि यी दुवै प्रवृत्ति अत्यन्त घातक छन् । एउटा, भारतले जे गरे पनि उससित कुनै प्रतिवाद गर्नु हुँदैन, खालि ‘त्वं शरणं’ गर्नुपर्छ भन्ने खालको छ । भारतीय थिचिमिचोविरुद्ध बोल्नु नै हुँदैन भन्ने आशयको यस्तो कुलबैरी धारणाप्रति हामी सबै सचेत रहनुपर्छ ।

व्यक्तिविशेषलाई स्वाभिमान गुमाएर दास हुन रहर होला, समग्र नेपालीलाई यस्तो कुरा मञ्जुर हुन सक्दैन, हाम्रो गौरवपूर्ण इतिहासले पनि त्यस्तो सिकाउँदैन । अर्को, समस्या समाधानका लागि भारतसित लड्नभिड्न पनि पछि पर्नु हुँदैन र सीमामा खुकुरी बोकेर गइहाल्नुपर्छ भन्ने किसिमको अतिवादी धारणा छ । यस्ता प्रस्तुतिहरू लोकरञ्जक हुन सक्छन्, यिनले सर्वसाधारणमा अनावश्यक उत्तेजना र आवेग उत्पन्न गराउन पनि सक्छन् ।

तर यस्ता अतिवादी विचारले सारमा कुनै परिणाम दिँदैनन्, उल्टो प्रत्युत्पादक भई यसबाट मुलुकले क्षति बेहोर्नुपर्ने हुन सक्छ । तसर्थ, सबै नेपालीले विचार पुर्‍याउनुपर्छ- भारतसित समस्या सुल्झिने भनेको पद्धतिगत कूटनीतिक तवरबाट मात्रै हो । र, मुलुकले त्यही बाटो रोज्नुपर्छ । राष्ट्रिय महत्त्वको मुद्दा भएकाले यस विषयमा मुलुकका सबै दल तथा शक्ति, नागरिक समाजलगायतका विभिन्न तह र तप्कामा आम सहमतिको खाँचो छ ।

त्यही आम एकताको बलमै सरकारले आत्मसम्मानपूर्वक नयाँदिल्लीसित वार्ता गरी तथ्य र प्रमाणका आधारमा आफ्नो प्रस्तुतिलाई बलियो बनाई अतिक्रमित भूमिबाट भारतलाई फिर्ता पठाउनुपर्छ । र, मानचित्रमा मात्र होइन, राजनीतिक भूगोलमा पनि उक्त भूभाग आफ्नै नियन्त्रणमा ल्याउनुपर्छ । कान्तिपूरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • १२ घन्टा अगाडि