काठमाडौं । बबरमहलस्थित आफ्नै निवासमा फ्रान्सका लागि पूर्व नेपाली राजदूत केशवराज झाको हत्या भयो । ०७५ भदौ ४ मा उनको शवलाई प्रहरीले छुनुअघि घटना अनुसन्धान गर्न कुकुर परिचालन गरियो । नेपाल प्रहरीको केनाइन महाशाखाबाट ‘जोली’ नामको कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । त्यहाँ १० वर्षदेखि सेक्युरिटी गार्डको काम गर्दै आएका सानुकान्छा तामाङलाई जोलीले पछ्यायो । सानुकान्छा हिँडेको पाइला, झ्यालबाट हाम्फालेको तथ्य संकेत गर्दै जोली उनी बस्ने ‘गार्ड रुम’ सम्म पुग्यो । तर, जोली घरको कम्पाउन्ड बाहिर गएन ।
सुरुमा हत्या अस्वीकार गर्ने सानुकान्छा पछि स्वीकार्न बाध्य भए । काठमाडौं जिल्ला अदालतले पनि जोलीले गरेको ‘संकेत’लाई प्रमाणको रुपमा स्वीकारेको छ ।
‘कुकुरले गरेको संकेतलाई नेपालको अदालतले प्रमाणको रुपमा स्वीकार गरेको सो घटना पहिलो हो,’ नेपाल प्रहरी केनाइन महाशाखाकी प्रमुख डा. देउती गुरुङले भनिन्, ‘कुकुरले रहस्यम घटनाको सफल अनुसन्धान गर्दै आएको छ ।’
प्रहरीले ०७५ मा बेलारुसबाट साढे ६ लाखमा ल्याएको जोली ब्लड हाउण्ड जातको कुकुर हो । पोथी कुकुर जोली अनुसन्धानमा अझै भरपर्दो सारथी बन्दै छ । अनुसन्धानमा प्रयोग गरिने मध्ये ब्लड हाउण्ड जातको कुकुर अब्बल मानिन्छ । डा. देउती गुरुङका अनुसार ब्लड हाउण्डले ३ दिनअघिको घटना पनि पत्ता लगाउन सक्छ । ‘ब्लड हाउण्डमा सुँघ्न सक्ने क्षमता अरु कुकुरमा भन्दा बढी हुन्छ ।’
०७७ भदौ २० मा ललितपुरस्थित लेलेको जंगलमा गीता केसीको शव भेटियो । सो घटनाको अनुसन्धानमा खटिए, जर्मन सेफर्ड जातका दुई कुकुर डिजे र प्रिन्स । प्रहरीले प्रिन्सलाई ‘विकल्प’मा राखेर डिजेलाई घटना अनुसन्धानमा परिचालन गरेको थियो ।
‘कुकुरले सुँघेर झाडीमा फालेको मृतकको पर्स भेट्टायो’ महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने, ‘पर्समा मृतकको परिचयपत्र रहेछ, त्यसपछि हामीले शव पहिचान गरेका थियौं ।’
३९ वर्षीय गीता केसी अल्का अस्पतालको कर्मचारी रहेको परिचयपत्रबाट खुलेपछि अनुसन्धान थप सहज भयो । हत्यामा संलग्न उनका भतिज निर्मल केसीलाई प्रहरीले पक्रियो ।
डिजे र प्रिन्स प्रहरीले नेपालमै ब्रिडिङ गरेका कुकुर हुन् । जर्मन सेफर्ड जातका यिनीहरुले २४ घण्टा क्रस नभएका घटना मात्रै अनुसन्धान गर्छन् । ‘सो जातको कुकुरले २४ घण्टा भित्रको घटनामा मात्रै सुँघ्ने क्षमता राख्ने हुनाले त्यो भन्दा पुरानो घटनामा उनिहरुलाई परिचालन गर्दैनौं,’ ‘प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. देउती गुरुङ भन्छिन् ।
उत्कृष्ट ‘जोजो’
नेपाल प्रहरीले हरेक तिहारमा कुकुरको भव्य पूजा र कला प्रदर्शनी गर्दै आएको छ । तर, यसपटक आन्तरिक रुपमा सामान्य पुजा गरिने बताउँछिन्, केनाइन महाशाखाकी प्रमुख डा.गुरुङ । कोरोना संक्रमण जोखिमका कारण ‘डग कला’ प्रदर्शनी रोकिएपनि प्रहरीले डग अफ दि ईयर चाहिँ घोषणा गरेको छ । यस वर्ष जोजोलाई डग अफ दि इयर घोषणा गरिएको डा. गुरुङले रातोपाटीलाई बताइन् ।
गोंगबुस्थित नवज्योती मार्गमा फेला परेको रोल्पाका कृष्णबहादुर बोहराको हत्या अनुसन्धान जोजोले गरेको थियो । ०७७ साउन २४ मा बोहराको शवको मुख्य भाग सुटकेशमा भेटियो, टाउको र खुट्टा थिएन् । तालिमप्राप्त ‘ट्रयाकर डग’ जोजोले सुटकेशदेखि ३ सय मिटरको दूरीमा रहेको टाउको र खुट्टा पत्ता लगाइछाड्यो ।
‘गोंगबुमा ट्रयाकर डग परिचालन नगरेको भए हामीलाई टाउको र खुट्टा खोज्न समय लाग्थ्यो’ महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा भन्छन्, ‘कुकुरले टाउको भेट्टाएपछि सो हत्या अनुसन्धान सहज बन्यो ।’
शव र टाउको फेला परेको भोलिपल्ट प्रहरीले हत्यामा संलग्न चितवनकी कल्पना पौडेल (मुडभरी)लाई पक्रियो ।
जोजो ब्लड हाउन्ड जातिको कुकुर हो । प्रहरीले यो कुकुर बेलारुसबाट साढे ६ लाखमा खरिद गरेको थियो । ४ वर्षअघि किनेर ल्याउँदा उसको उमेर ४ महिनाको थियो । डेढ वर्ष लामो तालिम लिएपछि यसले अन्य कुकुरको सहायक भएर अनुसन्धानमा सहयोग गर्न थाल्यो । अहिले आफैं ठूला–ठूला अपरेसनमा परिचालित हुन्छ ।
जोजोका ह्याण्डलर प्रहरी नायव निरीक्षक (सई) शंकर घिमिरे पनि पुरस्कृत भएका छन् । प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्रीले घिमिरेलाई पुरस्कृत गरेका हुन् ।
डा. देउती गुरुङ जोजो निकै क्षमतावान् रहेको बताउँछिन् । डा. गुरुङले भनिन्, ‘सुँघ्न सक्ने क्षमता ब्लड हाउन्डमा अधिकतम हुन्छ, यसको नाकमा ३०० मिलियन सेल्स हुन्छ, ९६ घण्टाको ट्रयाक लिन्छ ।’
अनुसन्धानमा ९६ कुकुर
अपराध अनुसन्धानका लागि नेपाल प्रहरीसँग अहिले विभिन्न ८ प्रजातिका कुकुर छन् । ०२६ मा केही प्रहरी अधिकृतलाई मलेसियामा डग ट्रेनिङमा पठाइएको थियो । पछि, ०३२ मा नेपाल प्रहरीमा केनाइन महाशाखा स्थापना गरेर कुकुरलाई तामिल दिन थालियो ।
महाशाखासँग अनुसन्धानका लागि ९६ वटा कुकुर छन् । काठमाडौंमा ४२ वटा कुकुर छन् । त्रिभुवन विमानस्थल, धरान, विराटनगर, लालगढ, हेटौंडा, पोखरा, कोहलपुर र धनगढीमा अनुसन्धानमा परिचालित हुने तालिम प्राप्त कुकुर छन् ।
‘जनकपुर र रुपन्देही विमानस्थलमा पनि कुकुर शाखा विस्तार गर्दै छौं,’ डा. देउतीले भनिन् ।
सुँघ्ने क्षमता उच्च रहेको ब्लड हाउण्ड प्रजातिका २ कुुकुर प्रहरीसँग छ । ब्लड हाउण्डलाई दक्षिण एसियामै नेपाल प्रहरीले मात्र अपराध अनुसन्धानमा प्रयोग गरिरहेको छ । अमेरिकाको ह्वाइट हाउसको सुरक्षामा ब्लड हाउण्ड परिचालन गरिन्छ ।
अनुसन्धान गर्ने कुकुरको रेखदेखमा ह्याण्डलर खटिन्छन् । अनुसन्धानमा अब्बल क्षमता देखाउने कुकुरका लागि दुई जनासम्म ह्याण्डलर हुन्छन् ।
तालिम प्राप्त कुकुरलाई रासन र औषधोपचारको सुविधा हुन्छ । एउटा कुकुरले दैनिक ६ सय ग्राम रासन पाउँछ । तर, जोजो जस्ता ठुला कुकुरले दैनिक १ किलो देखी १२ सय ग्रामसम्म खान्छन् । जर्मन सेफर्डलाई पनि दैनिक ६ सय ग्रामले पुग्दैन ।
विष्फोटक पदार्थ अनुसन्धानमा ‘रुरु’
नेपाल प्रहरीसँग बेल्जियन सेफर्ड जातको एउटा कुकुर छ, त्यो हो, ‘रुरु ।’ सानो आकारको रुरु अनुसन्धानमा राम्रो मनिन्छ । बेल्जियन सेफर्डले अनुसन्धानमा विश्वमै जर्मन सेफर्ड र ल्यवराडोरलाई रिप्लेस गर्न थालिसकेको छ ।
नेपाल प्रहरीले रुरुलाई सर्भियाबाट साढे ५ लाख तिरेर ल्याएको हो । लामो समय नथाक्ने रुरु विष्फोटक पदार्थ अनुसन्धानमा अब्बल मानिन्छ ।
रहस्यपूर्ण घटनाबाहेक काठमाडौं उपत्यकामा हुने चोरी, डकैती तथा अपहरण पश्चात भएका हत्याका घटनामा कुकुर परिचालन गर्ने गरिएको नेपाल प्रहरी केनाइन महाशाखाले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु