होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दशैँका लागि उपत्यकामा ६ करोड रुपैयाँ बराबरको खसी–बोका ल्याउने तयारी
समाचार

दशैँका लागि उपत्यकामा ६ करोड रुपैयाँ बराबरको खसी–बोका ल्याउने तयारी

  • नागरिक रैबार
दशैँका लागि उपत्यकामा ६ करोड रुपैयाँ बराबरको खसी–बोका ल्याउने तयारी

काठमाडौं । गत वर्षहरुमा जस्तै यसपाली पनि सरकारले उपत्यकावासीलाई दशैँमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको छ । सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस पटक ६ करोड रुपैयाँ बराबरको खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउने भएको हो ।

यस पटक खाद्यले तीन हजार वटा खसीबोका तथा च्याङ्ग्रा ल्याउने तयारी गरेको छ । यसका लागि खाद्यले अनुमानित ५ करोड ९९ लाख ८६ हजार रुपैयाँ बजेट छुट्याएको छ ।गत वर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल ५ करोड ९८ लाख ८२ हजार रुपैयाँ बजेट छुट्याएको थियो । जसमा कम्पनीले १४०० वटा खसी–बोका र १६०० वटा च्याङ्ग्रा ल्याएको थियो ।
यस वर्ष पनि उपत्यकावासीलाई सोही परिमाणमा खसी–बोका र च्याङ्ग्रा उपलब्ध गराउने गरी चालु आर्थिक वर्षको बजेट पारित गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका नायव प्रवन्ध निर्देशक श्रीमणि खनालले रातोपाटीलाई बताए ।

लामो समयदेखि खाद्य कम्पनीले उपभोक्तालाई खाद्यान्नका साथै दशैंमा सुपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा समेत उपलब्ध गराउँदै आएको छ । यस पटक पनि सोही कार्यक्रमलाई निरन्तरता दिन लागिएको नायव प्रवन्ध निर्देशक खनालको भनाइ छ ।

विज्ञापन

यस पटक कात्तिकमा दशैं परेका कारण खाद्यले खसी–बोका पनि ढिलै ल्याउने तयारी गरेको छ । प्रायः घटस्थापनाको अघिल्लो दिन काठमाडौंमा खसी–बोका ल्याउने खाद्यले यस पटक पनि सोही दिनलाई टार्गेट गरेर योजना बनाइरहेको खाद्य कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपाने अधिकारीले बताइन् । तर खरिद तथा संकलन प्रक्रिया भने १५ दिन अघिदेखि नै हुने न्यौपानेको भनाइ छ ।

न्यौपानेका अनुसार दाङ, तुलसीपुर, हेटौंडा र नेपालगञ्ज लगायतका स्थानबाट काठमाडौंमा खसी–बोका ल्याउने गरिएको छ । तर च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइने उनले बताइन् । यस वर्ष सम्भव भएसम्म नजिकका क्षेत्रबाट ल्याउने, नभए तिनै क्षेत्रबाट भए पनि खसी–बोका तथा च्याङ्ग्रा ल्याउने उनको भनाइ छ ।

गत वर्षको तुलनामा मूल्यमा खासै फरक नपर्ने
बर्षेनी दशैंमा उपभोक्ताहरुलाई सूपथ मूल्यमा खसी–बोका तथा च्याङ्ग्रा उपलब्ध गराउँदै आएको खाद्यले गत वर्षको तुलनामा यस वर्ष मूल्यमा खासै फरक नपर्ने बताएको छ ।
कोभिड–१९ कै बीच पनि संकलन र ढुवानीमा समस्या नपर्ने र खाद्य आफैले कृषकको घरघरबाट खसी–बोका संकलन गर्ने हुँदा महँगो नपर्ने सूचना अधिकारी न्यौपानेले रातोपाटीलाई बताइन् । तर अहिले नै खरिद नभइसकेकाले के कति पर्ने हो सो भने अहिले नै यकिन गर्न नसकिने उनको भनाइ छ ।

त्यसो त खसी–बोकाको मूल्य सो क्षेत्रका प्राथमिक खरिद–विक्री मूल्य निर्धारण समितिले निर्धारण गरिसकेपछि मात्र खाद्यले खरिद गर्ने गर्छ । उक्त समितिमा उत्पादक कृषकदेखि सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारी र सरोकारवाला निकायहरुका प्रतिनिधिहरु रहने गर्छन् । यस पटक सो समितिले मूल्य निर्धारण नगरिसकेकाले बजार मूल्य यकिन नभएको न्यौपानेको भनाइ छ । उपभोक्ताले तोकेको मूल्यमा बाटो खर्च र विविध व्यवस्थापन खर्च समेत जोडेर बजार मूल्य निर्धारण गर्ने गरिएको छ ।

गत वर्ष खाद्यले खसी–बोका प्रतिकेजी ५ सय ६० रुपैयाँ र च्याङ्ग्रा प्रतिकेजी ७ सय ४० रुपैयाँमा उपभोक्ताहरुलाई उपलब्ध गराएको थियो, जुन बजार मूल्यभन्दा प्रतिकेजी १०–१५ रुपैयाँसम्म सस्तो थियो ।

व्यापारमा कोभिड–१९ ले समस्या नपार्ने दावी
हाल मुलुकमा कोभिड–१९ को प्रकोप बढे पनि परापूर्वकालदेखि मान्दै आएको संस्कृतिका कारण दशैंको साख नघट्ने खाद्यको बुझाइ छ । सोही कारण बजारको माग र पूर्तिमा समेत कमी नहुने खाद्यका नायव प्रवन्ध निर्देशक श्रीमणी खनाल बताउँछन् ।

‘खाद्यको २० वर्षभन्दा लामो इतिहासमा उपभोक्ताहरुलाई विशेष चाडवार्डको अवसरमा विशेष छुटसहितको सुपथ मूल्यको पसल तथा खसी–बोका उपलब्ध गराउँदै आएको छ । त्यो यस वर्ष पनि जारी रहने छ,’ नायव प्रवन्ध निर्देशक खनालले भने, ‘कोभिडका कारण मुलुकमा समस्या भए पनि परापूर्वकालदेखि मान्दै आएको धर्म–संस्कृतिमा विचलन आउने देखिँदैन । त्यसैले यस पटक पनि हामीले उपभोक्ताहरुलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउने कार्यक्रमलाई जारी राख्ने योजना बनाएका छौं ।’

त्यसो त असहज परिस्थितिमा पनि खाद्यान्न, खसी–बोका तथा च्याङ्ग्राको संकलन, ढुवानी तथा विक्रीवितरणमा समस्या नआउने खाद्यको अनुमान छ । दशैंकै लागि भनेर खाद्यले यस पटक दाल, चामलका साथै जुम्लाको सिमी र तेलको समेत व्यापार बढाउने योजना बनाएको छ । तर दशैं लक्षित सुपथ मूल्यका पसलहरु भने कति र कहाँकहा राख्ने भन्ने यकिन भइनसकेको सूचना अधिकारी न्यौपानेले रातोपाटीलाई बताइन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै