काठमाडौँ — कोरोना महामारीका कारण लकडाउन अवधिमा देशभरका ४१ प्रतिशत महिलाले रोजगारी गुमाएका छन् । रोजगारी तथा व्यावसायिक क्षेत्रहरू बन्द हुँदा आयस्रोत गुमाएका महिलाहरूको यो संख्या पुरुषको तुलनामा बढी हो ।
यूएनडीपीको सहयोगमा इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलभमेन्ट स्टडिज (आईआईडीएस) ले तयार पारेको रिपोर्टअनुसार उक्त अवधिमा २८ प्रतिशत पुरुषले रोजगारी गुमाएका छन् ।
‘महिलाहरू कोभिड महामारीले अधिक प्रभावित छन् किनकि उनीहरू काम गर्ने होटल, रेस्टुराँ, आतिथ्य, थोक तथा खुद्रा व्यापारहरूमा कोभिडले प्रभावित पारेको छ, ती सेवा क्षेत्रहरू बन्द छन्,’ रिपोर्टमा भनिएको छ । आईआईडीएसले नेपालमा सामाजिक तथा आर्थिक क्षेत्रमा कोरोनाले पारेको असरबारे अध्ययन गरेको हो । सर्भेमा देशैभरका हिमाली, पहाडी र तराईका २७ जिल्लाका ११ सय सहभागी थिए । दैनिक ज्याला मजदुरी गर्ने ७ सय र ४ सय साना तथा लघु व्यवसायी र उद्यमीहरूलाई सर्भेमा सहभागी गराइएको थियो ।
केन्द्रीय तथ्यांक विभागको सन् २०१७/१८ को श्रमशक्ति सर्वेक्षणअनुसार नेपालमा काम गर्ने उमेर समूहका (१५ वर्षमाथि) झन्डै २ करोड ७ लाख जनसंख्या छ । जसमध्ये ५५.६ प्रतिशत महिला पर्छन् । काम गर्ने उमेर समूहका करिब ७१ लाख जनसंख्या रोजगारी तथा श्रम बजारमा सहभागी छन् । जसमा महिला सहभागिता ४६.२ प्रतिशत छ । रोजगारीमा पुरुषको तुलनामा महिलाको संख्या कम भए पनि रोजगारी गुम्नेमा धेरै रहेको अन्तरपुस्ता महिलावादी समूहको प्रतिनिधि एवम् श्रम तथा रोजगारविज्ञ सरु जोशी बताउँछिन् । ‘मैले थुप्रै महिला समूहसँग कुराकानी गरेको छु, बेरोजगार भएर बस्नुपरेको छ, गाह्रो भयो भन्नुहुन्छ,’ उनले भनिन् ।
उनका अनुसार सरकारले यौन व्यवसायलाई वैधानिक रोजगारीका रूपमा स्वीकार नगरेको भए पनि यो क्षेत्रका ५५ हजार महिला बेरोजगार भएर बसेका छन् । मधेसी, मुस्लिमलगायत समुदायमा वैदेशिक रोजगारीमा गएका पुरुषहरू फर्केपछि झनै समस्या बढेको छ । परिवार घरैमा थुनिएर बस्नुपर्दा महिलाहरूलाई हिंसाको जोखिमसमेत बढेको छ । ‘बिनापारिश्रमिक महिलालाई घरायसी खर्च व्यवस्थापन गर्न चुनौती छ, यसले शारीरिक तथा मानसिक हिंसाको जोखिम छ । धेरै महिलाको हिंसा आर्थिक कारण नै हो, यसले दूरगामी असर पार्छ,’ जोशीले भनिन् ।
निजी विद्यालयका ३ हजार शिक्षकले जागिर गुमाए
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले संगठित तथा सरकार नियन्त्रित रोजगार संस्थामा रोजगारी गुमाउनुपर्ने खासै समस्या नभए पनि अनौपचारिक र स्वरोजगार क्षेत्रमा कार्यरत ठूलो संख्याका महिलाले रोजगारी गुमाउनुपरेको छ । ‘घर र रोजगारीको दोहोरो जिम्मेवारी बहन गर्नुपर्ने महिला आर्थिक संकटमा छन्,’ उनले भने, ‘कोभिडले भन्दा पनि भोकले मर्नुपर्ने अवस्था छ ।’
रोजगारदाताहरूले पुरुषलाई प्राथमिकतामा राख्छन् । श्रम शोषण गर्ने मौका पाउँदा मात्रै महिलालाई राख्छन् । उनीहरू घरपरिवार र समाजबाटै दमित हुनुपर्ने संरचनाले गर्दा रोजगारदाताले सजिलै हटाउँछन् । उनीहरू प्रतिवाद गर्न सक्दैनन् । अध्यक्ष श्रेष्ठका अनुसार श्रृंगार तथा ब्युटिपार्लरमा काम गर्ने ९० प्रतिशत महिला बेरोजगार छन् । टेम्पो चलाएर जीविका धान्नेहरू शतप्रतिशत बेरोजगार छन् । निर्माण क्षेत्रमा पनि उस्तै समस्या छ ।
स्वरोजगार बनेकाहरूको लगानी डुबेको छ, ऋणको ब्याज र घर भाडा तिर्न नसक्दा रोजगारी क्षेत्र परिवर्तन गर्नुपर्ने अवस्था आइसकेको छ । हालको मन्दी अवस्थाले रोजगारी क्षेत्र परिवर्तन गरिहाल्ने सम्भावना छैन । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले पनि असंगठित क्षेत्रमा काम गर्ने महिलाहरूको रोजगारी गुमेको बताए । ‘तत्काल राहत उपलब्ध गराउन सरकारलाई पटक–पटक भनेका छौं, तर सरकारले सुनेन,’ उनले भने ।
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि कार्यक्रम, राष्ट्रपति उत्थान कार्यक्रमहरू कार्यान्वयन गरेको छ । तर गहिरो विश्लेषण नगरिने हुँदा लक्षित वर्गका महिलालाई यी कार्यक्रमले छुँदैन ।
फेसबुक प्रतिक्रियाहरु