जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ ।
‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् ।
बूढीनन्दा नगरपालिका–१, दैया मूल बाटोमा रहेकाे सामूहिक चिहानमा उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षाफौजले माओवादीकाे आरोपमा घरबाटै लगेर २०५९ वैशाखमा गगनलगायत नाै जनालाई गोली हानी हत्या गरेको थियो । अलपत्र शवहरूलाई गाउँलेले पानीको धाराछेउमै सामूहिक चिहान बनाएर गाडेका थिए ।
साबिकको जगन्नाथ गाविसबाट माओवादी वेशभूषामा आएका शाही नेपाली सेनाको टोलीले अभियानमा जाऊँ भनेर २३ युवालाई घरबाट ल्याएर माओवादी आरोपमा गोली हानी हत्या गरेको थियो । दैयाको पुलमा नाै जना मारिएका थिए भने आठ जनालाई केही पर एयरपोर्टछेउ लाइन लगाएर गोली ठोकिएको थियो । छ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरिएको थियो ।
बाजुराको यो हत्याकाण्डलाई द्वन्द्वकालमा सुदूरपश्चिम प्रदेशकै ठूलो ज्यादतीका रूपमा लिइन्छ । सो घटनामा एउटै लुमा गाउँका १३ दलित युवाको सामूहिक हत्या भएको थियो । १० जना अन्य वडाका बासिन्दा थिए ।
उक्त हत्याकाण्डपछि जगन्नाथको रूपै फेरिएको गाउँका अगुवा बताउँछन् । ‘धेरैको वंशनाश भयो । कतिपय बालबालिका टुहुरा भए । विधवाको बिचल्ली भयो’, सो घटनाबाट उम्किन सफल लालबहादुर विष्टले घटना सम्झिँदै भने, ‘बाँचेकाले यति हेर्न पाइयो । मेरो त दोस्रो जुनी हो ।’ त्यति ठूलो हत्याकाण्डको अहिलेसम्म न राम्रो अनुसन्धान हुन सक्यो । न त कसैलाई कारबाही नै भयो । पीडितले न्याय पाउने आशा मारिसकेका छन् ।
दैया हत्याकाण्डमा मारिने अधिकांश लुमाको सार्की समुदायका थिए । जयसुर सार्की, मनरूप, रूप, कृष्ण, काला, सेते, गगने, मोती, परू, अभिलाल, बिसे र धनमल सार्कीको हत्या गरिएको थियो । सोही गाउँका गगन विष्ट, शेरबहादुर विष्ट, सत्धन विश्वकर्मा, कमान लोहार, गम विष्ट र धने कामीलगायत मारिएका थिए ।
बूढीनन्दा नगरपालिका–२ का वसन्त रेग्मीको परिवार वर्षौंदेखि दोहोरो तनावमा छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीले उनका बुबाको हत्या गर्याे । बुबा ताराचन्द्रको टाउकाको खप्पर अहिले पनि तत्कालीन एमालेको पार्टी कार्यालयको दराजमै थन्क्याइएको छ । न्याय तथा छानबिन प्रक्रियाको पनि अत्तोपत्तो नहुँदा परिवार दोहोरो तनाव झेलिरहेको छ ।
श्रीमान्को हत्या घटनामा न्याय पाउने आशाले वसन्तकी आमा शान्ताले २० जेठ २०७३ मा सदरमुकाम मार्तडी आएर स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरिन् । समितिमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी संकलन गरेकाले न्याय पाउने आशा उनमा जागेको थियो । तर, उजुरीपछि अहिलेसम्म छानबिन तथा न्याय प्रक्रियाको कुनै अत्तोपत्तो नभएपछि परिवारलाई निराश बनेकाे छ । ‘न्यायका लागि अब त भगवान भराेसा भन्ने लाग्छ । हेराैँ के हुन्छ’, छोरा वसन्तले भने ।
शान्ताका श्रीमान् ४० वर्षीय ताराचन्द्र तत्कालीन एमाले जिल्ला उपसचिव थिए । माओवादी कार्यकर्ताले उनलाई २३ फागुन २०६० मा कुल्देवमाडाैंको मौरेबाट अपहरण गरेर हत्या गरेका थिए । एमालेले आफ्नो पार्टी कार्यालयको दराजमा वर्षाैंदेखि मृतक रेग्मीको खप्पर थन्क्याएकै छ ।
जगन्नाथ- ४, लुमाका द्वन्द्वकालमा मारिएकाे छोराको शाेकमा रहेकी आमा र परिवार ।
माओवादीले चन्दा नदिएको, कोल्टीमा सेना राख्न लगाएको लगायत आरोप लगाइएका रेग्मीलाई १२ चैत २०६० मा ‘सफाया’ गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । परिवारले केही दिनसम्म शवको आस गरे पनि नपाएपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्याे ।
दोस्रो जनआन्दोलनको सफलता र शान्ति प्रक्रिया सुरु भएपछि एमाले सचिव रहेका कर्णबहादुर थापा २०६३ मा पार्टी कार्यक्रमका क्रममा छतारा गाविसमा पुगे । स्थानीयको सहयोग लिएर उनले शव गाडिएको स्थान पत्ता लगाए । यकिन भएपछि अन्य पार्टी कार्यकर्ताको सहयोगमा आफैँले चिहान खोतले ।
नेकपा कार्यकर्ता रामबहादुर बानियाँले भने, ‘खोतल्दै जाँदा अस्थिपञ्जरका साथ शान्ति र प्रजातन्त्रका लागि जनअभियान लेखिएको कपडासमेत भेटियो । त्यही खप्पर बोकेर मार्तडी फर्कियौँ ।’ अहिले तत्कालीन माओवादी र एमालेको एकता भई नेकपाकाे सरकार बनेकाे छ । तर, बर्बर हत्याकाण्डमा ज्यान गुमाएका लुमा गाउँका दलित र एमाले नेता रेग्मीलाई न्याय दिलाउन भने कुनै पहल भएको छैन ।
‘कहिले पाइएला न्याय ?’
स्वामीकार्तिक खापर गाउँपालिका– ४, छापु गाउँका शिवनाथ एक दिनको पैदल हिँडेर द्वन्द्वमा बेपत्ता भाइ खोज्न छ वर्षअघि सदरमुकाम मार्तडी आए । कान्छो छोरा हेर्न नपाई आमाको मृत्युपछि किरियामा बसेका बेला द्वन्द्वकालीन घटनाको अभिलेख बुझाउने सूचना सुनेपछि उनी भाइको खोजी गर्न सदरमुकाम आएका थिए । तर, उनले अहिलेसम्म न्याय पाएका छैनन् ।
५ जेठ २०६० मा माअोवादी कार्यकर्ताले उनलाई घरबाट लगेका थिए । केही महिनापछि उनका भाइ धर्मनाथ भूमिगत भएको घोषणा गरे । त्यसपछि तीन पटकसम्म उनी घर आउजाउ गरे । तर पछि उनको कुनै अत्तोपत्तो भएन । माओवादीले परिवारलाई कुनै जानकारीसमेत दिएन ।
बेपत्ता भएका धर्मनाथकी आमाको मृत्यु भइसकेको छ । ‘कान्छो छोराको अनुहार हेर्न नपाई सास जाने भो भनेर आमा रुनुहुन्थ्यो । त्यही चिन्ताले आमालाई कमजोर बनायो र लग्यो’, शिवनाथले भने, ‘आमाले अन्तिममा अर्ती दिँदा भाइको सास वा लास खोजी गर्नू भन्नुभएको थियो । आमाको इच्छा मैले पूरा गर्न सकेको छैन ।’ बाजुरामा द्वन्द्वकालमा मृत्यु भएका १ सय ५३ जनामा समेत उनको नाम छैन । बेपत्ताको सूचीमा पनि उनको नाम देखिन्न ।
सो गाउँबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा १४ जनाले मात्र उजुरी दिएका छन् । तत्कालीन स्थानीय शान्ति समितिले राखेको विवरणअनुसार मृत्यु हुनेको संख्या १ सय ५४ देखिन्छ । विस्थापित १ सय ११ जना, सम्पत्ति क्षति पुगेका १ सय १३ जना, अपहरणमा दुई जना, अंगभंगका नामा ४५ जनाले राहत लिएका छन् । तर, बेपत्ता हुनेको भने कुनै लगत छैन ।
नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) मा चार जना बेपत्ता भएको लगत बुझाएको थियो । तीमध्ये एक भारत गएका भेटिएका छन् । अन्य तीन जना अझै बेपत्ता नै छन् । रेडक्रसमन्त्री रमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा साबिक वाई गाविस- ९ का धर्मनाथ, साप्पाटा- ९ का रिनारी विक र गोत्री- ४ का कालीबहादुर बम छन् ।
फेसबुक प्रतिक्रियाहरु