शुक्रबार काठमाडौं उपत्यकासँगै देशभर दैनिक गणनाका आधारमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित भेटिए । उपत्यकामा एक हजार ६ सय ३८ गरी देशभर २ हजार ७ सय २२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ । यसरी संक्रमण दिन प्रतिदिन बढ्दै जाँदा सक्रिय संक्रमितको ग्राफ पनि उकालो लाग्दै गएको छ । हालसम्म कोरोनाभाइरस (कोभिड–१९) का सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ पुगेको छ । काठमाडौंमा उपत्यकामा मात्र सक्रिय संक्रमित १२ हजार ६ सय ६७ जना छन् ।
स्वास्थ्य मन्त्रालयमा असोज ७ गते इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सक्रिय संक्रमितको संख्या २५ हजार पुगेपछि सरकार मातहतका अस्पतालले उपचारको व्यवस्थापन गर्न नसक्ने भन्दै त्यो अवस्थामा पुनः बन्दाबन्दी गर्नुपर्ने सिफारिस सरकारलाई गर्ने निर्णयसमेत गरेको थियो ।
जबकि असोज १२ गते काठमाडौंमा मात्रै सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार ४ सय ५९ थियो भने भक्तपुरमा ९ सय १९ र ललितपुरमा १ हजार ५० जना थिए । असोज १७ गते शुक्रबारसम्ममा उपत्यकामा सक्रिय संक्रमितको संख्या साढे १२ हजारभन्दा बढी पुगेको छ ।
कोरोना संक्रमण दर तीव्र गतिमा फैलिएमा अबको करिब १० दिनको अवधिमा सक्रिय संक्रमित संख्या २५ हजार पुग्ने अनुमान लगाउन सकिन्छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगेसँगै लकडाउनलाई निरन्तरता दिन सरकारलाई सिफारिस गर्ने मन्त्रालयको सो निर्णयलाई अब जनस्वास्थ्य नियमावलीले पनि थप सहयोग गर्नेछ ।
सरकारले असोज ६ गते जारी गरेको जनस्वास्थ्य नियमावलीमा प्रदेश सरकार र स्थानीय तहले पनि विभिन्न कारणले विपतको अवस्था सिर्जना भएमा जनस्वास्थ्य विपत् घोषणा गर्नसक्ने व्यवस्था गरेको छ । जस्तै संक्रामक रोगहरूको महामारी, सूक्ष्म जीवाणु आतंक, आकस्मिक वा अप्रत्याशित विपतको अवस्था सिर्जना भएमा जनस्वास्थ्य विपत् घोषणा गर्न पाउने अधिकार स्थानीय तथा प्रादेशिक सरकारलाई दिइएको छ ।
७ महिनाको अवधिमा सरकारले पहिलो पटक गरेको लकडाउन बाहेक अन्य समयमा गरिएको निषेधाज्ञामा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको थियो । सक्रिय संक्रमित २५ हजार पुगे पनि आगामी दिनमा लकडाउन नदोहो-याउन उद्योगी व्यवसायीहरूले आग्रह गर्दै आएका छन् ।
शुक्रबार नै राष्ट्रिय व्यावसायिक पहल (एनबिआई) उद्योगी व्यवसायीहरूको एक प्रतिनिधिमण्डलले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर पुनः लकडाउन नदोहो¥याउन अनुरोध गरेको छ । लकडाउनका कारण व्यावसायिक क्षेत्र धरासायी बनेको भन्दै उनीहरुले मुलुकले अब बन्दाबन्दी थाम्न नसक्ने जिकिरका साथ विकल्प खोज्न सरकारलाई आग्रह गरेका हुन् ।
सबै खालका व्यवसाय धरासायी बनेको बेला अर्थतन्त्रलाई जोगाउन सरकारलाई अल्पकालीन तथा दीर्घकालीन योजना बनाएर अगाडि बढ्न उनीहरुले सुझावसमेत दिएका छन् ।
राज्यले सक्रिय संक्रमित बढ्दैमा लकडाउनलाई समस्या समाधानको रुपमा हेर्न नहुने सरुवा रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘लकडाउन गरेपछि पहिला नै सरकारले संक्रमण बढ्न नदिन अस्पताल, आइसोलेशन, आइसियु, भेन्टिलेटरको व्यवस्थापन गर्न सक्नुपर्थ्यो,’ उनले भने, ‘लामो समयको बन्दाबन्दीका बाबजुद यी तयारी नगरी संक्रमण घटाउनका लागि लकडाउनलाई नै जादुको छडी मान्दा संक्रमण समुदायस्तरमा पुग्यो ।’
अब पनि सरकारले कोरोनाभाइरस संक्रमितको पहिचान, उपचार र नियन्त्रणका लागि लकडाउन नै एकमात्र उपाय हो भनेर यसैलाई निरन्तरता दिएमा जनताले विश्वास नगर्ने उनी ठान्छन् । सक्रिय संक्रमितहरूको व्यवस्थापन र नियन्त्रणका लागि लकडाउनलाई राज्यले अवसरका रुपमा सदुपयोग गरेको खण्डमा भने संक्रमण दर घट्न सक्ने उनको भनाइ छ ।
‘लकडाउन किन गर्ने भन्नेबारे सरकार आफै प्रष्ट हुन जरुरी छ, आइसियु, भेन्टिलेटर, आइसोलेशन कति छ र बन्दाबन्दीमा कति थप्ने, लक्षणसहितका संक्रमितलाई कहाँकहाँका अस्पातालमा सहजरुपमा उपचार सेवा दिने भन्ने बारेमा पनि सरकार प्रष्ट हुनुपर्छ,’ उनले भने ।
संक्रमित बढ्न नदिनका लागि परीक्षणको दायरालाई समुदायस्तरमै फराकिलो बनाउने तथा संक्रमितको अवस्था हेरेर अस्पताल तथा होम आइसोलेशनमा बस्ने व्यवस्था मिलाउनु पर्नेमा उनको जोड छ ।
यस अतिरिक्त सरकारले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउनुपर्ने उनी बताउँछन् । जहाँ जहाँ सक्रिय संक्रमितको संख्या बढी छ, त्यहाँ शिल गरेर समुदायमा कोरोना संक्रमण सरे-नसरेको पत्ता लगाउनपर्ने बेला आएको उनले प्रष्ट पारे । उनले भने, ‘मानौं कि संक्रमित बिरामीका कारण ८० प्रतिशत आइसियु, भेन्टिलेटर र आइसोलेशन भरिएका छन् भने १०० प्रतिशत बिरामी पुगेपछि थपौँला भनेर राज्य बस्न हुँदैन ।’
सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । ‘आगामी दिनमा आइसियु, आइसोलेशन, भेन्टिलेटर थपेरमात्र भएन,’ उनले भने, ‘कुन–कुन अस्पतालमा ती पूर्वाधार थपेको हो, कहाँ–कहाँ खाली छ भन्ने बारेमा जानकारी दिनुपर्छ, धेरै संक्रमित दीर्घरोगी, वृद्धवृद्धाको अस्पताल चहार्दाचहार्दै ज्यान गयो ।’
लक्षणविहीन संक्रमित धेरै भएकाले हरेक अस्पतालमा उपचारका लागि आउने बिरामीमा थाहा नपाइकन संक्रमण हुन सक्ने भएकाले सबै अस्पतालले कोरोना संक्रमितको उपचार गर्न जरुरी हुने उनको भनाइ छ ।
कोरोना संक्रमण समुदाय तहमा फैलिएको मान्न राज्य तयार नभए पनि घरभित्र सीमित दीर्घरोगी, वृद्धवृद्धामा धमाधम संक्रमण देखिन थालेपछि हरेक व्यक्तिलाई शंकाको दृष्टिले हेर्नुपर्ने सरुवा रोग विशेषज्ञ डा. अधिकारी सुनाउँछन् ।
यस्तै कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या बढेको छ । शुक्रबारसम्म देशभर २ सय ३९ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । २९ जना भेन्टिलेटर र २ सय १० जना संक्रमित आइसियुमा उपचाररत छन् ।
बागमती प्रदेशमा आइसियुमा संक्रमितको संख्या १ सय ८ जना पुगेको छ भने २२ जना भेन्टिलेटरमा छन् । यस्तै प्रदेश १ मा २४ जना आइसियु र दुई जना भेन्टिलेटरमा उपचाररत छन् । प्रदेश २ मा १७ जना आइसियु र एक जना भेन्टिलेटरमा छन् । गण्डकी प्रदेशमा ६ जना आइसियुमा उपचाररत छन् । प्रदेश ५ मा ४१ जना आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत छन् भने कर्णाली प्रदेशमा १५ जना आइसियुमा उपचाररत छन् । सुदुरपश्चिममा एक जना कोरोना संक्रमितको आइसियुमा उपचार भइरहेको छ ।
पछिल्ला दिनमा वृद्धवृद्धा तथा दीर्घरोगीहरूमा कोेरोना संक्रमण फैलिँदा र लक्षणसहितका बिरामी बढ्न थालेसँगै भेन्टिलेटर र आइसियु बेडको अभाव हुन थालेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपत्यका लगायत देशका विभिन्न भागमा तीव्र रुपमा संक्रमित थपिँदा राज्यसँग ठोस कार्यविधि छैन ।
सक्रिय संक्रमित उच्च भएका निश्चित ठाउँमा शिल गर्ने अवस्था आउन सक्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी बताउँछन् । २५ हजार सक्रिय संक्रमित पुगे पनि लकडाउन गर्ने योजनामा मन्त्रालय नरहेको उनले बताए । स्वास्थ्य मन्त्रालय भेन्टिलेटर थप्ने प्रक्रियामा रहेको उनी सुनाउँछन् ।
फेसबुक प्रतिक्रियाहरु