प्रधानमन्त्रीज्यू, अभिवादन ! हाम्रा हँसिला तथा रसिला प्रधानमन्त्री तपाईं केपी शर्मा ओलीले पटक–पटक भन्दै आउनुभएको छ कि अब कोही नेपाली भोकै मर्दैनन् । चुनावताका पोखरामा भएको कार्यक्रममा त झन् जनताका लागि जाबो भात त ओछ्यानमै पुर्याइदिने भाषण गर्नुभएको थियो ।
आजको मितिमा जब–जब सडकमा भात खान नपाएर मानिसहरू सरकारलाई गाली गरिरहेको देख्छु, मलाई प्रधानमन्त्रीज्यूको त्यही ‘भाते सपना’को याद आउँछ । त्यो एउटा यस्तो भाते सपना थियो, जसले करोडौं भोका पेटमा आशा जगाएको थियो, करोडौं पापी पेटहरू धर्मात्मा बन्न खोज्दै थिए ।
त्यसैले होला, गरीबको पापी पेटले बेला–बेला प्रधानमन्त्रीज्यूको सम्झना गर्ने गर्छ । अझ यो लकडाउनको समयमा त प्रधानमन्त्रीज्यूलाई नसम्झिने प्रायः कमै होलान् । सडकमा एकछाक भातको खोजीमा डौडिरहेका ती तमाम रैतीहरूको तर्फबाट मैले हजुर समक्ष यो बिन्ती पत्र चढाएको छु ।
प्रधानमन्त्रीज्यू, धेरैको पेट यतिखेर भोकसँगको लडाइँमा जुधिरहेको छ । ठट्टा नै सही तिनले जनताको लागि भात त ओछ्यानमै पुर्याइदिन्छु भन्ने तपाईंको महान् वाणी याद गरिरहेकै छन् । प्रधानमन्त्रीज्यूको तातो एक गाँस भातको प्रतिक्षामा जनताहरू आँखा चम्काइरहेका छन् । चम्किएका जनताका ती आँखामा शिक्षकका पीडा लुकेका छन् । ती पीडाभित्र भोलिका कर्णधार बालबालिकाका हजारौं सपना जुर्मुराएका छन् ।
शिक्षक मात्र होइनन्, यहाँ पति गुमाएका विधुवा, रोजगार गुमाएका युवा, अपाङ्ग, अशक्तहरू, विदेशबाट फर्किएका तपाईंकै रेमिट्यान्सका ज्यामीहरू जोजति छन्, ती सबै–सबै प्रधानमन्त्रीज्यूको एक गाँस तातो भातकै प्रतिक्षामा छन् । तर कहाँ छ प्रधानमन्त्रीज्यूको त्यो भात ? यहाँ भातै खान नपाएर जनताको मृत्युसँग नाँच्न थालिसकेका छन् र ती मृत्युसँग नाँच्न खोजेकाहरू रोगभन्दा भोगले मर्न लागियो भन्दै प्रहरीसँग हात हालाहाल गर्न लागेका छन् ।
मानौं कि तिनले अब मुक्ति खोजेका छन् । तिनले राज्यको रैती होइन, नागरिक बन्न चाहेका छन् । यस्तो पीडाको संगीन घडीमा प्रधानमन्त्रीज्यूले जनताको ओछ्यानमा नै ल्याइदिन्छु भनेको भात कहाँ छ ? कहाँ हरायो अचानक त्यो भात ? के तपाईलाई ताज्जुब लाग्दैन ?
प्रधानमन्त्रीज्यू हजुरको नूर गिर्ने गरी यस्तो ठाडो प्रश्न गर्दै हेर्दा ‘म धानखेत हुँ र भात दिनलाई ?’ भन्नुहोला नि प्रधानमन्त्रीज्यू ! तपाई त यस्तो भन्न सक्ने खुबी भएको मान्छे पनि हो । ‘मैले हो र कोरोना ल्याएको ? मेरो रुचिका कारण हो लकडाउन गर्नुपरेको ?’ पनि भन्नुहोला । किनकि तपाई यस्तो भन्न सक्ने क्षमता राख्ने मान्छे हो ।
तर प्रधानमन्त्रीज्यू, तपाईको हैसियत फेरि यस्तो होइन । तपाई त देशको प्रधानमन्त्री हो, त्यही भएर तपाईंलाई ‘भात खै ?’ भनेर सोधेको हो । यस्तो प्रश्न सबैलाई सोधिन्न । भेडीगोठालालाई जनताको भातसँग सरोकार पनि हुँदैन । हुने भनेको तपाईं प्रधानमन्त्रीलाई नै हो । फेरि सबैले मिडिया लेखनमा प्रधानमन्त्रीलाई ‘तिमी’ नै लेख्ने गर्छन् । हेर्नुहोस् त मैले कस्तो हरेक ठाउँमा ‘तपाईं’ भनेको छु । तपाईंको सम्मान गरेरै तपाईं भनेको छु ।
मलाई यस्तो लाग्छ कि आजको दिनमा भन्नुपर्दा जनता, गणतन्त्र नेपालको जनता होइन, प्रजा परिषद्को रैती भएका छन् प्रधानमन्त्रीज्यू । किन थाहा छ ? लकडाउनका कारण हजारौं मानिसहरू भोक मेटाउन सडकमा निस्किएका छन् । केही परोपकारी अभियान्ताले चन्दा उठाएर, विदेशमा रहेका नेपालीले पठाएको सहयोगमार्फत उनीहरूले दाल–चामल किनेर बेरोजगारलाई सडकमै खाना खुवाइरहेका छन् ।
खास यस्तो काम सरकारी निकायबाट हुनपर्ने हो । जनताको माया भएको देशमा, नागरिक सर्वोच्चता भएको देशमा यस्तो सडकमा जगहसाइँ हुँदैन । राज्यले व्यवस्थापन गर्छं । अरु धेरै थोक गर्न सक्नुभएन प्रधानमन्त्रीज्यू ।
आफैंले देखाएको सपना कम्तिमा दालभात दिन त सक्नुभएन, आर्मीलाई भनेर यसो एउटा टेन्ट लगाइदिन त सक्नुहुन्थ्यो नि ! हेर्नुहस् त सडकको चिसो भूइँमा बसेर खाँदैछन् । न हात धुने पानी छ, न साबुन । यसरी त कोरोनासँग लड्न पनि सकिँदैन । अनि विदेशीको नजरमा पनि त कस्तो लाज हुन्छ हैन ? तपाईं आफैंले भनेको हैन, अब देशलाई भिकारीमुक्त गर्छु भनेर ?
जहाँ गणतन्त्र छैन, बरु त्यहाँ मानिसको जीवन देखियो । प्रधानमन्त्रीज्यू, पुँजीवादी मुलुकमा समाजवादको उदाहरण देखियो ।
विदेशमा त काम नभएकालाई सबैलाई बेरोजगार भत्ता दिने गर्छ । सामाजिक सुरक्षा राम्रो छ । जनताबाट उठाएको कर जनताको हितमा खर्च हुन्छ । तर नेपालमा जनताबाट उठाएको कर खै त हजुर ? यस्तो बेलामा निकाल्नु न हजुर ! विदेशबाट फर्किएको युवालाई होटलमा पैसा लिएर राखिएको छ । उसको रेमिट्यान्सले पुगेन र ? उसलाई राहत के त ? सेवा के त ? टिकट आफैं काटेको छ, आइसोलेनसन आफ्नै खर्चमा बसेको छ । राहात के त प्रधानमन्त्रीज्यू ?
प्रधानमन्त्रीज्यूलाई थाहा नै छ । भरियाको साथमा नाम्लो मात्र हुन्छ, नागरिकता हुँदैन । किनकि भरियालाई बालुवाटारको गेटभित्र जानुपर्दैन, न सिंहदरबार जानुपर्छ । भरियासँग त दुःखी टाउको मात्र हुन्छ । उसको परिचय भरिया नै हुन्छ । दोलखाका ६० वर्षीय भाग्यमन लामा पाटनढोकामा नाम्लो बिसाएर चामल पाइने लाइनमा पुगे । तर उनीसँग नागरिकता थिएन । एकमुठी चामल पाउनका लागि उनको परिचय नै खुलेन । यसरी उनी भोको पेट लिएर बेहोस भए । केही सामाजिक अभियान्ताले उनलाई अस्पताल पुर्याए । तर उनी बाँचेनन् । यो कुरा मिडियामा आएको पनि छैन । प्रधानमन्त्रीज्यूको सरकारका सीडीओ र प्रहरीलाई त थाहा हुनै कुरै होइन यो । मिडियामा नआएको कुरा प्रधानमन्त्रीज्यूलाई कसरी कन्भिस गरूँ ?
प्रधानमन्त्रीज्यू, रामेछापका हितमान लामाले वसन्तपुर दरबार क्षेत्रमा प्लास्टिकमा चिउरा राखेर खाँदै जीवन गुजारेका छन् । हितमान जस्तै सयौं हितमानहरू त्यस क्षेत्रमा चिउरा र चाउचाउको भरमा बाँचिरहेका छन् । कहाँ छ प्रधानमन्त्रीज्यू तपाईको भात ? तिनको सिरानीमा पनि भात पुर्याउने कि प्रधानमन्त्रीज्यू ? प्रधानमन्त्रीज्यू तपाईंका कुरा जति रसिला हुन्छन्, त्यति नै रसिला छैनन् मजदुर र बेरोजगार गरीबका गाला । प्रधानमन्त्रीको सपना जति मिठो हुन्छन्, त्यति नै मिठो छैनन् भारी बोक्ने भरियाको भोको पेटको दिनचर्या ।
यस्तो लाग्छ यो पीडाको घडीमा ज्यालादारी र निमेक गरेर जो खान्छन्, ती आत्महत्या गर्न नसकेर बाँचिरहेका छन् । एक किलो चामल किन्दा कर उठाउने सरकारले दुःखका बेला जनतालाई के कस्ता राहत बाँड्यो ? जनताको भोक मेटाउन सरकारले के कस्ता प्याकेजको घोषणा गर्यो ? सायद यस्ता प्रश्न हालको लागि हास्यास्पद नै होला ।
प्रधानमन्त्रीज्यूलाई थाहा नहुन सक्छ । कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपनाउन नेपालमा लकडाउन भएयता लकडाउनले उद्योग, कलकारखाना तथा पसल बन्द छन् । व्यापार, व्यवसाय चौपट भएको छ । आयस्रोत नहुँदा मानिस चिन्तित हुन थालेका छन् । लकडाउनको ६८ दिनसम्मको अवधिमा १ हजार ९३ जनाले आत्महत्या गरेका छन् । जुन कोरोनाले मर्नेको संख्याभन्दा निकै अन्तर छ । यो आँकडाले दैनिक १५ जनाले आत्महत्या गरेको देखाएको छ । के आत्महत्या गर्नेहरू भोकसँगको लडाइँमा हारेर होइन भन्ने प्रमाण छ ? के सामाजिक सुरक्षामा राज्यको नीति यस्तै हो त ?
प्रधानमन्त्रीज्यू, देशमा जनताका निम्ति सामाजिक सुरक्षा नै छैन । पढेलेखेका मान्छे अर्थमन्त्री छन् भन्छन् । जो तपाईंकै टीका लगाएर अर्थमन्त्री बनेका डा. युवराज खतिवडा त झन् अर्थ न बर्थका रहेछन् । यिनको कामै छैन । अर्थशास्त्रको सूत्र मात्र जानेर के काम ? जनतालाई भात चाहियो भात । तर के गर्नु कुकुरको मरण हुँदैछ जनताको । रोजगारी, भत्ता र सरकारी सुविधा, अस्पताल होस् कि स्कूल होस् सबै दलालको कब्जामा छन् । बिरामीको जीवन माफियाको हातमा । सरकारको काम के त आखिरभन्दा प्रेसमिट गर्ने हावादारी गफ चुट्ने । संकटको बेलामा सरकार हुँदैन भने कर किन उठाएको हो त ?
यसकारण प्रधानमन्त्रीज्यू, आज बेरोजगार सकडमा लाइन लागेर अभियान्ताले दिएको भात भूइँमा बसेर खान बाध्य छन् । त्यो पनि विदेश गएकाहरूले पठाएको पैसाले किनेको चामल दाल हो । विदेशबाट रेमिट्यान्स त आएकै छ । अब बेरोजगारलाई दालभात खुवाउने पैसा पनि विदेशबाट नै पठाउनुपर्ने ? के यो लाजको पसारो होइन । बाढी पीडितदेखि उपचार गर्न नसकेका बिरामी सबै सामाजिक सञ्जालमा रोइरहेका छन् । सरकारको अवधारणा के हो ? सरकारको आँखा छ कि छैन ?
काठमाडौंको सडकमा मानिसहरू निजी संस्थाले दिएको दालभात खाँदैछन्, सरकार कहाँ छ ? आर्मी कहाँ छ ? कम्तिमा आर्मीले टेन्ट तान्न त सक्थ्यो होला नि, कुर्ची टेबलको बन्दोबस्त गर्न त सक्थ्यो होला । कोरोनाको नाममा करोडौं भ्रष्टाचार भइरहेको छ । मास्क बनाउनै लाखौं खर्च भएको छ । जनतालाई सार्वजनिक स्थलमा भात खुवाउँदा कति जान्थ्यो होला र ? ल मानौं ५ करोड । ५ करोड नै गए पनि कसको बाउको जान्थ्यो ? सरकारको नै जान्थ्यो । देशका सबै मुख्य शहरमा यो गर्नैपर्थ्यो ।
जर्नेल सा’पको छोरीको बिहेमा फूल सजाउन, टेन्ट तान्न जाने आर्मी जनताले सडकमा बसेर भात खाएको देख्दा अपमानजनक अनुभूति भएन ?
सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संसद्मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भन्नुभएको थियो, ‘अब नेपालमा गरीबीकै कारण कोही भोकै पर्दैन, भोकले कोही मर्दैन, यो सरकारको प्रतिबद्धता हो ।’ तर त्यसको ४ दिन बित्न नपाउँदै सप्तरीको कञ्चनरूप नगरपालिका–५ पथरी रामपुर टोलका मलर सदाले खान नपाएकै कारण ज्यान गुमाए । सदाको मृत्युले न राष्ट्रपतिलाई छोयो, न प्रधानमन्त्रीलाई छोयो । मर्यो त के भयो ? १ जना सदा मर्यो । १ जना मरेर के हुन्छ, यहाँ ३ करोड जनता छन् । जनताहरू पनि आफ्ना छन्, कोही पराई छन् । हाम्रो मर्यो कि पराई मर्यो, त्यसमा पनि फरक छ ।
धादिङका सूर्यबहादुर तामाङ कीर्तिपुरमा भारी बोक्थे । विचरा बुढा पानी पनि पिउन नपाई सडकमै मरे । उनको मृत्युले पनि सत्ताका मानिसहरू कसैलाई छोएन । किनकि यो मृत्यु उनीहरूको लागि उपवाद हो र यस्ता छिटपुट भइरहन्छन् । तर कोरोनाले उनको काम मात्रै खोसिएन, पैसा भए किनेर खाने, नभए मागेर, काम गरेर खाने बजार–पसल पनि बन्द भए । पाए खान्थे, नपाए भोकै सुत्थे । तर सत्ता कति बाठो छ भने नि कीर्तिपुर नगरपालिकाको मेयर रमेश महर्जनले भने तामाङको मृत्यु भोकले नभई रोगले भएको दाबी गरे ।
प्रधानमन्त्रीज्यु, लकडाउन/निषेधाज्ञा लम्बिँदै गएपछि भरियालाई, बेरोजगारलाई, शिक्षकलाई, विद्यार्थीलाई पसलेले उधारो दिन पनि बन्द गरेका छन् । यो स्वाभाविक पनि हो । खानाको समस्या त छँदैछ, बेरोजगारलाई अर्को समस्या कोठा भाडाको पनि छ । नयाँ महिना शुरू भएसँगै कोठाभाडा तिर्नुपर्छ । खाने माना छैन, कोठाभाडा कताबाट तिर्ने ? घरबेटीले निकाल्यो भने सडकबाहेक अरु विकल्प केही छैन ।
लकडाउनबाट सबैभन्दा बढी प्रभावित कोही छन् भने दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र भरिया हुन् । विदेशबाट फर्किएका युवामा पनि बिस्तारै बेरोजगारीको छायाँ देखिन थालेको छ । यो संख्या धेरै बढ्नेछ । दिनभरि भारी नबोके भरियाको घरमा राति चुलो बल्दैन । यतिका दिनसम्म काठमाडौंका भरियाको दैनिक जीवन कसरी गुज्रिरहेको छ भन्ने विषयमा अहिलेसम्म तपाईंको सरकारले कुनै ठोस कदम चालेको देखिन्न ।
हाम्रो वर्तमान संविधानमा धारा १६ देखि ४६ सम्म सम्मानपूर्वक बाँच्न पाउने, स्वतन्त्रता, समानता, सञ्चार, न्यायसम्बन्धी हक तथा अपराध पीडितको हक लगायत ३१ वटा मौलिक हक सूचीबद्ध छन् । धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनिएको छ । प्रत्येक नागरिकले स्वास्थ्य उपचारको जानकारी पाउने र स्वास्थ्य सेवामा समान पहुँच, स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच हुने व्यवस्था रहेको छ । प्रधानमन्त्रीज्यू के तपाईंले संविधानको रक्षा गर्दै हुनुहुन्छ ?
मलाई लाग्छ गर्नुभएको छैन । गर्ने जोश–जाँगर पनि तपाईंमा देखिन्न । पछिल्ला केही अन्तर्वार्ता केवल झूट र मनगढन्ते कुरोका पुलिन्दा मात्र थिए । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा रहेको मान्छेको बोली अत्यन्त जिम्मेवार हुनुपर्छ । तर हाम्रा प्रधानमन्त्रीले आफ्नो मर्यादा नै राख्न सक्नुभएको छैन । पछिल्ला समयका अभिव्यक्ति सुन्दा उहाँ एकदमै धेरै अस्थिर भएको महसूस भइरहेको छ । कार्यकर्ता ताली त पिट्छन् तर जनताको दुःखमा बोल्दैनन् ।
तपाईं भन्नुहुन्छ कोरोना भनेको रुघाखोकी जस्तो हो, लागिहाल्यो भने हाच्छिउ–साँच्छिउ गर्नुपर्छ, तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ, उच्च मनोबल राख्नुपर्छ त्यति गरेमा कोरोनाले लान सक्दैन । तर कोरोनासँग लडेर जितेका प्रसिद्धिल श्रेष्ठ भन्छिन्, ‘कोरोना भोगिसकेको छु, यो कुनै सामान्य फ्लू होइन, श्वास फेर्न गाह्रो हुन्छ, थकाइ लाग्छ, कृपया आफ्नो मनोरञ्जनको लागि कोरोना बिरामीको दुःखमा नखेल्नुहोस्, यो बकवास अत्ति भयो ।’ जतिसुकै बकबास गर्नुहोस्, प्रधानमन्त्रीज्यू तर प्लिज जनतालाई एक गाँस भात दिनुहोस् । हस्त बिदा पाऊँ !
लोकान्तरबाट साभार
फेसबुक प्रतिक्रियाहरु