होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • एसईई नतिजा : सामुदायिक अझै कमजोर
Breaking News

एसईई नतिजा : सामुदायिक अझै कमजोर

कुन जीपीएले के पढ्ने ?

  • नागरिक रैबार
एसईई नतिजा : सामुदायिक अझै कमजोर

काठमाडौँ — प्रदेशअनुसार छुट्टाछुट्टै प्रश्नपत्र बनाएर लिइएको एसईई परीक्षामा प्रदेश २ सबैभन्दा कमजोर देखिएको छ भने अन्य प्रदेशको तुलनामा संघीय राजधानीसमेत रहेको प्रदेश ३ सबैभन्दा अगाडि देखिएको छ ।

मुलुकभरको नतिजा हेर्दा ग्रेडिङ पद्धति सुरु भएपछि यसपटक एसईईको समग्र नतिजा प्रतिशत उच्च देखिन्छ । राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार १.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ८७.६४ प्रतिशत छ । गत वर्षको तुलनामा यो १० प्रतिशतले बढी हो । अघिल्लो वर्ष ७७ प्रतिशत थियो ।

दुई वर्षअघि उक्त जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ८२.३८ प्रतिशत र चार वर्षअघि ८४.३३ प्रतिशत थियो । गत वर्ष खस्केको प्रतिशत यस वर्ष केही बढेको देखिए पनि मध्यमस्तरको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या सबैभन्दा बढी छ । अनिवार्य गणितबाहेकका सबै विषयमा २५ पूर्णांकको प्रयोगात्मक नम्बरको व्यवस्था भएका कारण पनि नतिजामा केही सुधार देखिएको हो ।

४ लाख ५९ हजार २ सय ७५ विद्यार्थीले परीक्षा दिएकामा मध्यमस्तरका १.६ देखि २.८ जीपीएसम्म प्राप्त गर्ने विद्यार्थीको संख्या धेरै छ । २ लाख ७० हजार अर्थात् ५९ प्रतिशतभन्दा बढी विद्यार्थीले मध्यमस्तरको जीपीए ल्याएका छन् ।

‘स्थानीय तहहरूले विद्यालय अनुगमन र नियमन गर्न थालेपछि नतिजा सुधार हुनुपर्ने हो,’ बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले भने, ‘विद्यार्थीले प्राप्त गर्ने ग्रेड खासै बढ्न सकेको छैन ।’ उच्च तहको जीपीए ल्याउने विद्यार्थीको संख्या बढ्दै गए मात्र नतिजा सुधार भएको मान्न सकिने उनले जनाए ।

कक्षा ११ मा भर्ना हुन कम्तीमा १.६ जीपीए ल्याउनुपर्छ । त्यसभन्दा कम जीपीए ल्याउने विद्यार्थीको संख्या १२ प्रतिशत छ । १.६ देखि ४ समूहको जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४ लाख २५ हजार छ । सहभागीमध्ये ८ हजार ४ सय ६९ विद्यार्थीले विभिन्न कारणले कुनै पनि ग्रेड प्राप्त नगरेको परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले जानकारी दिए । परीक्षामा अनुपस्थितलगायतका कारणले उनीहरूले ग्रेड प्राप्त नगरेका हुन् ।

७१ प्रतिशत सामुदायिक र २९ प्रतिशत विद्यार्थी निजी विद्यालयबाट परीक्षामा सम्मिलित भएका थिए । नतिजा भने सामुदायिकभन्दा निजी विद्यालयको सन्तोषजनक देखिन्छ । निजी विद्यालयका १४ हजार ७ सय ८८ विद्यार्थीले उच्च (३.६ देखि ४) जीपीए ल्याएका छन् । सामुदायिक विद्यालयतर्फ २ हजार ७ सय ९२ विद्यार्थीले मात्र उक्त जीपीए प्राप्त गरेका छन् ।

लोकसेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्न कम्तीमा २ जीपीए ल्याउनुपर्छ । १ लाख ५२ विद्यार्थीले त्यसभन्दा कम जीपीए ल्याएका छन् । यसले पनि विद्यार्थीको शैक्षिकस्तर सुधार नभएको पुष्टि हुन्छ । कम स्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या सामुदायिकमा धेरै छ ।

साधारण धारतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिक धारतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी थिए । २ लाख २५ हजार ६ सय १० छात्रा र २ लाख २४ हजार ३२ छात्रले साधारण धारतर्फबाट परीक्षा दिएका हुन् । प्राविधिक धारतर्फ ६ हजार १ सय ९ छात्र र ३ हजार ५ सय २४ छात्रा सहभागी थिए । अनिवार्य विषयतर्फ सातै प्रदेशमा फरक/फरक प्रश्नपत्रअनुसार परीक्षा लिइएको थियो ।

परीक्षाफलअनुसार प्रदेश ३ मा १.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको प्रतिशत सबैभन्दा बढी छ । कुल एक लाख ३३ हजार विद्यार्थीमध्ये ९५.३९ प्रतिशतले उक्त समूहको जीपीए प्राप्त गरेका छन् । प्रदेश २ मा उक्त समूहको जीपीए ल्याउने विद्यार्थीको संख्या ७७ प्रतिशत मात्र छ । उक्त प्रदेशबाट ६४ हजार ८ सय विद्यार्थीले परीक्षा दिएका थिए । परीक्षाअगावै प्रश्नपत्र बाहिरिएर परीक्षा स्थगित भएको थियो । यो प्रदेशको साक्षरता प्रतिशत पनि कमजोर छ ।

गण्डकी प्रदेशले पनि प्रदेश ३ कै हाराहारीमा नतिजा ल्याएको छ । ४६ हजार ४ सय विद्यार्थीले एसईई दिएकोमा १.६ देखि ४ जीपीए प्राप्त गर्ने विद्यार्थी ९४.८२ प्रतिशत छन् । सुदूरपश्चिम प्रदेशको नतिजा भने प्रदेश २ पछिको कमजोर देखिन्छ । सुदूरपश्चिमबाट ७९ प्रतिशत विद्यार्थीले मात्र उक्त समूहको जीपीए ल्याएका छन् । २१ प्रतिशत परीक्षार्थीले १.६ भन्दा कम जीपीए ल्याएका छन् ।

त्यहाँबाट ४९ हजार ६ सय जनाले परीक्षा दिएका थिए । सुदूरपश्चिमपछि कर्णाली प्रदेशको नतिजा कमजोर देखिन्छ । ३२ हजार ३ सय परीक्षार्थी रहेकामा सोही समूहको जीपीए ल्याउने ८३ प्रतिशत मात्र छन् । सो जीपीएअर्न्तगत प्रदेश १ र ५ मा क्रमशः ८८ र ८७ प्रतिशत नतिजा देखिन्छ । प्रदेश १ बाट ७९ हजार ३ सय परीक्षार्थी थिए भने ५ बाट ७३ हजार ६ सय विद्यार्थी सहभागी थिए ।

बोर्डले ग्रेडवृद्धि परीक्षाको नतिजा भने सार्वजनिक गरेको छैन ।

सार्वजनिक नतिजामा बढीमा दुई विषयमा ‘सी’ वा ‘सी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका वा दुई विषयसम्म अनुपस्थित भएका परीक्षार्थीले ग्रेडवृद्धिका लागि पुरक ग्रेडवृद्धि परीक्षा दिन सक्नेछन् । उक्त परीक्षाका लागि समय तालिका छिट्टै सार्वजनिक गरिने परीक्षा नियन्त्रकले जनाए । परीक्षाले नतिजामा चित्त नबुझे पुनर्योग गराउन सक्नेछन् । चैत १० गते देखि परीक्षा सञ्चालन भएको थियो ।

बाहिरी घेरा– जीपीए १.६ देखि ४

भित्री घेरा– जीपीए १.६ भन्दा कम (थप अध्ययनका लागि अयोग्य)

कुन जीपीएले के पढ्ने ?

२ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन् तर संकायअनुसार तोकिएको विषयमा निश्चित ग्रेड प्राप्त गरेको हुनुपर्छ ।

विज्ञान समूह अध्ययन गर्न अनिवार्य विज्ञान र गणितमा सी प्लस ल्याएको हुनुपर्छ । सँगै नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस ग्रेड प्राप्त गरेको हुनुपर्छ । व्यवस्थापन संकायका लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक विषयमा कम्तीमा डी प्लस ल्याउनुपर्छ ।

मानविकी संकायतर्फ पढ्न अंग्रेजी, नेपाली र सामाजिक विषयमा डी प्लस ल्याएकै हुनुपर्छ । शिक्षा संकायका लागि अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस आएको हुनुपर्छ ।

शिक्षा समूहको विज्ञान अध्ययन गर्न चाहनेले एसईईमा विज्ञान र गणितमा डी प्लस ल्याउनुपर्छ । प्राविधिक धारबाट १० कक्षाको परीक्षा दिएकाले साधारणतर्फ पनि कक्षा ११ मा अध्ययन गर्न पाउँछन् । कान्तिपुर बाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार