भारतको मणिपुरमा जन्मिएकी हुन्, मीना निरौला। बाबुआमाको रैथाने थलो नेपालको ताप्लेजुङ। नेपालको माया बोकेर उनीहरू मणिपुर बसाइँ सरे। ४० वर्षअघिको ताप्लेजुङ आजजस्तो थिएन। दुःखका पहाड चढ्नुपथ्र्यो। छोराछोरीको भविष्य राम्रो बनाउने सपना बोकेरै उनीहरू मणिपुर हानिए। मीना उतै जन्मिएकी हुन्। ‘संगीतमा रुचि राख्ने साधारण मान्छे हुँ म’, लामो हाँसोसँगै परिचय दिइन् उनले।
मीना पछिल्लो समयकी चर्चित गायिका हुन्। ठमेल बजार बोलको गीतमा जब उनको स्वर पस्यो तब उनले पछाडि फर्केर हेर्नु परेको छैन। कालेदाइ, रूपै मोहनी, चोली अलि छोटो, ढल्क्यो जवानीलगायत सयौं गीतमा उनको स्वर सुन्न सकिन्छ।
भजन होस् या आधुनिक गीत अथवा पप फ्लेबरका डान्सिङ गीत वा पप जनराकै गीत किन नहुन्, उनको स्वर फिट छ। उनी स्टेज कार्यक्रममा पनि बबाल गाउँछिन्। धमाकेदार प्रस्तुति दिन्छिन्। भन्छिन्, ‘जब गीत गाउन थाल्छु, अगाडि कसैलाई देख्दिनँ। आँखाले हेर्छु तर देख्दिनँ। तन, मन र ध्यान गीत कसरी दमदार गाउने भन्नेमा जान्छ।
उनको स्वरमा फिदा हुनेहरू टन्नै छन्। कुराकानीकै क्रममा जब गीतको प्रसंग आउँछ , गुनगुनाउन थालिहाल्छिन्। यो गीतलाई यसरी पनि गाउन सकिन्थ्यो नि भन्दै गीतको मेलोडी बताउँछिन्। मेलोडी र टोनले गीतमा कसरी फरकपन ल्याउँछ भन्ने जानकारी दिइरहेकी थिइन् उनी। उनी बोल्दा पनि एक खालको मधुर धुन निस्कन्छ। साँच्चिकै जादुयी स्वरको बास छ मीनामा।
उनका बुवा पनि संगीतप्रेमी थिए। बिहान उठेदेखि नै उनको घरमा सुमधुर गीत बज्ने गथ्र्यो। आँखा नखुल्दै उनका कानले सुमधुर भाका सुन्न पाउँथे। लता मंगेस्कर, मोहम्मद रफी, मेहदी हसनका सुप्रसिद्ध स्वर र धुन गीत सानैदेखि सुन्ने मौका पाइन् उनले।
‘प्यार मे जल्ने बालाको चैन कहाँ’ मेदी हसनको स्वरमा रहेको यो गीत उनले सानोमा निकै सुनिन्। अनुप जलौटाका भजन सुन्ने, गाउँमा कीर्तन गाउन जाने, संगीतका कार्यक्रममा नाच्ने गर्दागर्दै कति बेला संगीत मुटुमा बास बसेछ पत्तै पाइनन् उनले।
गीतको सिद्धान्त थाहा थिएन उनलाई। सारेगमको धुन पनि सुनेकी थिइनन्। कक्षा १० पास भएपछि एक साथीले उनलाई शास्त्रीय संगीतको जानकारी दिँदै सिक्न आग्रह गर्यो। संगीत गुरु जितेन मोइरनसँग उनले संगीत विसारत……………. कोर्स पूरा गरिन्। जितेन संगीत विद्यालयबाट शास्त्रीय संगीतको अध्ययन पूरा गरेकी हुन् उनले। बायो केमेस्ट्रीमा बीएस्सी सकाएकी निरौलाले विज्ञान र संगीतको पढाइ सँगसँगै पूरा गरेकी हुन्। संगीतको औपचारिक जानकारी नपाएकी उनले संगीत विसारतमा………. पढ्न थालेपछि मात्रै ताल, स्केल, राग, बिट, नोट जस्ता सूत्रको जानकारी पाइन्। यसले उनको स्वर माझिने मौका पायो।
मणिपुरमै विभिन्न ब्यान्डसँग जोडिएर गीत गाउन थालिन्। उनको डिमान्ड बढ्दै थियो त्यहाँ। स्वरको प्रशंसा भइरहेको थियो। मणिपुरे केही चलचित्रमा पनि गीत गाइन्। सेकमाइमा रहेको ट्रिपल एज ब्यान्डका म्युजिसियनसँग कन्सर्टमा धमाकेदार प्रस्तुति दिन्थिन्। ट्र्याकमा गीत गाएर कन्सर्ट गर्ने चलन थिएन त्यो बेला। १५÷२० जना म्युजिसियनसँगै बसेर प्रत्यक्ष गाउनु चुनौतीपूर्ण थियो। आजभन्दा १२ वर्षअघि मणिपुरमा खोजिने नाम बनेकी थिइन् मीना। चर्चा बटुलेकी थिइन्।
गोपाल निरौलासँग सन् २००७ सालमा बिहे गरेर नेपाल आएकी हुन् उनी। मणिपुरमा चर्चा बटुलेकी मीनालाई नेपाली संगीतमा जम्न फेरि जिरोबाटै संघर्ष गर्नुपर्ने अवस्था आयो। श्रीमान् सहयोगी त थिए तर सांगीतिक क्षेत्रका थिएनन्। परिवारले गीत गाउनुपर्छ भनेर हौसला दिन्थ्यो तर काठमाडौंले चिनेको थिएन उनलाई। यो क्षेत्रमा पहिचान बनाउन करिब १० वर्ष पर्खनु पर्यो। दुईचार ठाउँमा त श्रीमान्सँगै पुगिन् उनी। अर्काको ठाउँमा सजिलै अवसर कहाँ पाउनु। तर पनि हिम्मत हारिनन्। उनका श्रीमान् हाल क्यानडामा छन्। एक छोरा र छोरीकी आमा मीनाले पछिल्लो समयमा एक से एक चर्चित गीतमा स्वर दिइरहेकी छन्।
नेपालयसँग आबद्ध भएर पलँेटी शृंखलामा गाउन सुरु गरिन् उनले। पाइला नामक आफ्नै एल्बम बजारमा ल्याइन्। एल्बमको खासै चर्चा भएन। केही आधुनिक गीत, फिल्मका गीतमा पनि गाइरहेकी थिइन् तर श्रोताको नजरमा पर्न सकेकी थिइनन्।
चार वर्षअघि कालीप्रसाद बास्कोटाको शब्द संगीतमा जब ठमेल बजार बोलको गीतमा आवाज दिइन्, यो गीतले उनलाई एक्कासि शिखर चढायो। उनको स्वर र टोनको प्रशंसा भयो। स्वरमा भएको क्षमताले बाहिर निस्कने बाटो पायो।
जे गर्न होस्, केही फरक हुनैपर्छ भन्ने मान्यताकी निरौला चर्चा चल्नु र नचल्नुमा खासै मतलब गर्दिनन्। भन्छिन्, ‘संगीत साधना हो, निरन्तर लगाव राख्नुपर्ने हुन्छ।’ एउटै प्याटर्नको गीत बजारमा आइरहेको बेला थियो। उनको स्वरले आधुनिक गीतमा फरक स्वाद दियो। म के काम गर्न जाँदै छु भन्ने कुरामा सदैव अनुशासित हुनैपर्छ भन्छिन् उनी। गीत गाउने बेला शब्दले गायकलाई छोएकै हुनुपर्छ। ‘गीतमा फिल हुनुपर्छ। फिलबिनाको स्वर त गीत बन्दै बन्दैन्’, उनले प्रस्ट पारिन्।
गीत गाउने जिम्मा लिएर जब स्टेजमा पुग्छिन्, उनलाई पर्फेक्ट गाउनैपर्छ भन्ने लाग्छ। गायकीलाई मेहनत गर्न सकिन्छ तर टोनचाहिँ प्राकृतिक रूपमा नै हुनुपर्छ। आफूमा भएको भर्सटायल स्वरलाई गड गिफ्ट ठान्छिन् उनी। आइटम सङमा त उनी अहिले ब्रान्डजस्तै बनेकी छन्।
मीनासँग कुराकानी गर्दै गर्दा प्रत्येक गीतमा फरक टोन कसरी भयो ? अरूको भन्दा आफ्नो बेग्लै क्षमता के हो ? हरेकलाई गीत गाएर प्रस्ट पार्दै जान्थिन्। कहिले बंगाली सुफी गुनगुनाउँथिन् त कहिले मणिपुरे भाका। नेपाली आधुनिक गीत, आइटम गीत, सबैखाले गीत फरकफरक शैलीमा गाएर सुनाइन् उनले। उनीसँग कुराकानी गर्दा यस्तो लाग्थ्यो, म कसैको बायोग्राफी हेरिरहेकी छु।
उनका गुरुले शास्त्रीय संगीत गाउन सुझाएका थिए। तीन सयभन्दा बढी गीतमा स्वर दिइसकेकी मीनालाई चर्चा भने डान्सिङ गीतले दियो। उनी यसैमा मक्ख छिन्। भन्छिन्, ‘संगीतको कुनै विधा हँुदैन। जे गर्नु राम्रो गर्नु उनको सिद्धान्त हो।अन्नपूर्णपोष्टबाट
फेसबुक प्रतिक्रियाहरु