
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि बुधबारदेखि नेपाली सेना परिचालन गरिएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ अनुसार आजबाट देशभर ७९ हजार ७२७ जना सैनिक फिल्डमा खटिएका हुन् ।नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेना तेस्रो सुरक्षा घेरामा रही संवेदनशील क्षेत्र, मतदानस्थल र महत्वपूर्ण संरचनाको सुरक्षा गर्नेछ। आवश्यकता अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग संयुक्त गस्तीसमेत गरिनेछ।निर्वाचन अवधिभर सेनाले हवाई गस्ती पनि गर्नेछ । सुर्खेत, पोखरा, काठमाडौं, विराटनगर र इटहरीमा हेलिकप्टर ‘स्टान्डबाई’ राखिएको छ । विकट तथा अतिसंवेदनशील क्षेत्रमा मतपत्र र मतपेटिका ढुवानीका साथै आपत्कालीन अवस्थामा तत्काल सेना परिचालन गर्न हेलिकप्टर प्रयोग गरिनेछ।निर्वाचन भाड्न खोज्ने समूहबाट हुन सक्ने बम विस्फोटको जोखिमलाई ध्यानमा राख्दै बम डिस्पोजल टोली पनि अति संवेदनशील क्षेत्रमा तयारी अवस्थामा राखिएको सेनाले जनाएको छ।यसैबीच निर्वाचनका बेला नेपाल प्रहरी र सशस्त्र प्रहरी मतदानस्थलको भित्री र दोस्रो सुरक्षा घेरामा खटिनेछन् भने विमानस्थल, कारागार, सिंहदरबारलगायत महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा जिम्मा नेपाली सेनाले लिनेछ ।मन्त्रिपरिषद्को सिफारिसमा गत मंसिर ११ गते राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सुरक्षाका लागि सेना परिचालनको स्वीकृति दिएका थिए।निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग एकीकृत रूपमा परिचालित भएका छन् ।



फेसबुक प्रतिक्रियाहरु