काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसमा मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)निर्वाचन जारी छ। अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन भएपनि केहि क्याम्पसमा भने मतदान प्रक्रिया नै रोकिएको छ ।
यसैक्रममा काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ। निर्वाचन स्थगित भएपछि विद्यार्थीहरूले सांकेतिक विरोधस्वरुप सडकमा नै मतपेटीका बनाएर मतदान गरेका छन् । फर्जी परिपत्र वितरण गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि उक्त क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको हो। विद्यार्थीहरूले स्ववियु निर्वाचन तत्काल गर्न माग गर्दै प्रदर्शन समेत गरेका छन् ।
यसैबीच सुरक्षाको कारण देखाउँदै अमृत साइन्स क्याम्पसमा स्ववियु निर्वाचन स्थगित गरिएको छ । सोमबार आह्वान गरिएको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित भएकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ । आज हुने स्ववियु निर्वाचनको राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरिरहेको छ ।
यसैगरी पब्लिक युथ,त्रिचन्द्र क्याम्पसमा पनि स्ववियु निर्वाचन स्थगित भएको छ।त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ तर २०६५ सालदेखि भने स्ववियु निर्वाचन नियमित हुनसकेको छैन ।
विश्वविद्यालय क्याम्पसमा भने चैत ८ गते निर्वाचन हुनेछ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचन हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।
अध्यक्ष,सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष निर्वाचित हुनेछन् । उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछि त्यसमध्येबाट चयन गरिनेछ । कुनै सङ्घ सङ्गठनको बहुमत आयो भने उपाध्यक्ष र उपसचिव उसैका सदस्यमध्येबाट चयन हुनेछन् । बहुमत आएन भने सहमतिबाट चयन हुनसक्ने व्यवस्था रहेको छ ।
सहमति भएन भने २१ जनाको मतबाट उपाध्यक्ष र उपसचिव चयन गरिन्छ । विश्वविद्यालय क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने जनाइएको छ । मतदानका लागि २० वटा यन्त्र प्रयोग गरिने निर्वाचन समितिले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु