काठमाडौं : जेन—जी आन्दोलनको दोस्रो दिन विभिन्न कारागारबाट भागेका फरार कैदीबन्दीहरू धमाधम पक्राउ परिरहेका छन् । कोही आफैं प्रहरीको सम्पर्कमा आएका छन् भने केही अभियुक्तलाई प्रहरी टोलीले पक्राउ गरिरहेको छ । नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार प्रहरी प्रधान कार्यालयले सूचना नै जारी गरेर फरार अभियुक्तलाई प्रहरी कार्यालयमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
नक्खु कारागारबाट भागेका पूर्वराज्यमन्त्री सञ्जय टक्ला (साह) काभ्रेको मंगलटारमा पक्राउ परेका छन् । उनीसहित नक्खुबाट भाग्ने १७ जना पुनः पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय मंगलटारका इन्चार्ज ईश्वर कार्की नेतृत्वको टोलीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको हो । जनकपुर बम काण्डमा दोषी ठहर भएका टकलामाथि सञ्चार उद्यमी अरुण सिंहानियाको हत्या र अकुत सम्पत्तिको मुद्दा पनि छ ।
देशैभरका विभिन्न कारागारबाट भागेका १ हजार ४ सय ५५ जना कैदीबन्दीलाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् । मंगलबार र बुधबार देशका विभिन्न कारागार तोडफोड गरी भागेका उनीहरूमध्ये कतिपयलाई भारतीय नाकामा भारतीय प्रहरीले समेत पक्राउ गरेको थियो । देशभरका विभिन्न कारागारबाट १४ हजार बढी कैदीबन्दी र थुनुवा भागेका थिए । फरार रहेकामध्ये ठूलो संख्यामा हत्या, बलात्कार, अपहरण, मानव बेचबिखनजस्ता जघन्य अपराधका कैदीबन्दी छन् ।
कारागारबाट भागेका कैदीबन्दीमध्ये १४ सय ५५ जनालाई सेना, प्रहरी र सशस्त्र प्रहरीले देशका विभिन्न भागबाट पक्राउ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेले पक्राउ परेकाहरूलाई सम्बन्धित जेलमा पठाउने काम भइरहेको बताए । पक्राउ परेका र आफैं फर्केकाबाहेक अझै पनि हजारौंको संख्यामा कैदीबन्दी खुलेआम हिँडिरहेका छन् ।
कुन कारागारबाट कति जना फरार भए ?
नक्खु कारागारबाट मात्रै १ हजार ४ सय कैदी बन्दी फरार रहेका छन् । सुन्धारास्थित केन्द्रीय कारागारबाट पनि ३ हजार ३ सय कैदीबन्दी निस्केका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि यहीबाट भागेका थिए । रौतहटको गौर कारागारबाट २ सय ६० कैदी भागेका थिए । यीमध्ये १३ जना भारतीय सीमा नाकाबाट पक्राउ परेका छन् । कास्की कारागारबाट ७ सय ७३ कैदीबन्दी भागेका थिए । जसमा १३ भारतीयसहित ४ जना विदेशी पनि फरार छन् । चितवन कारागारबाट ७ सय कैदीबन्दी भागेका थिए । महोत्तरीको जलेश्वर कारागारमा रहेका ५ सय ७५ कैदीबन्दी फरार छन् । कपिलवस्तु कारागारबाट ४ सय ५९ जना फरार छन् भने ७४ जना नियन्त्रणमा । पर्वत कारागारबाट १९ जना फरार छन् ।
कैलाली कारागारबाट ६ सय १२ जना कैदीबन्दी भागेका थिए भने डडेलधुरा कारागारबाट ८५ कैदीबन्दी भागेका छन् । रुकुमपश्चिम कारागारबाट ८८, दाङ तुलसीपुर कारागारबाट १ सय २४ जना भागेका छन् । सुनसरीको झुम्का कारागारबाट मंगलबार राति १ हजार ५ सय ७५ जना कैदीबन्दी फरार भएका छन् । सोलुखुम्बु कारागारबाट ८६ कैदीबन्दी फरार भएका छन् । मकवानपुरको भीमफेदी कारागारबाट २ सय ६० जना, सिन्धुली कारागारबाट ५ सय कैदीबन्दी फरार भएका छन् । बाँके कारागारबाट ४ सय ३६ जना फरार छन् । रुकुमपश्चिम कारागारबाट ८८ जना भागेका छन् । जुम्लाको चन्दननाथ–६ स्थित कारागारबाट ३६ कैदीबन्दी भागेका थिए ।
कागारगार तोडफोड र आगजनी गर्ने क्रममा धादिङ र रामेछापमा गोली चलेको छ । बुधबार धादिङ कारागारमा कैदीबन्दी भाग्ने क्रममा सेनाले नियन्त्रणमा लिन गोली चलाएको थियो । यसक्रममा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् । बिहीबार बिहान रामेछाप कारागारमा पनि सेनाले गोली चलाएर भाग्न खोज्ने कैदीबन्दीलाई नियन्त्रणमा लिएको थियो । घटनामा २ कैदीबन्दीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
जेन—जी आन्दोलनमा अहिलेसम्म ३७ जनाले जीवन गुमाए…
जेन—जी आन्दोलनमा मृत्यु भएका २५ जनाको पहिचान भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ३७ पुगेको छ । देशका विभिन्न अस्पतालमा ३३१ जना उपचाररत छन् भने ९ सय ४९ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता विनोद घिमिरेका अनुसार आन्दोलनका क्रममा विभिन्न स्थानमा भएका तोडफोडका संरचना भित्र पनि जलेको अवस्थामा शव भेटिएकाले मृत्यु हुनेको संख्या बढ्न सक्छ । उनी भन्छन्, नेपाल प्रहरीको तीन जना कर्मचारी मृत्यु भएको पहिचान भएको छ । एक दर्जनभन्दा बढी सम्पर्क बाहिर छन् । खोजी कार्य जारी छ ।
काठमाडौंंका अस्पतालहरू राष्ट्रिय ट्रमा सेन्टर ८, सिभिल अस्पताल ६, भेरी अस्पताल ५, एभरेस्ट अस्पताल ३, फ्रन्टलाइन अस्पताल ३, केएमसी अस्पताल २, त्रिवि शिक्षण अस्पताल १, बयोधा अस्पताल २, फ्रन्टलाइन अस्पताल ३, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान २, बीएनसी अस्पताल १, बिर्तासिटी अस्पताल १ जनाको मृत्यु भएको छ । केही घाइतेहरूको अवस्था गम्भीर छ ।
जेन—जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूमा २५ जनाको नाम पहिचान भएको छ । जसमा एक जना महिला र २४ जना पुरुष रहेका छन् । जसमध्ये विराटनगरका १९ वर्षीय श्रीयाम चौलागार्इं, नेपालगन्जका २५ वर्षीय सुलभराज श्रेष्ठ, कीर्तिपुरका ४१ वर्षीय बुद्धिबहादुर तामाङ, धनगढीका २९ वर्षीय गौरव जोशी, सिन्धुपाल्चोकका २९ वर्षीय योगबहादुर श्रेष्ठ, वनस्थली काठमाडौंका २६ वर्षीय ईश्वरबहादुर अधिकारी, सन्तोष विक, आयुष थापा, मिसल सारु मगर, छत्रमान कुथुमी, विमल भट्ट, काशी आलम ठाकुर, विजय चौधरी, अभिषेक चौलागार्इं, विनोद महर्जन, दिलनारायण तामाङ, योगेन्द्र न्यौपाने, प्रवीण कुलुङ, उमेश महत, १७ वर्षीय निकिता गौतम, अर्जुन भट्ट, देवकुमार सुवेदी, सौरभ किशोर श्रेष्ठ, सुवास पोखरेल रहेका छन् । अन्नपूर्णपोष्टबाट
फेसबुक प्रतिक्रियाहरु