नागरिक रैबार/बाजुरा २७ माघ । बाजुराको सदरमुकाम मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण गरेर प्रयोगमा ल्याइएको छ ।
वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बडीमािलका नगरपालिका–८ को रानीवनमा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेर प्रयोगमा ल्याएको हो ।
संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना धनगढी, कैलालीको २ करोड ५७ लाख ३७ हजार बढीको लागतमा श्री प्याराडाईज विल्डर्स प्रालिले ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानीको ट्याङ्की निर्माण गरेर हस्तान्त्रण गरेपछि प्रयोगमा ल्याएको बृहत मार्तडी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक कर्णबहादुर रावलले बताएका छन् ।
विगतमा खानेपानीको मुहानबाट ट्यांकी सम्म आउँदा एकदमै दुसित थियो, अहिले संघीय सरकारको लगानीमा रानीवनमा ३ वटा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्यांकी निर्माण गरेर प्रयोगमा ल्याएपछि सदरमुकामबासी उपभोक्ताले स्वच्छ र सफा पानी पिउन सकिने भएको व्यवस्थाक रावलले बताए ।
व्यवस्थापक रावलका अनुसार ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानीको ट्याङ्की निर्माण सम्पन्न पश्चात स्वास्थ्य कार्यालय बाजुराले पानीको परिक्षण गर्दा स्वच्छ र पीउन योग्य रहेको पाइएको थियो ।
सदरमुकाम मार्तडीबासी उपभोक्तालाई शुद्ध खानेपानी उपलव्ध गराउनका लागि ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानीको ट्यांकी निर्माण गरिएको बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष खड्क रावलले बताएका छन् ।
बडीमालिका नगरपालिका ८ को झाल्याखोला मुहानबाट १ सय ५० एमएमको पाईप लाईन मार्फत ल्याइएको पानी अहिले ट्र्रिटमेन्ट प्लान्टसहितका ३ वटा फिल्टर ट्याङकीमा प्रशोधन भईरहेको छ ।
ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितका ३ वटा ट्यांकीबाट सदरमुकाम बासीलाई पहिलो चरणमा स्वच्छ र सफा खानेपानी उपलव्ध गराउने र विस्तारै थप ठाउँमा खानेपानी वितरण गर्ने लक्ष्य रहेको बृहत मार्तडी खानेपानी उपभोक्ता समिति बताएको छ ।
सदरमुकाम मार्तडीमा हालसम्म ५ सय ८२ खानेपानीका ग्राहकहरु रहेका छन् । सदरमुकामका उपभोक्ताका लागि जिल्ला अस्पताल क्वाटर, डिभिजन वन कार्यालय, भम्कीचौर र जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरभित्र गरी ४ वटा स्थानमा निर्माण गरिएका ५० हजार लिटरका ट्यांकी मार्फत उपभोक्ताई विहान र बेलुका गरी २ घण्टा खानेपानी उपलव्ध गराईरहेको बृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु