



नेकपा (एमाले)को ११ औं महाधिवेशनमा प्रतिनिधि हुनका लागि पार्टीले सातवटा आधार तय गरेको छ।मंगलबार एमालेले अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै एमालेले ती आधारहरु मातहतका कमिटीहरुमा पठाएको छ।मंसिर २७ देखि २९ सम्म काठमाडौंमा हुने ११ औं महाधिवेशनका लागि मंसिर १३ गते देशैभरि एकैपटक प्रतिनिधि छनोट हुने कार्यतालिका यसअघिको सचिवालय बैठकले सार्वजनिक गरिसकेको छ।


अपानिमा जनाइए अनुसार महाधिवेशन प्रतिनिधी हुनका लागि केन्द्रीय संगठन विभागले प्रमाणित गरेको पार्टी सदस्यताको विवरणका आधारमा गर्नुपर्ने छ।यसैगरी पार्टी केन्द्रीय कार्यालयमा रहेको पार्टी सदस्यता भूगोलमा लैजान चाहनेहरुले कात्तिक मसान्तसम्ममा सदस्यता स्थानान्तरण गरिसक्नुपर्ने अपानिमा जनाइएको छ।पदेन प्रतिनिधि रहेका आयोजकहरुले भने महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुन पाउने छैनन्।
बाँकी सबै पार्टी सदस्यहरुले तोकिएको एउटा मात्र क्लस्टरमा सहभागी भएर प्रतिनिधि छनोट गर्ने पाउने एमालेको अपानिमा उल्लेख गरिएको छ।दलित र श्रमिकको क्लस्टरमा रहेका पार्टी सदस्यहरुको विवरण जिल्ला र प्रदेश कमिटीले एक हप्ता अगाडि नै सार्वजनिक गर्न एमालेले निर्देशन दिएको छ।
यसैगरी जनसंगठनमा रहन चाहने पार्टी सदस्यलाई आफ्नो नाम भूगोल वा विशेष कमिटीबाट अलग गर्नुपर्ने प्रावधान राखिएको छ।प्रतिनिधि छनोट गर्दा कुनै विवाद वा अस्पष्टता भएमा केन्द्रीय संगठन विभागमा सम्पर्क गर्न भनिएको छ तर विवादका नाममा आवश्यक भन्दा बढी प्रतिनिधि पठाए विभागले त्यसलाई मान्यता नदिने अपानिमा जनाइएको छ।
अपानि चाँडै नै मातहतका कमिटीहरुमा पुग्ने क्रममा रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।उनकाअनुसार अपानि प्राप्त गरिसकेपछि त्यसका आधारमा जिल्ला कमिटीहरुले संघीय निर्वाचन क्षेत्र अनुसारका प्रतिनिधि छनोटको व्यवस्था गर्नेछन्।
महाधिवेशनमा केन्द्रीय सदस्य,केन्द्रीय निकाय,भूगोल र विभिन्न क्लस्टर र मनोनित सहित २ हजार १२७ जना प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन्।छनोट भएका प्रतिनिधिले फोटो सहित संगठन विभागले पठाएको ढाँचामा विवरण भरेर केन्द्रीय कार्यालयमा पठाउनु पर्ने अपानिमा उल्लेख गरिएको छ।



फेसबुक प्रतिक्रियाहरु