नागरिक रैबार/बाजुरा १८ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहि साउन २५ गतेदेखि पालिका स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।
स्थानीय तहमा भइरहेको विकास निर्माण बारे सम्वन्धित पालिका स्तरमै गएर छलफल सहीतको प्रशिक्षण आयोजना गर्न लागेको शनिबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजन रोकायाले जानकारी दिएका छन् ।
प्रचार प्रसार विभाग प्रमुख रोकायाका अनुसार पालिका स्तरीय प्रशिक्षण कार्यक्रम साउन २५ देखि भदौं १० गतेसम्म आयोजना गरिने भएका छन् । जिल्ला कमिटीको सातौ बैठकले गरेका निर्णयहरु एमाले बाजुराले शनिबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको थियो ।
९ वटै पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र जनतासँगको सम्पर्क र सम्बन्धलाई बढाउने गरि कमिटीका गतिविधीलाई टोलसम्म लैजाने निर्णयका साथ एमाले प्रशिक्षण केन्द्रीत अभियान सञ्चालन गर्न लागेको जिल्ला अध्यक्ष लालबहादुर ओलीले बताएका छन् ।
एमाले बाजुराको सातौ पूर्ण बैठकले लेखा समिति अध्यक्ष बृजनबहादुर शाहीले प्रस्तुत गर्नु भएको लेखा परिक्षण प्रतिवेदन केन्द्रीय लेखा आयोगबाट अन्तिम लेखा परिक्षण गराउने गरि पारित गरेको छ । भने स्थानीय विभाग, सहकारी तथा गरिबी निवारण विभाग, कृषि तथा पशुपंक्षि विभाग, वन तथा वातावरण विभाग र युवा तथा खेलकुद विभागमा सदस्य मनोनित सहीत पूर्णता दिने गरि निर्णय गरेको छ ।
बैठकले पार्टी केन्द्रले पठाएको अन्तरपार्टी निर्देशन, विधान संसोधन प्रस्ताव र अन्य सर्कुलरलाई सर्वसम्मत समर्थन गरेको छ । कुनै विवाद र बहस विना जिल्ला कमिटीले सर्वसम्मत दुई कार्यकाल र ७० वर्षको उमेर हद खारेजीको विषयमा सर्वसम्मत समर्थन गर्ने निर्णय गरेको छ ।
जिल्ला कमिटीले भदौ ५ गते भित्र सबै स्थानीय पालिका कमिटी र वडा कमिटीलाई विधान संसोधन प्रस्तावमा थप सुझाव संकलन पठाइसक्ने गरि पठाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य सहदेव बोगटी, प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, प्रदेश कमिटी सदस्य कलक बहादुर सिंह सहीत सहभागि थिए ।
पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष लालबहादुर ओली, सचिव काशी विक, लेखा आयोग अध्यक्ष बृजनबहादुर शाही, पार्टी नेताहरु मन्देवी ओली, सीता थापा, रुक्मणी शाह, वुद्धी बोगटी भोटे, लेखा समिति सचिव अमर खड्का लगायत जिल्ला स्थित विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु