नागरिक रैबार/बाजुरा २० माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा स्तरीय सरोकारवाला नियकासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
मदिरा, लागु औषध दुर्व्यसन, सरसफाईको व्यवस्थापन र नियन्त्रणका लागि वडाका सरोकारवाला निकायसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
पछिल्लो समय वडामा मदिरा सेवन र लागु औषध दुर्व्यसनमा युवाहरु दिनप्रतिदिन लागेको भन्दै यसलाई नियन्त्रण गर्नका लागि वडाले आईतबार सरोकारवाला निकायहरुलाई राखेर एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।
कार्यक्रममा सहभागिहरुले वडामा पहिलो प्राथमिकता वडा भित्र मदिरा नियन्त्रण हुनुपर्ने माग गरेका छन् । मदिरा सेवनकै कारण युवाहरु गलत बाटोमा लागेर समाज विग्रदै गएकोले यसलाई नियन्त्रण गर्न वडाले पहिलो प्राथमिकतामा विना इजाजत मदिरा विक्रि गर्नेहरुलाई कारवाहीको दायरामा ल्याउन आवश्यक भएको बताएका हुन् ।
वडाका प्रत्येक टोल, समुदाय र जनप्रतिनिधिहरुले लागु औषध दुर्व्यसन र मदिरा नियन्त्रण एंव न्युनिकरणका लागि प्रहरीलाई सहयोग गर्नुपर्ने कार्यक्रमका प्रशिक्षक तथा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक बहादुर बोहराले बताएका छन् ।
वडा अध्यक्ष सुर्यकिरण विकको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष काल्चे दमाई रहेका थिए ।
त्यसै गरी विशिष्ट अतिथिमा बडीमलिका नगरपालिकाका कार्यपालिका सदस्य राजेश पायल विक, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनक बहादुर बोहरा, एमाले जिल्ला कमिटी सदस्य माया खड्का, सरिता नेपाली, मार्तडी गाविस पुर्व उपाध्यक्ष किट्टो लवार, क्षेत्रपाल जया लवार रहेका थिए ।
वडा कार्यालयमै आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बाजुरा जिल्लाको समग्र शान्ति सुरक्षामा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख डिएसपी दिलिप कुमार गिरी लगायत प्रहरीको सिंगाे टिमले खेलेको भुमिकाको उच्च कदर गर्दै वडाका तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा वडा भित्रका महिला समुह, युवा समुह, बयवृद्ध, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु