नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुरामा मादक पदार्थ सेवन गरेर बस चलाउने एकजना चालक लाई प्रहरीले पक्राउ गरेको छ । विहिबार साँझ बाजुराबाट धनगढी तर्फ जाँदै गरेको शिवपुरी यातायात प्रालिको बसका चालकले मादक पदार्थ सेवन गरेर बस चलाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रहरीका अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट खटिएको टोलीले सवारी चेकजाँच गर्ने क्रममा कारागार नजिकैको सडकबाट ना ७ ख ४९८८ नम्वरका बस चालकलाई पक्राउ गरेको हो । बसचालकलाई कानुन अनुसार जरिभाना तिराएर छाडिएको प्रहरीले बताएको छ ।
मापसे गरेका चालकको ठाउँमा अर्को चालकको व्यवस्था गरेर बस चलाउन यातायात व्यवसायीलाई प्रहरीले अनुरोध समेत गरेको छ । यता बसपार्क काउन्टरका धनबहादुर रोकायाका अनुसार उक्त बस चालक आज विहान मात्रै धनगढीबाट बाजुरा आएको थियो ।
दशैतिहार सकिएसंगै जिल्ला बाहिर जाने यात्रुहरुको चाप बढेकाले सो बसलाई फेरी धनगढी जानका लागि पठाईएको थियो । तर हामी अर्को चालकको व्यवस्था गर्दैछौ उनले भने, । मापसे गरेकै कारण बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएपछि मार्तडीबाट धनगढीतर्फ जाने यात्रुहरु भने मार्तडीमै अलपत्र परेका छन् ।
दशै तिहारपछि यात्रुको चाप बढ्ने र जुनसुकै बेला दुर्घटना बढ्न सक्ने भन्दै जिल्लामा चल्ने सवारी साधनमाथि ट्राफीक प्रहरीले चेकजाँचमा कडाई गर्दै आएको छ ।
फेसबुक प्रतिक्रियाहरु