होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, भदौ ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • धर्म / संस्कृति
  • सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु
धर्म / संस्कृति

सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

  • नागरिक रैबार
सुदूरपश्चिममा छाउगोठ बस्दाको पीडा, पाँच वर्षमा ८ महिलाको मृत्यु

धनगढीः सुदूरपश्चिममा पाँच वर्षको अवधिमा छाउपडी गोठमा बस्नुपरेकै कारण आठ महिलाले ज्यान गुमाएका छन्। छाउपडी प्रथाले सुदूरपश्चिममा सबभन्दा कसिलो जरो गाडेको छ। थुप्रै सचेतना अभियान चलाइएका भए पनि महिलालाई कष्ट बेहोर्न बाध्य पार्ने यो चलन अझै हट्न सकेको छैन। छाउपडी प्रथालाइ न्यूनीकरण गर्न थुप्रै अभ्यास भने नभएका होइनन्। तर जे जति लगानी गरियो, त्यसअनुसार प्रतिफल भने पाइएन।

यो कुप्रथालाई न्यूनीकरण गर्न भनेर महिला तथा बालबालिका कार्यालय, जिल्ला स्वास्थ्य, गैरसरकारी संस्थाअन्तर्गतका धेरै एनजीओ/आईएनजीओले थुप्रै कार्यक्रम गरेका छन्। तर कत्तिको प्रभावकारी भयो? यसको लेखाजोखा न सरकारी कार्यालयले राखेका छन् न त गैरसरकारी संस्थाले नै। जब छाउपडी गोठमा महिलाको ज्यान जान्छ तब सरोकारवालाले सदरमुकामका होटलमा बहस चलाउन थाल्छन्।

अभियान सञ्चालन गर्ने बहानामा तालिम, गोष्ठी चलाएर काम पूरा भएको प्रतिवेदन पेस गर्छन्। अहिलेसम्म छाउगोठमा ज्यान गुमाउने महिलाको संख्या जति बाहिर आएको छ त्योभन्दा निकै बढी हुन सक्ने अनुमान गर्न सकिन्छ। चिसो महिना सुरु भएपछि छाउगोठमा ज्यान जानेको संख्या पनि बढ्न थाल्छ। कारण, घरबाट टाढा गोठ हुन्छ, नुहाउन, लुगा धुने पानी हुँदैन, धोएका लुगा सुक्दैनन्, बाक्लो लुगा सुक्न ३ दिनसम्म लाग्छ, घरबाट पातला लुगा दिन्छन्।

विज्ञापन

सीधा उभिन नमिल्ने गोठमा आगो बाल्दा धूवाँ बाहिर जान पाउँदैन र गोठभित्रै निसासिएर ज्यानै जान्छ। टाढाको गोठमा जाँदा कतिपयले जबरजस्ती करणीको सिकारसमेत हुनुपरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा ८ जनाको छाउपडीकै कारण मृत्यु भएको देखिएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार २०७६ देखि हालसम्म छाउगोठमा ८ महिलाको मृत्यु भइसकेको छ।

महिनावारी भएको बेला छाउगोठमा गत वर्ष बैतडीको पञ्चेश्वर गाउँपालिका–४ कि १६ वर्षीया किशोरी अनिता चन्दको सर्पले डसेर मृत्यु भयो। छाउपडीका कारण सबैभन्दा बढी घटना अछाम र बझाङमा हुने गरेको प्रहरीको तथ्यांक छ। २०७६ सालयता अछाममा मात्र महिनावारी भएको बेला छाउगोठबाट निस्सासिएर ३, सर्पले डसेर एक र जबरजस्ती करणीका कारण एक महिलाको मृत्यु भएको छ।

त्यस्तै बाजुराको बुढीगङ्गा नगरपालिका–९ अगाउपानीमा छाउगोठमा आगलागी भएर आमा छोरा समेत ज्यान गएको थियो। देवीदेवता रिसाउने, घरपरिवारमा अनिष्ट हुने लगायत सोचका कारण महिनावारी भएका बेला खाने कुरा पनि बाँध्ने गरेको पाइएको छ। गाउँघरमा यस्तै चलनका कारण आफुहरु पनि अलग्गै बस्ने र ४ दिनसम्म महिनावारी कडाइका साथ बार्ने गरेको बैतडीको मेलौली नगरपालिका–१ कि सुनीता दयालले बताइन।

‘चार दिनसम्म अलग्गै बस्छौ। दुध दही खान मिल्दैन। पहिलेदेखि नै चलिआएको चलन सहजै छोड्न सकिने अवस्था छैन’, उनले भनिन्। महिनावारी हुँदा छाउगोठमै कतिपय महिलाहरू जबरजस्ती करणीको सिकार बन्न पुगेका छन भने भने कतिको सर्पले डसेर ज्यान गएको छ। छाउगोठ बस्ने चलन अझै कामयै रहेको महिला अधिकारकर्मी सरस्वती नेपालीले बताइन।

‘महिनावारी भएका बेला घरमै बस्दा देवीदेवता रिसाउने डरले घरभन्दा अलग्गै (टाढा) बस्ने, दुध दही नखाने चलन अझै कायमै छ’, उनले भनिन्। छाउपडी प्रथाको अन्त्यका लागि भनेर कानुन पनि बनेको छ। यसलाई एउटा अपराधकै रूपमा पनि लिएको छ। तर पनि प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन्।

दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार