हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।
हुन त यस दिवसलाई नारी दिवस भन्ने कि महिला श्रमिक दिवस ? भन्ने कुरामा समेत विवाद देखिने गरेको छ । शब्दमा जे भने पनि यस दिनलाई नारीको त्याग र समाजप्रतिको बलिदानको सम्झनाको दिनको रूपमा लिइन्छ । त्यसैले मार्च ८ लाई महिलाहरूप्रतिको प्रेम, प्रशंसा, आदर र सम्मानको दिनको रूपमा संसारभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउने गरिन्छ ।
नारी वास्तवमै घर, परिवार, समाज, राष्ट्र अनि समग्र संसारकै ऐश्वर्यकी सर्जक हुन् । नारी त्यो शक्ति हो, जसले आफू छोरी, दिदी-बहिनी, बुहारी, आमा, हजुरआमा आदिको रूपमा आफ्नो हरेक इच्छा, आकांक्षालाई पछि सारेर घर-परिवारको उन्नति र प्रगतिको लागि त्याग गरेकी हुन्छिन् । आफ्नो परिवारको वैभव र ऐश्वर्यका लागि हरपल प्रयासरत रहन्छिन् । घरपरिवारलगायत समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ।
तर परापूर्वकालदेखि नै नारीलाई सधैं पछाडि पारियो । नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाहरूको अवस्था अत्यन्त दयनीय रहेको छ । देशको जनसंख्याको आधाभन्दा बढी हिस्सा ओगटेका नारीहरू अझै पनि दाइजो, घुम्टो, विधवा र छाउपडी प्रथा जस्ता कुरीतिहरू झेल्न बाध्य छन् । धेरैजसो महिला अझै पनि भात, भान्सा, मेलापात, घाँसदाउरामै सीमित छन् ।
समय र परिस्थितिसँगै समाज परिवर्तन हुँदै आएको छ । सती प्रथा जस्तो क्रूर र अमानवीय प्रथा पनि देशबाट उन्मूलन भई विस्तारै महिलाहरूको स्थितिमा सुधार आएको भने देख्न सकिन्छ । छोरीहरूले पनि विद्यालय जाने र शिक्षा हासिल गर्ने अवसर पाउन थालेका छन् । उच्च शिक्षाको लागि विदेश पनि जान थालेका छन् । घरको काममा मात्र सीमित नभई विभिन्न पेशा, व्यवसाय र नोकरीमा पनि संलग्न हुन थालेका छन् ।
नेपालमा पनि विभिन्न समयमा महिला अधिकारका लागि सकारात्मक पाइलाहरू विस्तारै अघि नबढेको भने होइन । तर, अझै पनि धेरै गर्न बाँकी नै छ । चेलीबेटी बेचबिखन, बलात्कार र हत्या, घरेलु हिंसा र सामाजिक तथा यौनजन्य हिंसाका विरुद्ध निर्धक्क भएर आवाज उठाउनु जरूरी छ
यी केही अवस्थागत परिवर्तनले नेपाली समाजमा पनि नारीले आफ्नो स्थान बनाउँदै गएको देख्न सकिन्छ । तर, यी प्रयत्नहरू अझै पर्याप्त छैनन् । किनकि समाज जतिसुकै बदलिए पनि यही समाजमा एक नारीले स्वतन्त्र भएर बाँच्न सकेकी छैनन् । समाजमा अझै स्वतन्त्र भएको अनुभव गर्न पाएका छैनन् ।
मानव सभ्यताको यस युगसम्म आइपुग्दा पनि यो समाजमा एउटी नारीको बौद्धिकताको उपयोग हुने वातावरण बन्न नसक्नु दुःखपूर्ण अवस्था हो । नारी केवल सौन्दर्यकै प्रतीक मात्र होइनन्, उनी बौद्धिक पनि हुन् । तर, समाजले नारीको बौद्धिकतालाई अजमाउन सकेको छैन ।
किनकि समाज र राज्यका सबै संरचनाहरूमा नारीको प्रत्यक्ष सहभागिता अझै हुनसकेको छैन । सिद्धान्तमा यी अवसर भए पनि त्यसको प्रयोगात्मक अभ्यासको थालनी हुनै सकेको छैन । उदाहरणका लागि छोरा सरह छोरीहरूलाई पनि पैतृक सम्पत्तिको अधिकार सुरक्षित गरिएको भए पनि त्यसको व्यावहारिक प्रयोग हुनसकेको छैन र सहजै हुने पनि छैन ।
अर्को उदाहरण यौनको सवाल हो । यसमा महिलालाई समाजले स्वतन्त्रता दिएकै छैन । वास्तवमा मानव जीवनमा यौन नितान्त उसको व्यक्तिगत र शारीरिक विषय हो । त्यो सोही व्यक्तिमा भर पर्दछ । व्यक्तिले यौनलाई निजी विषयको रूपमा ग्रहण गर्दछ । यसलाई कसरी उपयोग गर्ने भन्ने कुरा उसको व्यक्तिगत निर्णयमा निर्भर रहन्छ ।
मानव सभ्यताको प्राचीन युगदेखि आजसम्म आइपुग्दा पनि यौन सधैं व्यावहारिक भइकन विवादास्पद पनि बनेको देखिन्छ । यो मानिसले आफ्नो शरीर सँगै लिएर आएको र निजी विषय भएकाले यसबाट कोही पनि मुक्त रहन सक्दैनन् । ठूला-ठूला महापुरुषदेखि ध्यानी तपस्वीसम्मले आफ्नो अनुष्ठान भंग गरेका कैयौं बिम्बात्मक उदाहरण पाइन्छन् । तर यी यावत् प्रकारका उदाहरणमा पुरुष चाहिं यौनको विषयमा बढी संयमित रहने र महिला चाहिं खुल्ला रहने पात्रको रूपमा वर्णन गरिएका हुन्छन्, जुन सरासर गलत हो ।
पुरुषद्वारा लेखिएका ती काव्य कृतिहरू भएकाले तिनमा लिंगीय चेतनाले बढी काम गरेको देखिन्छ । यथार्थमा यौनलाई संयमी बनाउन नसक्ने भनेका पुरुषहरू नै हुन्छन् । जो घर-बजार जतासुकै पनि आफूलाई सगौरव यौन बिम्वका रूपमा प्रस्तुत गरिरहेका हुन्छन् । महिलालाई बन्दीको रूपमा वेश्यालयमा कैद गर्न रुचिकर ठान्छन् । अनि जहाँ पुरुष खुल्ला रूपले पस्छ र निस्कन्छ । वेश्यालयमा पसेर निस्कने पुरुष माथि कुनै समाचार बन्दैन तर तिनै पुरुषले उपयोग गरिने महिलाको अनुहार छोपेर पत्रपत्रिका र टेलिभिजनमा समाचार बनाइन्छ । आखिर किन ? किनकि यो समाजमा यौनको सवालमा पुरुष स्वतन्त्र हुन्छ तर, एउटी नारी सधैं बन्धक ।
नारी दिवसको सन्दर्भलाई जोड्ने हो भने महिलाको हक, अधिकार र सम्मानको कुरा गरेर कहिल्यै नथाक्ने पुरुषले आफ्नै श्रीमतीलाई संस्कार, परम्परा र प्रचलनको नाउँमा घरभित्रको नियममा कैद बनाएकै हुन्छ । तसर्थ प्रत्येक पुरुषले जबसम्म आफ्नी पत्नीमाथि विश्वास गर्न सक्दैन तबसम्म न त उसको घर सुन्दर रहन्छ न त समाज नै व्यवस्थित हुन्छ ।
आफ्ना आमा-बहिनी र श्रीमतीलाई पनि विश्वास गर्न नसक्नेले कसरी सुन्दर समाज र सुखी परिवारको कल्पना गर्न सक्दछ ? अनि कसरी त्यस्ता पुरुषले सभ्य र समतामूलक समाज बनाउलान् ? हो, लोग्ने-स्वास्नी बीचको सम्बन्ध विश्वासमा अडिएको हुन्छ । त्यसलाई अड्याउने जिम्मा दुवैको हुन्छ । यो एउटा घरभित्र मात्र व्यवस्थित भएर हुँदैन समाजमा नै त्यसको विशिष्ट स्थिति निर्माण हुनुपर्दछ । यसका लागि पुरुष र महिला दुवैको महत्वपूर्ण भूमिका रहन्छ ।
यौनजन्य चेतनाले महिलामा पनि उत्तिकै संकुचित दृष्टिकोण निर्माण भएको हुन्छ । तिनले पनि आफ्नो पति, प्रेमी वा बाबु माथि उत्तिकै शंका गरिरहेका हुन्छन् । अनि यही शंकाको खाडलमा फसेको समाज नै समस्याको ठूलो पहाड हो । अक्सर धेरैजसो दम्पतीहरू यही शंकाको खाडलमा पर्दछन् । धेरैजसो अवस्थामा सामाजिक सहजीकरणले सम्बन्धहरू पुनस्र्थापित भएका हुन्छन् भने अधिकांश केसको निरुपण भने कानुनी आधारबाट नै हुने गरेको छ ।
घरपरिवार भित्र उठ्ने यस्ता समस्यामा दुवैतिरको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । तथापि निर्णायक शक्ति भने पुरुष नै हुन्छन् । जस्तो कि कुनै परपुरुषसँग सम्बन्ध बढाएको थाहा पाए पतिले तत्कालै आफ्नी पत्नीलाई परित्याग गर्न सामाजिक वा कानुनी अधिकार प्रयोग गर्न सक्छ । तर, त्यही अवस्थामा पति परस्त्रीगामी भएको प्रमाण पुगे पनि पत्नीले त्यस्तो निर्णय लिइहाल्न सक्दिनन् । किनकि उनी आफ्नो घरपरिवार, समाज र कानुनसँग पनि सम्झौता गर्न बाध्य हुन्छिन् ।
यसको मुख्य कारण महिला आफैंमा आर्थिक रूपमा आत्मनिर्भर हुन नसक्नु र सामाजिक वा कानुनी रूपमा पूर्णतया सुरक्षित हुने वातावरण नहुनु नै हो । त्यसैले नारीलाई त्यो सामाजिक र कानुनी हकका साथै सुरक्षित वातावरण निर्माण गरिदिनु समाजकै दायित्व हो ।
साथै महिला पनि आफैं जागरुक हुनु जरूरी छ । आफ्नो हकअधिकार सुनिश्चितताका लागि महिलाहरू आफैं सचेत हुनुपर्छ । यस मानेमा महिलाहरू संघर्षको मैदानबाट कहिल्यै पनि पछि हट्नुहुँदैन । पुरुषप्रधान समाजको चारित्रिक वनावटमा सुधार नआउँदासम्म महिला हक, अधिकारका सवाल केवल नारामै सीमित हुनेछन् । यसर्थ महिलाले सर्वप्रथम यौन र प्रजननका विषयमा आफ्नो निर्णय गर्नुपर्दछ ।
जसले आफ्ना विषयमा जेहाद छेडेका छन् उनीहरू नै स्वतन्त्र र निर्भीक जीवन बाँचिरहेका छन् । तिनै नारीहरू विश्व कीर्तिमानी कार्यहरूमा सफलताका साथ अघि बढेका छन् । महिलाहरू सशक्त भएर आफ्नो भविष्य आफैंले बनाउन सक्षम छन् ।
हाल संसारभर नै नारीहरूको उत्थान र विकासको लागि धेरै प्रशंसनीय तथा प्रभावकारी कदमहरू चालिएका छन् । त्यस्तैगरी नेपालमा पनि विभिन्न समयमा महिला अधिकारका लागि सकारात्मक पाइलाहरू विस्तारै अघि नबढेको भने होइन । तर, अझै पनि धेरै गर्न बाँकी नै छ । चेलीबेटी बेचबिखन, बलात्कार र हत्या, घरेलु हिंसा र सामाजिक तथा यौनजन्य हिंसाका विरुद्ध निर्धक्क भएर आवाज उठाउनु जरूरी छ । यी सबै विभेदबाट मुक्तिका साथ सम्मानित जीवनयापन गर्ने वातावरण बनाउने कार्यमा हामी सबैले हातेमालो गर्दै अघि बढ्नु जरूरी देखिन्छ ।
त्यसैले यो दिनमा विशेषगरी पिछडिएका महिलाहरूको उद्धार गरी शिक्षा र रोजगारीको अवसर दिलाएर उनीहरूको जीवन सहज र सफल बनाउने कार्यमा लागेर अन्तर्राष्ट्रिय नारी दिवस मनाइनुपर्दछ । जहाँ नारीको सम्मान हुन्छ, त्यहाँ सुखी, शान्त र समृद्ध समाजको निर्माण सम्भव हुनेछ । नारी दिवसको यही शुभकामना ! अनलाइनखबरबाट
फेसबुक प्रतिक्रियाहरु