होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, मंसिर ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • म्यादीमा ३० वर्षमुनिका युवाको आवेदन ७४ प्रतिशत
समाचार

म्यादीमा ३० वर्षमुनिका युवाको आवेदन ७४ प्रतिशत

  • नागरिक रैबार
म्यादीमा ३० वर्षमुनिका युवाको आवेदन ७४ प्रतिशत

काठमाडौँ — स्थानीय तहको निर्वाचन सुरक्षामा १ लाख म्यादी प्रहरी भर्नाका लागि आवेदन मागिएकामा करिब ३ लाखको दरखास्त परेको छ । सबैभन्दा बढी आवेदन १८ देखि ३० वर्ष उमेर समूहको छ । प्रहरीका अनुसार २ लाख २३ हजार ६ सय ३२ पुरुष, ६९ हजार ६ सय ८० महिला र २ जना यौनिक तथा लैंगिक अल्पसंख्यकले म्यादी प्रहरी बन्न आवेदन दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयले १८ देखि ५४ वर्षसम्म उमेरका म्यादी भर्ना गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा चैत ६ देखि ११ सम्म आवेदन खुलाएको थियो । आवेदकमध्येबाट चैत १५ देखि छनोट गर्ने, २२ गते अन्तिम नतिजा प्रकाशन गरी २८ गतेबाट छानिएकालाई निर्वाचन सुरक्षा तालिम दिने तयारी छ । प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णुकुमार केसीका अनुसार ३० वर्षभन्दा कम उमेर समूहका २ लाख १७ हजार १ सय ५ जना आवेदक छन् । यो दरखास्त दिनेमध्येको ७४ प्रतिशतभन्दा बढी हो ।

यसमध्ये पनि १८ देखि २० वर्ष उमेरका ८३ हजार ६ सय २९ र २१ देखि ३० वर्ष समूहका १ लाख ३३ हजार ४ सय ७६ जना छन् । ३१ देखि ४० वर्ष उमेरका ५४ हजार ८ सय ४७ र ४१ देखि ५४ वर्ष उमेर समूहका २१ हजार ३ सय ६२ जना आवेदक छन् । यसअघिका निर्वाचनमा म्यादी बनेका २१ हजार ८ सय ८ जनाको पनि आवेदन परेको छ । निवृत्तिभरण र उपदानमा निस्केका २ हजार ५ सय ४८ पूर्वसैनिक, १ हजार ४ सय ४७ पूर्वप्रहरी, ४ सय ९४ पूर्वसशस्त्र प्रहरी र ३५ जना पूर्वसशस्त्र वन रक्षकले पनि म्यादी बन्न चाहेका छन् ।

विज्ञापन

समाजशास्त्री गणेश गुरुङले मागको तेब्बर संख्यामा दरखास्त पर्नु र ३० वर्षभन्दा कम उमेर समूहको हिस्सा सबैभन्दा बढी देखिनुले देशको बेरोजगारको अवस्था चित्रण गर्ने बताए । ‘नियमित रोजगारीमा रहेका, वैदेशिक रोजगारीमा गएका र उच्च शिक्षा हासिल गरिरहेका बाहेकले ४० दिनको जागिर खान यति धेरै संख्यामा आवेदन दिएका छन् । यसमा पनि सबैभन्दा बढी ऊर्जाशील उमेर समूह म्यादी प्रहरीमा भर्ना हुन खोजेको देखिन्छ,’ उनले भने, ‘यो आँकडा देशको बेरोजगारीको ऐना पनि हो । देश चलाउनेले यसलाई सम्बोधन गर्न सकेनन् ।’ गुरुङले रोजगारी अभावमा ३० वर्षभन्दा कम उमेरको समूहलाई नै राजनीतिक दलदेखि कानुनविरोधी समूहसम्मले आर्थिक प्रलोभनमा पारेर दुरुपयोग गर्ने जोखिम रहेको बताए ।

प्रहरी प्रधान कार्यालयका अनुसार साधारण लेखपढ गर्न सक्ने आवेदक सबैभन्दा बढी १ लाख ७७ हजार ७ सय ५० जना छन् । एसएलसी/एसईईसम्मको योग्यता भएका ८३ हजार २ सय ११ जना छन् । यस्तै दस जोड दुई अध्ययन पूरा गरेका ३२ हजार १२ जनाले पनि म्यादीमा आवेदन दिएका छन् । स्नातक र स्नातकोत्तर गरेकाबाट परेको दरखास्त संख्या ३ सय ४१ छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं र कैलालीमा उच्च शिक्षा हासिल गरेका ४६–४६ जनाले आवेदन दिएका छन् । प्रदेश १ बाट स्नातक वा त्यसमाथिको अध्ययन गरेका ४६ जनाको आवेदन परेको छ । मधेस प्रदेशबाट २६, वाग्मतीबाट ३७, उपत्यकाका ३ जिल्लाबाट ७०, गण्डकीबाट ३७, लुम्बिनीबाट ६२, कर्णालीबाट ७ र सुदूरपश्चिम प्रदेशबाट ५५ वटा आवेदन उच्च शिक्षा हासिल गरेकाहरूको छ । उच्च शिक्षा हासिल गरेका व्यक्ति म्यादीमा आउन चाहनु सकारात्मक संकेत नै भएको प्रहरी प्रवक्ता केसी बताउँछन् । समाजशास्त्री गुरुङ यसलाई बेरोजगारीको सूचकका रूपमा अर्थ्याउँछन् । ‘उच्च शिक्षा हासिल गरेर बसेको जनशक्ति नै बेरोजगार बन्नुपरेको प्रमाण हो यो,’ उनले भने ।

म्यादीका लागि प्रहरी जवानले पाउने मासिक सुरु स्केल (तलब) २२ हजार ६ सय ६० रुपैयाँअनुसार ४० दिनका लागि ३० हजार २ सय ४०, रासनबापत एकमुष्ट ७ हजार २ सय, पोसाकबापतको एकमुष्ट ६ हजार र सवारी खर्चबापत एकमुष्ट १ हजारका दरले ४४ हजार २ सय ४० रुपैयाँ रकम विनियोजन गरिएको छ । ‘आफू कुनै न कुनै रोजगारीमा भएको भए यसरी डेढ महिनाका लागि जागिर खानेको लर्को लाग्दैन थियो,’ गुरुङले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार