होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम: खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्
समाचार

सुदूरपश्चिम: खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्

  • नागरिक रैबार
सुदूरपश्चिम: खेलाडी छन्, खेलकुदका पूर्वाधार छैनन्

धनगढी: खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय क्षेत्रमा देशलाई चिनाउन सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्दै आएको सुदूरपश्चिम प्रदेशमा खेलकुदका लागि चाहिने पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव छ।

यो प्रदेशमा खेलकूद सामग्री, मैदान लगायतका भौतिक संरचना तथा पूर्वाधार र दक्ष प्रशिक्षकको अभावजस्ता समस्या खेलाडीले झेल्दै आएका छन्। यसका बावजूत पनि क्रिकेट, तेक्वान्दो, भलिबल, बक्सिङ, फुटबल जस्ता खेलमा प्रदेशले राष्ट्रिय र अन्तराष्ट्रिय खेलाडी जन्माइसकेको छ।

पर्याप्त पूर्वाधारको अभाव हुँदा पनि सुदूरपश्चिमका धेरै खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गरेर देशको नाम चिनाउन सफल भएको क्षेत्रीय खेलकुद विकास समितिको कार्यालय धनगढीका प्रमुख टोपबहादुर विष्टले बताए। ‘पूर्वाधारको अभावमा खालीचौर र ढुङ्गामाटोमा खेल्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी बन्न सफल भइरहेका छन्’, उनले भने, ‘तर खेलका पर्याप्त पूर्वाधार जुटाउनेतर्फ राज्यको ध्यान कहिल्यै पुग्न सकेको छैन।’

विज्ञापन

अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी दीपक विष्ट र सुनिल शर्मा, भलिवलका भरत शाह, जगदीश भट्ट, नेबिका चौधरी, सरस्वती चौधरी, जनक विष्ट, फुटबलका चन्द्रा भण्डारी, बक्सिङका बिष्नुबहादुर सिंह र डम्मर भट्ट, ब्याडमिन्टनका पशुपति पनेरु, इन्द्र महता, रुपेशसिंह धामी सुदूरपश्चिमकै खेलाडी हुन्।

क्रिकेटरको हकमा यो प्रदेशले फड्को मारेको देखिन्छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने नेपाली टोलीमा सुदूरपश्चिम प्रदेशबाट ५० देखि ६० प्रतिशतभन्दा बढी क्रिकेटरको सहभागिता रहने गरेको छ। नाम चलेका क्रिकेटर भुवन कार्की, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, नरेश बुढाऐर, प्रदीप ऐरी, चन्द्र साउँद, ललितसिं भण्डारी, दिलीपनाथ, भीम सार्की, सन्दीप जोरा, सुवोध ऐरलगायत खेलाडी यसै प्रदेशबाट उदाएका हुन्।

पर्याप्त पूर्वाधार र खेल सामग्रीको अभाव भइरहँदा खेलमा अभिरुची राख्ने खेलाडी निरुत्साहित हुनुपर्ने अवस्था रहेको खेलप्रेमीको भनाइ छ। स्वस्थ शरिर बनाउन र आत्मरक्षाका लागि उपयोगी मानिने बक्सिङ खेलको विकास र विस्तारमा राज्यको लगानी सबैभन्दा निराशाजनक रहेको यो खेलका प्रशिक्षकले बताउने गरेका छन्। राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनको समयमा बाहेक अन्य कुनै पनि समयमा बक्सिङको विकास र विस्तारका लागि राज्यको लगानी शून्य प्राय: रहेको बक्सिङका ‘रेफ्री’ शेरबहादुर साहु बताउँछन्।

यो खेलमा चाहिने जति लगानी हुन नसक्दा इच्छुक व्यक्ति, खेलाडी र संस्थाले व्यक्तिगत वा संस्थागत लगानीका साथै अरुबाट चन्दा सहयोग जुटाएर बक्सिङका प्रतियोगिता सञ्चालन गर्नुपरेको जनाइएको छ। ‘ग्लोब विनानै खाली हातले खेलाडीले बक्सिङ प्रशिक्षण लिनुपरेको अवस्था छ’, साहुले भने, ‘वर्षेनी प्रशिक्षकको सङ्ख्या पनि घट्दै जाँदा इच्छुक हुनेले पनि प्रशिक्षण नपाएको अवस्था छ।’

बक्सिङ खेलका लागि रिङ(बक्सिङ खेलाइने ठाउँ) बक्सिङ ग्लोब, प्याड, पञ्चिङ प्याड, किट ब्यागलगायत खेल सामग्री चाहिने भए पनि यी सामग्रीको खेलाडीलाई अभाव हुने गरेको छ। बक्सिङलगायत खेलकुदको हलका साथै एथलेटिक्स, क्रिकेट, ह्याण्डबल, भलिबल, जुडो, टेबुलटेनिस, बास्केटबलका प्रशिक्षकको अभाव छ। स्वयंसेवकको रुपमा क्रिकेटको प्रशिक्षकको भूमिका निर्वाह गरिरहेका ज्ञानेन्द्र क्षेत्रीले क्रिकेटको प्रशिक्षण गराउन ठूलो मैदान चाहिने भएपनि त्यसको अभावमा प्रशिक्षण दिन समस्या भइरहेको बताउँछन्।

सात वर्षदेखि स्वयंसेवी भएर प्रशिक्षणमा खटिरहेका उनले भने, ‘निर्माणाधीन रङ्गशालामा क्रिकेट खेलाउन सकिनेगरी मैदान छैन, तैपनि जसोतसो प्रशिक्षण दिइरहेका छौँ।’ धनगढी र महेन्द्रनगरमा रहेका बहुउद्देश्यीय कवर्डहल मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएका छन्।

अछाम, बैतडी, बझाङमा कबर्ड हल नै छैनन्। महाकाली नदीमा केही वर्षअघि आएको बाढीले दार्चुला सदरमुकाममा रहेका कबर्डहल भत्किएर क्षति पगेको थियो। यसपछि त्यहाँ कबर्ड हल बनेको छैन। डडेलधुरामा कबर्ड हल निर्माणाधीन छ। डोटीमा इन्डोर खेल खेल्न सकिने कबर्ड हल छ। पहाडी क्षेत्रका कतिपय जिल्लामा खेलकुदका आफ्ना भवन छैन।

दश वर्षअघि धनगढीमा निर्माण थालिएको प्यारापिट सहितको क्षेत्रीय रङ्गशाला निर्माणको काम अझैँ पूरा हुन सकेको छैन। रङ्गशालामा निर्माण गरिने १६ प्यारापिट (दर्शक बस्ने ठाउँ) मध्ये गएको दशवर्षमा तीन प्यारापिटको निर्माण पूरा हुनसकेको छ। पर्याप्त बजेट विनियोजन नहुँदा बाँकी १३ प्यारापिटको निर्माणको काम अधुरै छ। चालु वर्षमा भने प्यारापिट निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको बताइएको छ।

कार्यालय प्रमुख विष्टले भने, ‘पटकपटक बजेट पेश गयौ तर माग अनुसारको पर्याप्त बजेटको व्यवस्था नहुँदा रङ्गशालाका आवश्यक संरचना निर्माण हुन सकिरहेको छैन।’ विसं २०६८ मा धनगढीमा आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीको क्रममा क्षेत्रीय रङ्गशाला निर्माण सुरु भएको थियो। रङ्गशाला परिसरमै ‘सेमी कबर्ड हल’ निर्माणाधीन छ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय पदक प्राप्त गरी खेलबाट सन्याश लिएका प्रदेशका खेलाडीको लागि ‘निवृत्त खेलाडी कल्याणकारी कोष’ को व्यवस्था गर्ने प्रदेश सरकारको नीति कार्यक्रम पनि कार्यान्वयन आउन सकेको छैन। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहले ऐनअनुसार गठन भएको प्रदेश खेलकुद परिषद्लाई अधिकारविहीन बनाइँदा सोचेको काम हुन नसकिरहेको बताए।

‘यसका बावजूत सरकारको नीतिअनुसार गत वर्ष प्रदेशमा ११ निर्वाचन क्षेत्रमा ११ खेल मैदान निर्माण गरेका छौँ’, सिंहले भने, ‘महेन्द्रनगरमा बहुउद्देश्यीय कबर्ड हल, टीकापुरमा स्पोट्र्स एकेडेमी, डडेलधुरामा बहुउद्देश्यीय कबर्ड हलको निर्माणको प्रक्रिया अघि बढिसकेको छ।’ धनगढी उपमहानगरपालिका–३ मा रहेको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने लक्ष्यसहित सरकारले पूर्वाधार विकास समिति गठन गरेपछि भने खेलाडी र खेलप्रेमीमा नयाँ आसा जागेको छ। उक्त मैदानलाई व्यवस्थित र सुविधा सम्पन्न क्रिकेट मैदान बनाउने लक्ष्यसहित विगतमा धनगढी क्रिकेट एकेडेमी(डिसिए)को पहलमा ‘ड्रिम फाप्ला’ अभियान सुरु गरिएको थियो।

कर्मचारीमा अन्योल

क्षेत्रीय र जिल्ला खेलकुदका कार्यालयमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी कार्यरत छन्। यी कर्मचारीलाई प्रदेश खेलकुद परिषद्मा समायोजन नगर्दा अन्योलको वातावरण देखिएको छ। जिल्ला खेलकुद समितिका एक कर्मचारीले भने, ‘कर्मचारी समायोजन नहुँदा भइरहेको अलमलले खेलकुदका गतिविधि सञ्चालनमा समस्या भइरहेको छ।’

यसैबीच पोखरामा आयोजना हुन लागेको राष्ट्रिय खेलकूद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३३ खेलमा सहभागिता हुन लागेको छ। आर्चरी, स्क्वास, प्याराग्लाइडिङबाहेक ३३ खेलमा सुदूरपश्चिम प्रदेशले सहभागिता जनाउन लागेको क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ। यसका लागि विभिन्न खेलको छनोट प्रतियोगिता सुरु भइसकेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार