सुर्खेत – अहिले देशभर बलात्कारको विषयमा बहस भइरहेको छ । अधिकांश यस्ता घटनाहरु गाउँघरमै मिलाउने गरिएको पाइन्छ । यदि बाहिर प्रकट भए पनि पीडितले पीडामाथि पीडा खेप्नुपर्ने अवस्था छ । समाजले पीडितलाई न्यायको बाटोतिर लैजानको सट्टा पीडा दिन्छ, अनि कसरी खुल्न सक्छन् त पीडित ? आफूमाथि बलात्कार भएको विषयमा बाहिर आफन्तलाई सुनाएपछि अझै पीडित भएकी छन् दैलेखकी एक किशोरी । यति मात्र होइन होइन आफूमाथि अन्याय भयो भनेर बाहिर घटना ल्याउँदा पीडित आफैँले गाउँ नै छोड्नुपरेको छ ।
आफ्नै बुवाद्वारा बलात्कार भएको कुरा बाहिर ल्याएपछि दैलेखकी १७ वर्षीया सुनिता बिक (नाम परिवर्तन) गाउँ छोड्न बाध्य भएकी छन् । विगत तीन वर्षदेखि बलात्कार हुँदै आएकी उक्त किशोरीले न्याय पाउने आशमा आफन्तलाई पीडा सुनाइन् । तर, उल्टै न्याय त परै जाओस् अनेक आरोपहरु लगाएर पीडितमाथि झन् पीडा थपे ।
अहिले ती किशोरी १२ कक्षामा पढ्दैछन् । ‘नौ कक्षा पढ्दा देखि नै आमा नभएको बेलामा राति म माथि बलात्कार गर्नुहुन्थ्यो, मुख बुजिदिएकाले चिच्याउन पनि पाउदैनथे’ उनले भनिन्, ‘नाई यस्तो नगर्नु भनेर जति भन्दा पनि मान्नुभएन, घरमा मम्मी नभएको बेलामा संवेदनशील अंगमा छुने गर्नुहुन्थ्यो’
सुनिताका दुई वटा बहिनी र एउटा भाइ छन् । उनी घरकी जेठी छोरी हुन् । अरु बहिनी सानै भएकाले उनीहरुलाई केही गरेको थाहा नपाएको बताउँछिन् । सुरुवातमा डरले गर्दा यो समस्या उनी कसैलाई भन्न सकिनन् । ‘त्यतिबेला १४ वर्षकी थिएँ विवाह गरेर जाउँ भने पनि उमेर पुगेको थिएन, अन्त जाने ठाउँ थिएन, कहिलेकाँही दिक्क भएर मामाघरमा बस्न जान्थे’ सुनिताले भनिन्,‘कर्णाली नदीमा गएर हाम फालेर मर्न सजिलो भनेर हिडे फेरि केही गर्छु भनेर बाटैबाट फर्केर आएँ ।’
सुनिता घर छोडेपछि केही समयसम्म दैलेखकै एक होटलमा भाँडा धोएर बसिन् । उनी त्यहाँ रहँदा उनका साथीहरुमार्फत संघसंस्थासँग जोडिदिए । त्यसपछि उनी संस्थाहरुले नै बसाल्यो र उनको न्यायको लडाई लड्न पनि सजिलो भयो । संघ संस्थाहरुले पनि जाहेरी दिने र मुद्दा लड्न उनलाई सजिलो बनाइदिए । अधिवत्ता गीता कोइरालाले पनि मुद्दा लड्नका लागि सहयोग गरिन् । जिल्ला अदालत दैलेखले सुनिताकै पक्षमा फैसला सुनायो । सुनिताको बुवालाई ३५ वर्ष कैद सजाए सुनायो ।
अहिले उनी अधिवक्ता कोइरालाले सबै सहयोगीसँग खाना र कपडा जुटाएर वीरेन्द्रनगरमा राखेकी छन् ।
बुवालाई कारवाहीको फैसला भएपछि गाउँमा रहेका सुनिताका आमा र भाइबहिनीलाई गाउँमा बसिसक्नु छैन । गाउँले तथा आफन्तहरुले उनीहरुलाई अनेक लान्छना लगाएपछि उनीहरु पनि गाउँ छोड्ने तरखरमा रहेको सुनिताले बताइन् । ‘अब आमा र भाइबहिनीलाई पनि यतै(सुर्खेत) बोलाउँछु र कतै काम पाइन्छ की खोजेर यतै व्यवस्था गर्नुपर्ला’ सुनिताले भनिन्, ‘गाउँमा त्यसरी बस्नुभन्दा यता केही काम गरेर बस्दा तनाव कम होला, जथाभावी आरोप सुनिरहन त नपर्ला ।’
सुनिता पनि १२ कक्षाको परीक्षाको तयारीमा छन् । तर, उनका आफन्तबाट फोनबाट आउने धम्कीले हैरानीमा छन् । ‘किताब हेर्छु र पढ्न थाल्यो फोन आइहाल्छ बुवातिरका आफन्तबाट जे पायो त्यही भन्छन्, राम्रोसँग पढ्नै पाएको छैन’ उनले भनिन्, ‘यो परीक्षा राम्रोसँग दिन पाए अगाडि बढ्थे होला सोच्छु तर, डिस्टर्व भइरहन्छ।’
उनको अब कानुन पढेर आफूजस्तै अन्यायमा रहेकालाई न्याय दिने सोच छ । ‘पढाइभन्दा ठूलो केही रहेनछ त्यसैले राम्रोसँग पढेर हामीलाई आरोप लगाउने आफन्तहरुको अगाडि केही बनेर देखाइदिन्छु’ उनी भन्छिन्, ‘मैले पढेर जागिर गरे भने त आमा र भाइबहिनीलाई पनि राम्रोसँग हेर्न सक्छु ।’
अधिवक्ता गीता कोइरालाले बलात्कारका पीडतलाई न्याय पाउन कठिन रहेको बताइन् । ‘प्राय बलात्कार भयो भनेर खुल्न चाहँदैनन र खुलिहाले पनि न्याय पाउन सजिलो छैन’ उनी भन्छिन्, ‘हाम्रो समाजमा पीडित अझै पीडा सहेरै बस्नुपरेको अवस्था रहेको छ ।’ उनले न्ययको लागि पीडा लुकाएर बस्न नहुने बताउँछिन् । ‘पीडा लुकाएर बस्यो भने पीडक अझैँ बलिया हुन्छन् र अन्य पीडितले पनि न्याय पाउन मुस्किल बन्छ ’ कोइराला भन्छिन्, ‘घटना बाहिर ल्याउनै पर्छ र यसमा समाजले पनि साथ दिन जरुरी हुन्छ ।’ इकागजबाट साभार
फेसबुक प्रतिक्रियाहरु