होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • स्क्रिनको असर आँखामा : निदानका केही उपाय
स्वास्थ्य-जीवनशैली

स्क्रिनको असर आँखामा : निदानका केही उपाय

  • नागरिक रैबार
स्क्रिनको असर आँखामा : निदानका केही उपाय

आजकल प्रविधिको युगमा कोही पनि यसबाट पर बस्न सक्दैन । चाहे ती बालबालिका होऊन् वा युवा अथवा वृद्धवृद्धा । एक किसिमले भन्नु पर्दा प्रविधि विना जीवन असम्भव नै छ । मैले ओपीडीमा सामना गर्ने प्रश्नहरूमा पहिलो नम्बरमा आउने गर्छ- ‘विद्युतीय उपकरणहरू (मोबाइल, ल्यापटप, ट्याब लगायत) का स्क्रिनको अत्यधिक प्रयोगले बालबालिकाका आँखामा के कस्ता असर पर्छन् र यसलाई रोकथाम गर्ने उपाय के-के हुन् ?’

कम्प्युटर भिजन सिन्ड्रोम

हाम्रो आँखाले प्राकृतिक रूपमा आँखा झिमझिम गर्ने प्रक्रियामा लामो समयसम्म एकनासले विद्युतीय उपकरणहरू (मोबाइल, ल्यापटप, ट्याब) हेर्दा ह्रास आउँछ । त्यसले गर्दा आँखामा थकान हुने, आँखा सुक्खा हुने, एउटा चीज/वस्तुलाई हेर्दा दुई वटा देखिने, टाउको दुख्ने, रिंगटा लाग्ने हुन्छ । यसलाई हामीले कम्प्युटर भिजन सिन्ड्रोम भन्छौं ।

विज्ञापन

आँखाको मांशपेसीको लचकता तथा दृष्टिमा ह्रास आउनु

अत्यधिक विद्युतीय उपकरण (मोबाइल, ल्यापटप, ट्याब) को प्रयोगले बच्चाहरूको दूरदृष्टिमा समस्या हुन सक्छ । हाम्रो आँखाले नजिक हेर्दा कालो नानी भित्रतिर जाने र टाढा हेर्दा यो सामान्य सीधा अवस्थामा आउनुपर्छ । अत्यधिक स्क्रिन हेर्दा कालो नानी टाढा जाने प्रक्रियामा ढिला हुन जाने र डेढोपना समेत देखिन सक्छ । यो समस्या छोटो अवधिको हुन्छ र स्क्रिन समय कम गर्दा फेरि सामान्य अवस्थामा आउन सक्छ ।

टाढा नदेख्ने समस्या

अत्यधिक विद्युतीय उपकरण (मोबाइल, ल्यापटप, ट्याब) को प्रयोगले बच्चाहरूमा टाढा नदेख्ने समस्या पनि हुने सर्वेक्षणले देखाएको छ । कोरोना महामारीको बेलामा झण्डै एक डेढ वर्ष अनलाइन कक्षा हुनु र यस्ता खालका बालबालिकाको अत्यधिक चाप आँखा अस्पतालहरूमा हुनुले पनि यस कुराको थप पुष्टि गर्छ । त्यसैले बच्चाहरूलाई घरबाट बाहिर निस्केर खेल्ने खेलहरूमा प्रोत्साहित गर्ने अभिभावकहरूको जिम्मेवारी हुन्छ ।

अब हामीले बालबालिकालाई यस्ता समस्याबाट कसरी जोगाउने त ?

कम्प्युटर त आजको दुनियाँमा अपरिहार्य वस्तु नै बनिसकेको छ । सम्पूर्ण शिक्षा प्रणाली नै कम्प्युटराइज्ड भइराखेको अवस्थामा यसमा रोक लगाएर हामीले हाम्रो बालबालिकाको व्यक्तित्व विकासमा रोक त लगाइराखेका छैनौं ? अब स्क्रिनलाई सावधानीपूर्ण कसरी प्रयोग गर्न सकिन्छ त्यसको बारेमा चर्चा गरौं ।

नियम : २०-२०-२०-२

विद्युतीय उपकरण प्रयोगकर्ताहरूले प्रत्येक २० मिनेट स्क्रिन हेरिसकेपछि २० फिट परको वस्तु २० सेकेण्डसम्म हेर्ने र दुई पटक आँखा झिमझिम गर्नुपर्छ । यसलाई २०-२०-२०-२ नियम भनिन्छ । यो नियम ठूलो मान्छेमा पनि लागू हुन्छ । यसो गर्नाले आँखालाई सामान्य अवस्थामा आउन मद्दत गर्छ । बालबालिकालाई दिनको दुई घण्टा बाहिर खेल्न प्रोत्साहन गर्नुपर्छ ।

स्क्रिनको आकार र दूरी

जति सानो विद्युतीय उपकरण (मोबाइल, ट्याब्लेट, ल्यापटप) को स्क्रिन भयो त्यति नै यसमा आँखा केन्द्रित गर्न गाह्रो हुन्छ । बालबालिकालाई मोबाइल, ट्याब्लेटभन्दा ल्यापटप, कम्प्युटरमा काम गर्न दिनुपर्छ । कति दूरीमा स्क्रिन राख्ने ? यसमा पनि १-२-१० नियम प्रयोग हुन्छ । जस्तै :

मोबाइल, ट्याब्लेट १ फुटभन्दा टाढा राख्ने ।

ल्यापटप, कम्प्युटर २ फुटभन्दा टाढा राख्ने ।

टेलिभिजन – १० फुटभन्दा टाढा राख्ने ।

यस बाहेक स्क्रिनको उज्याला/चमक कम गर्ने र ब्लु फिल्टर प्रयोग गर्न पनि सकिन्छ ।

कति समयसम्म बालबालिकालाई स्क्रिन हेर्न दिने ?

अमेरिकन एकेडेमी अफ पिडियाट्रिक अप्थाल्मोलोजीले दिएको सुझाव अनुसार-

१. १८ महिना भन्दा मुनिका बालबालिकालाई नदिने ।

२. १८ महिनादेखि माथि र दुई वर्ष मुनिका बालबालिकालाई आफ्ना अभिभावक र आफन्तजनसँग भिडियो गफ गर्न सकिनेछ ।

३. दुई वर्षदेखि माथि र पाँच वर्षसम्मका बालबालिकालाई अभिभावकहरूले एक घण्टा भन्दा बढी मोबाइल, ट्याब्लेट प्रयोग गर्न नदिने ।

४. पाँच वर्षभन्दा माथिका उमेर समूहकाले स्कुलको काम बाहेक दुई घण्टा भन्दा बढी मोबाइल, ट्याब्लेट, ल्यापटप प्रयोग नगर्ने ।

सीडीसीले दिएको सुझाव अनुसार

८ वर्षदेखि १० वर्षसम्म – ६ घण्टा/प्रति दिन
११ वर्षदेखि १४ वर्षसम्म- ९ घण्टा/प्रति दिन
१५ वर्षदेखि १८ वर्षसम्म- साढे ७ घण्टा/प्रति दिन

अभिभावकको दायित्व

१. प्रत्येक बच्चाको स्कुल जाने उमेरमा अनिवार्य रूपमा आँखा जाँच गर्ने ।

२. अत्यधिक स्क्रिन प्रयोगले माथि भने जस्तै समस्या हुने हुनाले आफ्ना बालबालिकालाई घरबाट बाहिर खेल्ने खेलहरूमा प्रोत्साहन गर्ने ।

३. गृहकार्य गराउँदा अभिभावकहरू आफैं मोबाइल फोनमा व्यस्त नहुने ।

४. धेरैभन्दा धेरै समय आफ्ना बालबालिकासँग बिताउने, ताकि उनीहरूलाई विद्युतीय उपकरण -मोबाइल, ट्याब्लेट, ल्यापटप) स्क्रिनको जरुरत कम परोस् ।

(बाल नेत्र विशेषज्ञ भण्डारी हाल गेटा आँखा अस्पताल, कैलालीमा कार्यरत छिन् ।)

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै