काठमाडौँ — रुसले युक्रेनमाथि आक्रमण गरेपछि ज्यान जोगाउन राजधानी किभ छाडेका सयौं नेपाली बाटामा भोकै पर्न थालेका छन् । सवारीसाधन नपाएपछि उनीहरू विभिन्न समूहमा पैदलै युक्रेनका छिमेकी मुलुक पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमातर्फ लागिरहेका छन् ।
रुसले सैन्य आक्रमण तीव्र बनाएपछि ज्यान जोगाउन युक्रेनबाट पैदल छिमेकी मुलुक स्लोभाकिया प्रवेश गर्दै महिला र बालबालिका । रुसी आक्रमण सुरु भएको तीन दिनमा करिब सवा लाखले युक्रेन छाडिसकेका छन् ।
सम्पर्कमा आएका नेपालीका अनुसार त्यसरी हिँड्नेमध्ये केही पोल्यान्ड, स्लोभाकिया र हंगेरीको सीमाबाट नजिकैको सहर लभिभ आसपास पुगेका छन् । केही भने राजधानी किभमै भौंतारिइरहेका छन् । किभ छाड्ने नेपालीमध्ये धेरैजसो ५ सय ५२ किलोमिटर टाढा लभिभ ताकेर हिँडिरहेका छन् । लभिभबाट धेरैजसो पोल्यान्डको सीमातर्फ लागेका छन् ।
शुक्रबार बिहान ६ बजे किभ छाडेकी मकवानपुरकी ठूलीमाया लामाले बाटामा भोकभोकै स्लोभाकियाको सीमातर्फ गइरहेको सुनाइन् । ‘हिजो आधी बाटो गाडीमा आयौं, त्यसपछि जाम भएर अगाडि बढ्न सकिएन, एउटा बस स्टेसनमा आराम गर्यौं,’ लामाले शनिबार मध्याह्न फोनमा भनिन्, ‘शुक्रबार राति १ बजेदेखि हिँडिरहेका छौं । पाँच घण्टामा २७ किलोमिटर हिँड्यौं । खुट्टा एकदमै दुखिरहेको छ । आफ्नो लगेज घिसार्दै हिँड्न गाह्रो भइरहेको छ । कति हिँड्नुपर्ने हो, थाहा छैन ।’
लामा साढे दुई महिनाअघि युक्रेन पुगेकी हुन् । उनको टोलीमा सात जना छन् । बाटामा अरूले दिएको कफीको भरमा हिँडिरहेको उनले बताइन् । ‘बिहान १४ किलोमिटर हिँडेपछि कफी र पानी बाँडिरहेको ठाउँमा पुग्यौं । त्यहाँ एक गिलास कफी पिउन पायौं, त्यसपछि केही खाएकी छैन,’ उनले भनिन्, ‘आफ्नो ज्यान बचाएर भाग्न धेरै कठिन हुँदो रहेछ ।’
दैलेखका मानबहादुर रावतले भने १८ सय किलोमिटर दूरी पार गरेर लभिभ पुगेको बताए । उनको टोलीमा २४ जना नेपाली छन् । त्यसमध्ये ८ जना महिला छन् । ‘पोल्यान्डको बोर्डरसम्म पुग्न हामीले २२ सय किलोमिटर पार गर्नुपर्छ । कतै ट्याक्सी चढ्यौं, कतै बस । किभबाट लभिभसम्म भने ट्रेनमा आयौं, अहिले बसमा बसिरहेका छौं,’ उनले शनिबार साँझ कान्तिपुरसँग फोनमा भने, ‘भाडा एकदमै महँगो छ । अहिलेसम्म चार सय डलर सकिइसकेको छ । पोल्यान्डको बोर्डर पार गरेपछि मात्रै बाँचिन्छ भन्ने लाग्छ ।’
रावतका अनुसार उनीहरूले खाना नखाएको तीन दिन भयो । ‘हामीलाई सबैभन्दा पहिला गन्तव्य पुगौं भन्ने लागिरहेको छ, भाडालाई कति पैसा चाहिन्छ भन्ने थाहा छैन, खानेकुरा नकिनेर पैसा बचाएका छौं,’ उनले भने, ‘खानेतिर अलमलिन थाल्यो भने ट्रेन–बस छुट्छ । ट्रेनले ५ मिनेट मात्रै रोकिदिन्छ । ट्रेनभित्र छिर्नै मुस्किल पर्छ । बसले पेट्रोल पम्पमा मात्रै रोकिदिन्छ । पेट्रोल पम्पमा ओर्लिएर खाना खाने समय हुन्न ।’
रावत युक्रेन पुगेको धेरै भएको छैन । उनी ६ वर्ष कतारमा काम गरेर स्वदेश फर्किएका थिए । ‘युक्रेनमा राम्रो हुन्छ भनेर आएँ, काम सुरु गरेको तीन महिना मात्रै भएको थियो,’ उनले भने, ‘युक्रेन आउन झन्डै ८ लाख रुपैयाँ खर्च भयो । त्यसको ब्याज मात्रै तिरिरहेका छौं । यो द्वन्द्वले निकै ठूलो तनाव थपिदियो ।’
उनीसँग सम्पर्क भएकामध्ये केही नेपाली पोल्यान्डको सीमातर्फ पुगिसकेका छन् । ‘हिजो राति १२ बजेदेखि लाममा बसेका साथीहरू शनिबार साँझसम्म छिर्न दिएको छैन भनिरहेका छन्, सीमामा धेरै भीड छ रे,’ उनले भने, ‘उनीहरूको कुरा सुन्दा त सीमा पार गर्नै नपाइने हो कि भनेर चिन्ता लागिरहेको छ ।’
किभस्थित युरोपियन युनिभर्सिटीमा अध्ययनरत १८ नेपाली विद्यार्थीको अर्को समूहका १५ जना लभिभ हुँदै पोल्यान्डको सीमातर्फ हिँडिरहेको निशा कुँवरले बताइन् । ‘लभिभबाट हिँडेको चार घण्टा भयो, बाटामा हिँड्नेहरू धेरै छन्, ट्राफिक जामले सवारीसाधन चलेका छैनन्,’ उनले सुनाइन्, ‘कोठाबाट निस्किएको तीन दिन भयो । अहिलेसम्म जंक फुडबाटै जीवन धानिरहेका छौं । मौसम एकदमै चिसो छ । माइनस ६ डिग्री होला । जंगलको बाटो छ । नाम थाहा छैन । चार घण्टा हिँड्दा पनि कतै घर भेटिएको छैन । एकदमै गाह्रो भइरहेको छ ।’ उनले स्वदेश फर्काउन उचित व्यवस्था नगरेको भन्दै सरकारप्रति आक्रोश व्यक्त गरिन् । ‘सबैले बोर्डरतर्फ जा भनिरहेका छन् । बोर्डर पुग्न भनेजस्तो सजिलो छैन । त्यहाँ गएर के हुने हो, त्यो पनि थाहा छैन,’ उनले भनिन् ।
पोल्यान्डस्थित गैरआवासीय नेपाली संघका अध्यक्ष जीवन केसीले पोल्यान्ड सरकारले तीनवटा नाकाबाट प्रवेश दिइरहेको बताए । ‘लुभ्लिङ, मेडिका र कार्केभेट बोर्डरबाट छिर्न दिइएको छ, सबैभन्दा बढी नेपाली कार्केभेटतर्फ आइरहेका छन्,’ उनले भने, ‘शुक्रबार बेलुका ५ बजेदेखि नेपाली पनि बोर्डरमा आइपुगेका छन् । प्रहरीले महिलालाई प्राथमिकता दिइरहेको छ ।’
केसीले शुक्रबार र शनिबार गरी झन्डै ३० जना नेपाली पोल्यान्ड छिरिसकेको बताए । ‘कागजात देखाएपछि ९० दिनको आवासीय अनुमति दिएको छ,’ उनले भने, ‘कसैको बस्ने ठाउँ छ, आफन्त छन् भने जुनसुकै सहरमा पनि जान दिने नीति सरकारले लिएको छ । कोही छैन भने सरकारले दिएको क्याम्पमा बस्नुपर्छ । पासपोर्टलगायतका ट्राभल डकुमेन्ट सुरक्षित राख्नुपर्छ । आधिकारिक कागजात नहुँदा भने समस्या पर्न सक्छ ।’
स्लोभाकियामा बस्दै आएका जयप्रकाश श्रेष्ठले स्लोभाकियाको सीमामा आइपुगेकालाई अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) र रेडक्रसले उद्धार गरिरहेको बताए । ‘तीन जनाले स्लोभाकियामा प्रवेश पाइसकेका छन्, जसमा दुई जना विद्यार्थी छन्,’ जर्मनीस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेका श्रेष्ठले कान्तिपुरसँग भने, ‘४, ७ र १५ जनाको समूह सीमातर्फ आइरहेको जानकारी पाएका छौं ।’ युक्रेनको अर्को छिमेकी मुलुक हंगेरीमा काम गर्दै आएका सुरेन्द्र श्रेष्ठले दुई जना नेपाली हंगेरीतर्फ अघि बढिरहेको जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु