दार्चुला — दार्चुला सदरमुकाम खलंगा बजार र सीमावर्ती भारतको धारचुला बजारमा भारी बोक्ने अधिकांश ग्रामीण भेगका महिला कामदार भेटिन्छन् । घरको कमजोर आर्थिक अवस्था भएका महिलाहरू नेपाल र भारत वारिपारि भारी ओसारेरै घरखर्च चलाउँदै आएका छन् ।
सामान्य खेतीपातीबाहेक वैकल्पिक रोजगारी नभएपछि उनीहरू भारी बोकेर घरखर्चसँगै बालबालिकाको पढाइ खर्चसमेत धानिरहेका छन् । गाउॅका पाखोबारीबाट वर्षभरिलाई खान नपुग्ने भएपछि सदरमुकाम आसपासका विपन्न परिवारका महिला सदरमुकाम र पारि धार्चुलासम्म पुगेर भारी बोक्ने काम गरिहेको दुहु गाउँपालिका–२ की भुरी लुहारले बताइन् । ‘पारिबाट वारि र खलंगाको बसपार्कबाट नजिकको गन्तव्यमा भारी पुर्याएर दैनिक ५ सयदेखि १२ सय रुपैयाँसम्म दैनिक कमाइ हुन्छ,’ भुरीले भनिन्, ‘भारी बोकेरै बुढेसकाल लाग्यो, कमाएको जति घरखर्चमै ठिक्क हुन्छ अरु प्रगति गर्न सकिएन ।’
कमाइले घर खर्चदेखि छोराछोरीको पढाइलगायत अन्य खर्च धान्दै आएको महाकाली नगरपालिका–१ कि पार्वती कुँवरले बताइन् । उनका अनुसार कमजोर आर्थिक अवस्था भएका महिलाहरूले हरेक दिन भारी बोकेर मासिक २० देखि २५ हजारसम्म कमाउने गरेका छन् । उनले भनिन्, ‘घरमा दुई छोरा र एक छोरी छन् । उनीहरूको पढाइ खर्च पनि भारी बोकेरै धानिरहेकी छु ।’ जिल्ला बाहिरबाट सदरमुकाम खलंगा र नजिकका गाउँतिर जान आउने यात्रुहरू केही न केही सामान झिटिगुन्टासहित आएका हुन्छन् ।
बसपार्कमा तराईबाट बिहान पुग्ने बसबाट जब यात्रु ओर्लन थाल्छन्, भारी बोक्ने महिलाका रोजगारीको दैनिकी सुरु हुन्छ । उनीहरू भारीको आकारअनुसार मोलतोल गर्न थाल्छन र हतार–हतारमा ग्राहकको गन्तव्यसम्म पुर्याउछन । उनीहरूको यो क्रम दिनभरि बसपार्कमा यात्रुको सामान बोक्नमै बित्छ । प्रायः बिहान ८ बजेदेखि नै बसपार्क क्षेत्रमा भारी खोज्न पुग्छन । खलंगामा काम कम भएमा उनीहरू पारि धार्चुला पुग्ने गर्छन् । ‘घरको कुनै पुरुष कुनै सदस्य भारत वा नेपालमा रोजगारीमा नभएको परिवारलाई घर खर्च चलाउन धेरै अप्ठ्यारो छ,’ शैल्यशिखर नगरपालिका–७ की जानकी बोहराले भनिन्, ‘घरमा खेत भएपनि उत्पादन राम्रो हुँदैन । खानलाई जेनतेन पुगे पनि अन्य खर्चको जोहो गर्न काम खोज्नुपर्ने हुन्छ ।’ घर हेर्ने भए भारत तथा कामका लागि सदरमुकाम खलंगा जानुपर्ने जानकीले बताइन् । परिवार संख्या ठूलो भए एक्लैको आम्दानीबाट घर खर्च र बच्चाहरूको पढाइ खर्च धान्न नसकिने हुँदा पछिल्लो समय महिलाहरू पनि भारी बोक्न बाध्य भएको उनको भनाइ छ ।
घर नजिक जंगल भएका महिलाहरू पनि गाउँमै बसेर घरखर्चको जोहो गर्न दाउरा बोकेर सदरमुकाम जाने गर्छन् । महिलाहरू खलंगा र भारतीय सीमावर्ती बजार धारचुलामा दैनिक उपभोग्य, निर्माण सामग्री, बटुवाको भारिलगायत सामान बोकेको भेटिन्छन् । काम अनुसारको ज्याला नपाउने उनीहरूको गुनासो रहेको छ । कान्तिपुरबाट साभार
फेसबुक प्रतिक्रियाहरु