होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • उद्घाटनको पर्खाइमा झोलुंगे पुलमा ताला
प्रदेश ७

उद्घाटनको पर्खाइमा झोलुंगे पुलमा ताला

  • नागरिक रैबार
उद्घाटनको पर्खाइमा झोलुंगे पुलमा ताला

सुन्सेरा, दार्चुला — जोखिमपूर्ण यात्राले सबैभन्दा बढी चर्चामा आउने महाकालीका तुइन विस्थापन गर्न सरकारले बनाएका दुई झोलुंगे पुल उद्घाटनको पर्खाइमा छन् । हस्तान्तरण हुन बाँकी भन्दै दुवैमा ताला लगाइएकाले सर्वसाधारणको कष्ट उस्तै छ ।

परम्परागत रूपमा प्रयोग हुँदै आएका तुइन पनि भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले शनिबार हटाएपछि व्यास गाउँपालिकाका बासिन्दाले थप सास्ती खेप्नुपरेको छ ।

सरकारले व्यास–६, बडूगाउँस्थित महाकाली नदीमाथि गत वर्ष फागुनमै झोलुंगे पुल बनाइसकेको हो । उक्त पुल सञ्चालन हुन सके १ घण्टामै सदरमुकाम टेक्न सकिने स्थानीय महेश बडू बताउँछन् । व्यास–४ मल्घट्टेमा भने नेपाल–भारत जोड्ने झोलुंगे पुल माघ तेस्रो साता बनिसकेको हो । उक्त पुलको मुन्तिर तुइन थियो । ‘एसएसबीले त्यो पनि हटायो,’ स्थानीय हरकसिंह विष्टले सुनाए, ‘अब त खलंगा पनि ८ घण्टामा मात्रै पुगिन्छ । झोलुंगे पुल खुलाइदिए हुन्थ्यो ।’

विज्ञापन

पहिलेदेखि नै बनिसकेका पुल खोल्न स्थानीय बासिन्दाले आग्रह गर्दै आएका छन् । व्यास गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई समेत पटक–पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको उनीहरूको भनाइ छ ।

महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्ने भनेर स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गतको सस्पेन्सन ब्रिज डिभिजनले दार्चुलाका चार ठाउँमा झोलुंगे पुल निर्माणको ठेक्का लगाएको हो । एउटा प्याकेजमा मालिकार्जुनको बाकु पुल र बडूगाउँ पुल तथा अर्को प्याकेजमा व्यास–२ मा भारतको गस्कु र नेपालको माल जोड्ने पुल तथा मल्घट्टे पुल छन् ।

मल्घट्टे र मालमा २ करोड ७३ लाख रुपैयाँमा झोलुंगे पुल निर्माण गर्ने ठेक्का खम्पाचे रुविना जेभी काठमाडौंले लिएको छ । बाकु र बडूगाउँमा मालिका निर्माण सेवा कञ्चनपुरले झोलुंगे पुल निर्माणको ठेक्का लिएको हो । मालिकाले २ करोड ५५ लाख ६४ हजार रुपैयाँमा दुवै पुल बनाउने सम्झौता गरेको थियो । दुइटा प्याकेजमा हुनाले बनिसकेका पुल सञ्चालनमा ल्याउन अप्ठ्यारो भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘दुइटै प्याकेजमा एक/एक पुल बनिसकेका छन्, एक/एक पुल निर्माणाधीन छन्,’ उनले भने, ‘बनिसकेका पुल सञ्चालनमा ल्याउन कुरा गरिरहेका छौं ।’

सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरका सूचना अधिकारी गौरीकुमार श्रेष्ठले पुल तत्काल सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताए ।

‘सार्वजनिक प्रयोगकै लागि पुल बनाइएको हो,’ उनले भने, ‘बनिसकेपछि निर्माण कम्पनीले सस्पेन्सन ब्रिज कार्यालयलाई र ब्रिज कार्यालयले स्थानीय तहलाई हस्तान्तरण गर्नुपर्ने प्रावधान छ । दुइटै प्याकेजका एक–एकवटा पुल बनिसक्न बाँकी छ । अन्तिम प्राविधिक प्रतिवेदन नबनाई सञ्चालन गर्न सकिँदैन ।’ केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७२ मा दुई वर्षभित्र देशलाई तुइनमुक्त गराउने घोषणा गरेको थियो ।

विस्थापन कार्यक्रमका लागि ११ ठाउँमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिए पनि भारतीय पक्षबाट चार ठाउँमा मात्र अनुमति प्राप्त भएको थियो । यी चार ठाउँमा पुलसँगै नेपाल र भारतका सुरक्षाकर्मी बस्ने घर र चेकपोस्ट निर्माण गर्न पनि भनिएको छ । बडूगाउँमा आवश्यक सबै संरचना निर्माण भइसकेका छन् । बाकुमा निर्माण अन्तिम चरणमा छ ।

एसएसबीले महाकालीमाथिका आधा दर्जन तुइन गत शनिबार हटाएपछि व्यासवासीको भारतीय भूमिसँग सम्पर्क टुटेको छ । ‘अब त कोही बिरामी परे अस्पताल नपुर्‍याउँदै ज्यान जाने अवस्था आयो,’ स्थानीय दरपानसिंह धामीले भने ।

व्यासवासीले तुइनबाट महाकाली तरेर भारतीय बजारमा किनमेल गर्ने र छोटो बाटो हुनाले उतैबाट जिल्ला सदरमुकाम खलंगा आउने गर्थे । बनेको पुल नचल्दा र तुइन पनि हटाइँदा खलंगा जान घुमाउरो बाटो प्रयोग गर्नु परिरहेको छ । सबैभन्दा टाढा व्यास–२, दुम्लिङका बासिन्दालाई त खलंगा पुग्न करिब १४ घण्टा लाग्छ ।

भारतले महाकालीमा फेरि तुइन सञ्चालन गर्न दिन्छ कि दिँदैन भन्ने टुंगो छैन । व्यास–२ मालमा गत साउनमा तुइन तरिरहेका बेला एसएसबीका सुरक्षाकर्मीले लट्ठा फुस्काइदिँदा जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएका थिए । उक्त घटनाले नेपाल–भारत सम्बन्धमा चिसोपन बढाएको थियो । कान्तिपुरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार